समुद्री किनारामा
एउटा माछाको पार्थिव शरीर
समुद्री छालहरूले फ्याँकिदिएछन्
सखारै
मान्छेहरूलाई सोध्दै
किन ?
उसको अकाल मृत्यू किन ?

छालहरूको
अर्थात्, समुद्रको
प्रश्नको जवाफ खोज्दै
पोष्टमार्टेम गर्न जुटेका विशेषज्ञहरूले
उसको मृत्यूको कारण
दुनियाँलाई सुनाउँदा
दुनियाँ स्तव्ध
दुनियाँ झसङ्ग
तर मान्छे ?

माछाको पेटमा भेटिएको 
प्लास्टिकको डल्लो
ग्लासका धारिला टुक्राहरू
अनि
च्यातिएको घाँटीको नसा
फुटेका रक्तनलीहरू
अक्सिजन छान्ने गिलको जालीमा
रसायन र कार्वनका अवशेषहरू
मृत्यूका कारणहरू
हो,
प्लास्टिक
ग्लासका टुक्राहरू
र, प्रदुषित पानी
माछाको मृत्यूका कारणहरू । 

पोस्टमार्टेमको रिपोर्ट सुनेर
हिमालमा यती झस्कियो
आफ्नो हिमाललाई नियाल्दै
अनि
हिमाल आरोहीहरूले फ्याँकेर थुप्रिएका
प्लास्टिक र ग्लासको डंगुरहरू हेर्दै
गौचरणमा गाई आत्तियो
घाँसको बुझोसँगै चपाएर निलेको
प्लास्टिकको थैलो सम्झिँदै
जलचरहरू अत्तालिए
दुषित हुन थालेको आफ्नो जलाश्रय छाम्दै
खेत र बारीका पाटाहरूमा
बालीनालीका बोट बिरुवाहरू तर्सिए
रसायनले चाम्रिन थालेको माटोमा
कमजोर हुन थालेका जराहरू सुम्सुम्याउँदै
हो,
चराचर जगत झस्कियो
समुद्र, धर्ती र आकाश सबै तर्सिए
तर मान्छे ?

लाग्छ,
मान्छेको चेत अझै खुलेको छैन
उल्टै
आफ्ना अवान्छित कर्महरूले
जल, थल र वायुलाई
बिटुल्याइरहेछ निरन्तर
र,
माछाको पोस्टमार्टेम रिपोर्ट पनि
मान्छेका लागि भने
आआफ्नो स्वार्थको चासो बनेको छ
आआफ्नो कुरा बुन्ने हतासो बनेको छ
बरा ! मान्छे
आफ्नै अस्तित्वमाथिको खतराप्रति
बेखबर झैं
अनदेखा गर्दैछ अझै
ऊ
चेतनशील प्राणी अरे 
फेरि पनि
चेतनाकै खेलोफड्कोमा रमाइरहेछ
ऊ
विवेकशील प्राणी अरे
तर पनि
विवेकलाई नै नजरबन्दी बनाइरहेछ
हो, विवेकलाई नजरबन्दी बनाइरहेछ ।