कलिलो वयमै शर्म छोडेर धर्म गर्ने भाउजू कहाँ पाउनु । बाहिर नराम्रा खबर आए पनि भित्रभित्र भक्तिभावमा डुब्ने डुबाउने खेल्ने खेलाउने धेरै छन् । उपकारी, परोपकारी, हितकारी लगायत गुणवान विशेषताले व्यतित भएपछि जस्तै जघन्य अपराध निष्कृष्ट कार्य र कृतध्न काम गरेपनि भक्त भक्तिनी भएपछि सजाय छुट पाउन बुट बजार्नु पर्दैन । कमाउन, रमाउन हरेक अप्ठ्यारोबाट पार पाउन मिल्ने तब पो मान्छे भकाभक धर्म कर्ममा होमिदा रहेछन् । भगवान भक्त भएपछि झन् सशक्त बनिदो रहेछ । त्यसैले कलिका भाउजूहरू भगवान भक्त भन्दै पैसाको बिटो गन्दै गर्न थालेका छन् । भक्त भएपछि द्रव्यमा अशक्त हुनु त लाजमर्दो धन्दा नै हुन्छ नि । भेषभूषा, नाम आस्तिक भएपछि निभाउने व्यवहार काम नास्तिक हुने कुरै हुँदैन । भित्रभित्रै जति धेरै कुकर्ममा रमायो उति ठूलो गर्जनका साथ आस्तिकता ओकली रहेका हुन्छन् ।

पिउदा पिउदा जिउदा पति अगति परेर गन्दे झोलमा डुब्ने अनि पत्नी चाहिँ भगवानलाई भनेर आफूलाई मनपर्ने सुवास भएको धुपबत्ती बालेर दुर्गन्ध हटाउने प्रयत्न गर्ने भ्रष्ट भगवान भक्तहरू प्रष्टरूपमा देख्नेका आँखामा छारो हाल्न गारो मान्दैनन् । यहि त हो कलिको काइदाको करामत । कलिमा नक्कलीको हालीमुहाली सर्ब व्यापक भएको छ । यस सन्दर्भमा भक्तिनी भाउजू साँझ बिहान चियाको चुस्कीसँगै देख्दै भोग्दै आएको एक अदना पात्र मात्र । यसैलाई भन्छन् जो होचो उसैका मुखमा घोचो ।

घर परिवारमा आमा पछिको विस्वासिलो भरपर्दो अभिभावक भाउजूलाई मानिन्छ । त्यसो त कतिपय आमाले नै आफ्नो तामा निमोठेर, चुँडेर हुर्याएको पनि देखिएको छ । अवगुणले ओतप्रोत, भरिभराउ भए पनि भाउजूलाई आमा पछिको मार्गदर्शक र भक्तिनी नै भन्नुपर्छ तर विडम्बना आमाको मामलामा अनगिन्ती साहित्य सिर्जना हुदा भाउजूका बारेमा खै ? आमा यस्ती तेस्ती भन्दै नाटक, गीत, कविता, कथा, निबन्ध अनेकथरी भएभरको बुद्धि खन्याएर जाने र भेटेजति साहित्य लेखिन्छ तर भाउजूको न गीत न कविता । हेलाको पनि एउटा सीमा हुन्छ नि । कतैबाट कसैको न हात न मुख, न सिर्जना कुनै माध्यमबाट पनि जस नमिल्दा भाउजू अपजसको भारी बोकेर विरक्तिन बाध्य छन् । यस्तै विछट्ट विरहको बतासले एक तमासले हानीराख्दा धेरै भाउजूहरू अकालमा अचानक घर छोड्न बाध्य हुन्छन् ।

