काला बादलहरू मडारिएर पानी पर्न थाल्दा,
सिंघिया नदी किनारका बस्तीहरूमा,
व्याप्त भएको छ भय
फेरि पोहर साउन जस्तै नदीले डुबाउने हो कि !
छातीमा चरर परेको छ चिरा
दुर्भाग्यले फेरि खर्लप निल्ने हो कि ?

यो नदीलाई हामी यति माया गर्छौं
यसैमा नुहाउँछौ रमाउँछौ
फूल अक्षता चढाउछौँ।
फेरि किन यतिको दुख दिन्छ यो नदी।

किन अतालिंदै, उचालिंदै पछारिंदै 
निमेशभर न रोकिएर 
एक्कासी विकराल हुन्छ यो नदी ।

किन हामीलाई 
चितुवा भै झम्टिन आउँछ यो नदी ।
जबकी आजीवन हामीलाई स्याहार्ने सुसार्ने
जीवन दिने यही हो नदी ।

हाम्रो प्रश्न भित्रै कतै उत्तर लुकेको छ
उत्तर हामीलाई विस्तारले थाहा पनि छ
उत्तरको कारक तत्व पनि थाहा छ ।

तर उत्तर थाहा पाएर पनि
संधै प्रश्न भै बस्ने शापित हाम्रो बानी

बानी हाम्रो बिग्रेको छ र दोष नदीलाई दिन्छौं ।
उही हाम्रो पुरानो बानी ।

विराटनगर