साहित्य सन्ध्याको नियमित मासिक ३९८ औँ शृङ्खला साउन ४ गते शनिबार आर आर कयाम्पसको सभाकक्षमा सम्पन्न भयो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष शृङ्खलाको सञ्चालन कोषाध्यक्ष गोपाल मैनालीले गर्नुभएको थियो । गोष्ठीमा वरिष्ठ साहित्यकार एवम् चिन्तक तथा देवकोटा–लुसुन साहित्य प्रतिष्ठानका अध्यक्ष निनु चापागाईँ प्रमुख अतिथि हुनुहुन्थ्यो भने अतिथिहरूमा प्रगतिशील लेखक सङ्घका पूर्व अध्यक्ष मातृका पोखरेल, युद्धप्रसाद स्मृति प्रतिष्ठानका उपाध्यक्ष डा.फणीन्द्रराज निरौला, वरिष्ठ कविहरू कणाद महर्षि, डिल्लीराज अर्याल, रामबहादुर पहाडी, जगन्नाथ आचार्य, प्राज्ञ नर्मदेश्वरी सत्याल, कवि डा.गोविन्दप्रसाद आचार्य, प्रा.डा.खेम दाहाल, सांस्कृतिक अभियन्ता रणेन्द्र बराली, प्राज्ञ नारदमणि हार्तमछाली उपस्थित हुनुहुन्थ्यो ।

उक्त विशेष समारोहमा प्रमुख अतिथि निनु चापागाईँले ‘आधुनिक समाजले अवलम्बन गर्नुपर्ने धर्म, संस्कार र संस्कृति’ विषयमा अत्यन्त मिहिनतापूर्वक विशद चर्चा गर्नु हुँदै विषय ज्यादै व्यापक र अमूर्त छ । संस्कृति परिवर्तनशील हुन्छ, सापेक्ष हुन्छ तर शाश्वत हुँदैन । हाम्रो देशमा दसओटा धर्म मानिन्छन्, हरेक धर्मका अलग अलग संस्कृति छन्, केहीका मिले पनि अलग अलग संस्कार छन् तर सहिष्णुता छ । पाश्चात्य मुलुकमा धर्मलाई सीमित अर्थमा समेटेका छन् भने हामीकहाँ धर्मको व्यापक अर्थ लगाएर मान्ने, दायित्व, कर्तव्य आदिलाई पनि धर्म भन्ने गरिएको छ । नेतृत्वले अध्यात्मवाद र भौतिकवादको समन्वय भन्नु नै गलत रहेको छ किनभने यी बिलकुल फरक कुरा हुन् । धर्म, कला, साहित्य, दर्शन आदि सामाजिक चेतनाका रूप हुन् तर अरू रूपले यथार्थको प्रतिविम्बन गरे पनि धर्मले भ्रामक प्रतिविम्बन गर्दछ । अज्ञानता, अलौकिक शक्तिको भ्रम अनि सङ्गठित भ्रमका रूपमा धर्म प्रतिविम्बन हुने गरेको छ । बुद्ध मूर्तिपूजाका विरोधी हुन् तर उनैका मूर्ति बढी छन् अर्थात् भ्रम सिर्जना गरिएको छ । धर्म भनेको मानवताविरोधी र विज्ञानविरोधी कुरा हो, यसले मानवलाई तुच्छ ठान्दछ । धर्म निरपेक्षता भनेको पनि राज्यले कम गर्नु वा धर्म नमान्नु भनेको हो तर हाम्रो संवैधानिक प्रावधान गलत छ । त्यसैगरी संस्कार धर्मअनुसार फरक छन् । आशय गलत नभए पनि प्रयोग तथा व्यवहार अनि धर्मसँग जोडिएरका कारण संस्कारहरू पनि गलत बढी छन् । रक्त, विर्य र भ्रूणलाई शुद्ध पार्ने भनिएका संस्कार वैज्ञानिक होइनन्, कमजोरीयुक्त छन् । यद्यपि षोडष संस्कारमध्ये धेरै हराइसकेका पनि छन् र केहीले विकृति फैलाएका छन् जस्तै पास्नी, तीज आदिले आडम्बर प्रस्तुत गरिरहेका छन् भने  जनाइपूर्णिमाको संस्कारसमेत घट्दो अवस्थामा छ । व्रतबन्धले जातै माथि उठाउने भ्रम खडा गरेको छ । तात्कालिक आवश्यकताले स्थापित संस्कारमा समय क्रमानुसार रूपान्तरण हुँदै पनि जाला भन्नुभयो । 