परिवारमा भाउजू भक्तिनी र ज्ञानगुनका गुणकारी फलले लटरम्म भएपछि आश्रितका भागमा फल खस्नु स्वभाविकै हो । भरिएपछि छचल्किनु, छरिनु, छरपस्ट हुनुलाई अन्यथा मानिदैन । आमालाई बिर्साउने हित्त चित्तकारी गुणले झकिझकाउन गुण, उपगुण, महागुण र भक्तिभावमा भावविभोर भएर डुबेकी आफ्नै भक्तिनी भाउजूका यावत कृत्यको वर्णन नगरी बस्नु त मुख्र्याइ नै हो नि । एकबारको जुनिमा आफ्नै घर आँगनको चौघेराको चौपट चुरीझुरी नै स्मरण गरिदैन भने अरु स्मरण गर्छ भनेर कसरी विस्वास गर्ने ? त्यसैले कसैका करले नआँटेको नगरेको नलेखिएको भक्तिनी भाउजूको एकसरो भक्तिभावका चुरीफुरी प्रस्तु गर्नु न्यायसंगत नै ठहर्ला ।

भाउजूलाई जहिल्यै पनि भ्याइ नभ्याइ । हस्याङ फस्याङ गरेरै रात जाने । हस्याङ फस्याङ गरेरै दिन जाने । के को तानाबाना हो फुर्सद कहिल्यै हुदैन । चुलोचौको करेसाबारी होस् या कौसीबारी, फर्सीबारी होस् या लप्सीबारी, कतै नभए आफ्नै बर्षौटे लालाबाला र दाजुको लालनपालनका प्रतापले सबै चिल्लो चाप्लो, सुकिलोमुकिलो र सुकसुकाउदो पारेको छिटा बाछिटा देवर लगायत आश्रित आफन्तमा पर्ने नै भयो । यति भएर पनि थेगि नसक्नु सिहारीसाध्यै नहुने दुनिया चकित र थकित हुने भगवान भक्तिभाव भाउजूमा भकाभक प्रकट हुन थालेपछि भक्तिनी भाउजू भन्न रहर भन्दा पनि करै लाग्यो ।

भाउजू सखारै उठेर खेनी खाको खकारै नफाली ग्याँस्टिक ग्रस्त डकारसँगै राम राम, राधे कृष्ण, राधे राधे जप्न थालीहाल्दा बुद्धुराम आफूलाई पनि भक्तेभाइ बन्ने रहर भित्रैबाट हररर हौसिएर आयो । तर पनि भाउजूको भक्तिभावको म्याराथन दौडमा आफू दौडिन पौडिन नसकेकामा हारेको कुकुरले झै ङिच्च दाँत ङिच्याएर लुते धन्दामै लुटुपुटी रहेको छु ।

भाउजूले देउरानीलाई रानी झै सम्झिएर आफ्नो पारा परम्परा नलिर्कियोस, कुसंस्कार नफिर्कियोस भनेर कुर्था सुरुवाल, पाइन्ट धारण नगर्न, चेतावनीका अलावा भान्सामा भाउजूले नखाई अरुले मुख जुठो नगर्न सुझाइ हाल्ने आनीबानीले देउरानी नानीले यत्नपूर्वक प्रयत्न गर्दै नाइनास्ती नगरी शिरोपर गरेको अस्ति झै लाग्छ । तर गुरु नै गोरु बन्ने यो कलीमा भाउजू स्वयं तिनतिर च्यातिएको पाइन्ट र उद्रिएको चोली लगाएर बजार परिक्रमा गर्ने अनि अरूलाई परम्परा मासियो, खाल्डामा भासियो भनेर नैतिक शिक्षा सिकाउने ? हत्तेरिका ! भक्तिनी भाउजूको यही हो तरिका ? 

