काठमाडौँ । नेपाली सांगीतिक क्षेत्रमा आफ्नो अलग पहिचान खोजिरहेका स्रष्टा विनोद कोइराला नामजस्तै विनोदप्रिय छन् । उनको नयाँ लोक कमेडी गीत गत साता सार्वजनिक भएको छ । ‘ए सासू दुनामा मासु ...’ बोलको नयाँ गीत बजारमा आएको हो । 

एक दशकअघिदेखि नै गीतिलेखनमा सक्रिय रहँदै आएका कोइराला पेसाले  शिक्षण गर्छन् । फुर्सदका समयमा उनी कथा, कविता, गीत लगायतका साहित्य सिर्जनामा सक्रिय हुँदै आएका छन् । भर्खरै बजारमा आइपुगेको उपर्युक्त गीत उनको सांगीतिक क्षेत्रको पहिलो पाइलो हो, जसलाई दर्शक स्रोताले राम्रो रुचाएको देखिन्छ । 

साहित्य सिर्जनाभित्र शब्दमा पोखिँदै आएका उनले आफ्नै शब्दमा स्वर पनि  थपेका हुन् । गीतले लेक, बेँसी, पाखा, पखेरा मिलेर बनेको हाम्रो प्रकृतिको सुन्दर उपहार नेपालका ग्रामीण बिम्बहरूलाई टपक्क टिपेको छ । झट्ट सुन्दा कमेडी शैलीमा पोखिएका शब्दहरू पर्खँदै जाँदा मूर्त र सन्देशमूक लाग्न थाल्छन् । जहाँ सर्वसाधारणदेखि उच्च ओहोदामा भएका व्यक्ति समेतलाई व्यंग्यको निसाना बनाइएको छ । 

कवि रामशरण खड्काको जीवनी व्यक्तित्व र कृतित्वमा शोध गरी त्रिविविबाट नेपाली विषयमा स्नातकोत्तर गरेका स्रष्टा कोइराला धादिङ जिल्लाको मुरली भन्ज्याङमा २०३९ सालमा जन्मेका हुन् । राजधानीको कलंकीस्थित एडमार्क कलेजमा साहित्यको अध्यापकका रूपमा रहेका उनी विगत दुई दशकदेखि काठमाडौँलाई कर्मथलो बनाउँदै आफ्नो सिर्जनाकर्ममा सक्रिय रहँदै आएका छन् । 

उनैको शब्द, संगीत र स्वर रहेको उक्त गीतका एरेन्जर संगीतकार कमल गुरुङ हुन् । म्युजिक नेपालले सार्वजनिक गरेको प्रस्तुत गीतको भिडियोमा बिम्ली, ऋषि, आयुषा र नारायणको फिचरिङ रहेको छ । 

मिलन बिकले सम्पादन गरेको भिडियोलाई रक कौशलले खिचेका हुन् भने भिडियोलाई ऋषि खड्काले निर्देशन गरेका हुन् ।

–जितु खड्का