कुकुर, स्याल, बिरालो कालो खरायो करायो
दिउँसै झ्याल फोरियो, रातो जरायो हरायो ।
जङ्गलदेखि मङ्गलसम्म के गरी हरायो ?
सरकारदेखि बुद्धि र शुद्धि झन् धेरै हरायो ।

कानुन पनि डरायो भन्छन् नियम डरायो
भन्दछन् कोही कुकर्म गरी बेचैनी हरायो ।
गति र मति हुँदैछ खती, नीति झन् हरायो
नैतिक शिक्षा, दीक्षाको पनि उन्नति हरायो ।

शिक्षाको दीप, श्रमको सीप भेटिन्न हरायो
परीक्षा दिने चिटको मुठो देखिन्न हरायो ।
निरीक्षण गर्ने, परीक्षण गर्ने पोको नै हरायो
भोजमा खाने, घरमा लाने बोको नै हरायो ।

नेताको कालो धोती र टोपी विवेक हरायो
सेताको सेतो, कालाको कालो अनेक हरायो ।
गरायो कल्ले ? कोही छैन डल्ले गजब गरायो
पार्टीको पनि झण्डा र नाम तमाम हरायो ।

भूकम्प पीडित जनको कता राहत हरायो ?
पाएर धोका, डोकाका डोका आहत करायो ।
बोकेर भारी भरिया भन्छन् फरिया हरायो
चम्चाका गिरी भन्दछन् फेरि गरीबी हरायो ।

भन्दछन् कवि छन्दको मेरो कविता हरायो
ब्यङ्ग्यमा लेख्ने कविको बल रमिता हरायो ।
हरायो आज सत्कर्म गर्ने शक्ति नै हरायो
धर्म र सर्म हराएपछि भक्ति नै हरायो ।

      – ९८४१४९१०८१ (२०७५ वैशाख, १०)