संस्कृतिका बारेमा पनि गलत चिन्तन छ । जीवनशैली मात्र पनि संस्कृति होइन । गोर्कीले ‘मानवीकृत दोस्रो प्रकृति संस्कृति हो’ भनेका छन् । यथार्थमा संस्कृति मान्छेको मात्र हुन्छ अनि समाजमा मात्र निर्माण हुन्छ र क्रमशः विकसित हुँदै जान्छ । संस्कृतिको निर्माण पनि आवश्यकताबाट हुन्छ । खानपानका निम्ति, सुरक्षाका निम्ति, वंशवृद्धिको आवश्यकताका निम्ति; प्रेम, वात्सल्य, वैवाहिक संस्कार आदिका माध्यमबाट संस्कृति निर्माण हुन्छ । संस्कृति बौद्धिक (विचारसँग) र भौतिक (निर्माणसँग सम्बन्धित) हुन्छ । मान्छे उत्पादनको प्रक्रियामा जोडिन्छ र सम्बन्ध कायम हुन्छ । वर्गीय सम्बन्धले वा विचारले वर्गीय संस्कृति निर्माण हुन्छ । उत्पादन सम्बन्ध पनि वर्गीय र निर्वर्गीय हुन्छ त्यसैले मान्छेले बनाएको रूपान्तरणमुखी आचरण संस्कृति हुन्छ । मानिसले तात्कालिक समाजव्यवस्थामा रहेर निर्माण गरेको कुरा नै संस्कृति हो । आर्थिक समाजिक व्यवस्थाले निर्माण गरेको मानवीय व्यवहार संस्कृति हो । हामीले अहिले अवलम्बन गरेको संस्कृति पुँजीवादी र सामन्ती संस्कृतिको मिश्रणको रूपमा रहेको छ । सामन्ती संस्कृति धर्मसँग प्रतक्ष्य जोडिएको हुन्छ तर हामीले मनाउने संस्कृति धर्मबाट पृथक वा विमुख रहनुपर्दछ । भर्याङशैलीको वर्णाश्रम व्यवस्थामा रूपान्तरण आवश्यक छ । प्राचीन ग्रन्थ वेदले पनि पुनर्जन्म र अर्काे आत्माको कुरा गरेको छैन । कर्मसिद्धान्त यथास्थितिवादी छ, श्रमलाई हेला गर्ने पुँजीवादी संस्कृति भएकाले आधुनिक समाजले मानवतावादी, वैज्ञानिक (प्रामाणिक), भौतिकवादी, जनवादी र समाजवादी संस्कृति निर्माण गर्नुपर्दछ र त्यस्तो संस्कृति अन्धराष्ट्रवादी होइन देशभक्तिपूर्ण हुनुपर्दछ, शोषणमुक्त, समानतावादी र भ्रातृत्वयुक्त हुनुपर्दछ साथसाथै प्रगतिवादी हुँ भन्नेहरूले बोकेको आडम्बर तथा भ्रमसमेत त्याग्नु आवश्यक छ भन्नेसमेतको विशद चर्चा गर्नुभयो ।        
गोष्ठीमा जगन्नाथ आचार्य, भोलानाथ सुवेदी, नारदमणि हार्तमछाली, मिसन अधिकारी, डिल्लीराज अर्याल, मुकुन्द न्यौपाने, डा.गोविन्दप्रसाद आचार्य, भारद्वाज मित्र, रामबहादुर पहाडी र बालकवि वेदान्त पंज्ञानीले आआफ्ना समसामयिक कविता, गीत, गजल वाचन गर्नुभएको थियो ।   

वाचित रचनामाथि टिप्पणी गर्नुहुँदै डा.लेखप्रसाद निरौलाले आजको गोष्ठी पनि साहित्य सन्ध्याको नियमित शृङ्खला भएको र यसमा अहिलेको समयमा बहस गर्नुपर्ने महत्त्वपूर्ण विषयमा वरिष्ठ विद्वान निनु चापागाईँले विशद चर्चा गर्नुभएको; वाचित कविताले रूपान्तरण अभियान र त्यसको योगदान गर्ने अभियन्ताको सम्मान गरेका, विम्बात्मक र व्यञ्जनात्मक कविता प्रस्तुत भएका, कवितामा समसामयिक विम्बको प्रयोग गरिएको, कवितामा सूक्तिमयता आएको, गण्तन्त्रका समकालीन सन्दर्भहरू आएका, कवितावाचकले मिठासपूर्ण पार्ने प्रयत्नसमेत गरेका, सरलताभित्र गम्भीर भाव सम्प्रेषण भएको, शैलीगत नवीनतासमेत देखापरेको, कविता समाप्त भएपछि समष्टिसंवेद्य हुनुपर्छ भन्ने भावसमेत अभिव्यक्त भएकाले वाचित रचना सुन्दर रहेका छन् तर पनि केही कवितामा संरचनागत विस्तार आवश्यक रहेको देखिन्छ । समग्रमा आजको गोष्ठी उपलब्धिमूलक रहेको छ भन्ने धारणा राख्नुभयो ।  

गोष्ठीका अध्यक्ष राम विनयले स्रष्टाले निराशा लेख्नुनहुने बताउँदै अहिलेको समाजका लागि ‘धर्म, संस्कार र संस्कृति’का बारेमा कस्तो स्पष्टता आवश्यक छ ? कस्तो संस्कार र संस्कृति निर्माण आवश्यक छ ? भन्ने विषयमा बहस हुनु जरुरी ठानेर वरिष्ठ विद्वान निनु चापागाईँलाई आग्रह गर्यौँ, उहाँ आइदिनुभयो । हाम्रो निम्ता स्वीकार गरी यहाँहरू सबै आइदिनुभयो र वाचित रचनामाथि डा.लेखप्रसाद निरौलाले टिप्पणी गरिदिनुभयो । म सबैलाई हार्दिक धन्यवाद दिन्छु, आभार व्यक्त गर्दछु र अर्काे शृङ्खलामा हामी फेरि यस्तै समसामयिक विषयमा बहस गर्नेगरी आमन्त्रण गर्ने नै छौँ भन्नुहुँदै गोष्ठीको समापन गर्नुभयो । 

–रमेश पोखरेल