जुका–किर्ना–ढाडी–उडुस–उपियाँ – मच्छडसरि 
कयौँ भ्रष्टाचारी, गलत–लतका हाकिम हरि ।
लुटे खाए क्वाप्पै, कति– चिफ मिली देश–ढुकुटी 
हरे हेर्दा हेर्दै, मुलुक त भयो हाय ? सुकुटी ।। १ ।।

बजेटै सिध्याए, बिल चिल बनाए अधमले 
डुले टाढा–टाढा, भ्रमण निहुँमा, ती खतमले ।
हरे के गर्दैछन् ? लजित नबनी धेर–सचिव 
हरे भ्रष्टाचारी ? विगत दिनका मुख्य पुलिस ।। २ ।।

अझै हाँस्छन् ! चूडामणि ! पचिसक्यो लाज र घृणा 
कता छन् खै कार्की ? खबर त हट्यो पत्रहरूमा ।
लुला, ठूला मान्छे, गलत लतमा, कोष त लुटी 
धरौटीमा छुट्छन्, घुस–रकम नै भो शिव–बुटी ।। ३ ।।

रहेनन् ठूलामा, मुलुक–ममता गौरव हरे 
भए भारण्डै यी, लुट मति लिँदै रौरव झरे 
धनै मात्रै ठूलो, मन–मगजमा, स्वार्थ भरियो ।
सधैँ लुट्ने–धुत्ने, मुलुकसित खेलाँचि गरियो ।। ४ ।।

धादिङ