उमेर छँदा कुखुरा, बाख्रा, माछाको सक्कल लुछेर उदरस्थ गर्ने भाउज्यू दुई चारवटा दाँतले साथ दिएनन् भन्दैमा सिङ्गो ज्यानलाई साकाहारी बनाउने ध्याउन्नमा लीन तल्लीन छन् । हिंसा विरुद्ध उत्रिने भन्दै आप्mनै कोठा चोटामा भन्किएका मच्छड मार्न पनि रुचाउनु हुन्न भने जुम्रा मार्नु त झन् उद्युम अपराध ठान्नु हुन्छ । एक पटक अचानक अप्ठ्यारो आइ लागेर भाउजूका आश्रममा बास बस्न बाध्य हुँदा साना, ठूला, मझौला, उपियाँ, उडुस, मच्छडले मेरै आङ र मुखमा हाकाहाकी अधरपान गरेको देखेर दाजुले मच्छडको कन्पारामा बजाउन के लागेका थिए भाउजूले दाजुलाई नै झण्डै बजाउनु भएन । एउटाले मच्छड मार्ने भन्छ अर्काले नमार्ने भन्छ । मच्छडकै कारण दाजु भाउजूको पारपाचुके हुन्छ । कि झै भएर गाँसै नटिपी बासै बदल्न बाध्य भएँ । यो नाटक मच्छड धपाउने भन्दा पनि पाहुना धपाउनमै केन्द्रित थियो । एउटा कुटे जस्तो गर्ने अर्काे कंकला स्वरले रोएजस्तो गर्ने । हेरिराख्न पाहुनालाई अप्ठ्यारो पर्ने । बिचरा भाउजूको उद्देश्य देवर आका बेलामा मच्छडका हुल काम लाग्छ भनेर नविच्क्याई बस्ने । शयन कक्षमा जब मेरा नयन लोलाउन, टोलाउन, निदाउन खोज्छ उपियाँ उडुसले भाउजूकै पक्ष लिएर एकाएक माया र मोइ खान थाले । कष्टकर रात जति लामो भए पनि उज्यालो चाहिँ हुँदो नै रहेछ । बिहान आँखा खोलेर हेर्दा त उपिया उफ्रिनै नसक्ने, मच्छड उड्नै नसक्ने गरी भुँडी झुण्ड्याएर बसेका छन् । उडुसलाई पनि रातारात दसैँ आएछ । सबै परजीवीहरू लेकका भोटिनीका गाला जस्ता राता राता । अब कसरी फर्काउ यिनका पाता ? मच्छडलाई चड्काउँ कि भाउजूलाई ? हात हाली हाल्न पनि आफूभन्दा ठूलाको मानमर्दन होला भन्ने डर । आमा समूह उर्लिएर आउला भन्ने पिरलो । के गर्नु रिस खा आफू बुद्धि खा अर्काे ।

घरमा आउने आइलाग्ने अतिथिलाई के गर्ने के नगर्ने ? भाउजूको इशारा बुझ्ने दाजु त कलाकारै प्रतीत भयो । कुन कस्ता प्रकृतिका पाहुना ठिक कस्ता बेठिक भाउजूका चेहरा पढेर दाजुले छर्लङ्गै छुट्याइदिँदा साख्यै दाजु त अन्तर्यामी नै आभास भयो ।

मन परेका, चित्त परेका, ह्याकुलो हासेका आए भने मोही पारेर घिउ खारेर, माछा तारेर स्वदेशी स्वम् रस कि विदेशी रोजाइ रोजाइ आफू पनि मिसिएर सगुनको स्वाद लिँदै हित्त चित्त मिलेका पाहुनालाई स्वादिष्ट व्यञ्जनले मुखै वाउन नमिल्ने गरेर खसी पार्ने भाउजूको कला देखेर दाजु थला पर्नुहुन्छ । घरमा खाका, भाउजूको मनले नखाका, भाउजूको कुरो नखाने, पाहुना बनेर जाने आए भने आँखा तरेर, छिछि दुरदुर दाजु नै थुरथुर हुने गरी चियाका गिलासमा तुफान ल्याउन सक्ने भाउजू काँ पाउनु ?

सासूलाई सताउनु (पहिला पहिला सासूले सताउँथे अहिले बुहारीले) दाजुलाई अनर्गल कुरा लगाउनु, मै राम्री मै पातली भाउजू मस्त उमेरमा अर्काका छोरा छोरीलाई चिमोटेर च्याँहार च्याँहार रुवाउन खुब रुचाउँथिन् । दुई कौडीका लोभले बिचौलियाको भूमिका निभाउने हुँदा केटी काण्डले क¥यापच्याप पार्दा ज्यान जोगाउन रातारात जङ्गल भाग्दा पनि यो बुढेस कालमा भाउजूको धनुलुलो भएन । गज्जब छ धर्मको प्रभाव ।

गलाभरि सत्रथरी धजापतका र माला, निधारमा श्रीखण्डका ठाडा धर्काले गर्दा नै अर्काले झट्ट अपराधी भन्ने हिम्मत गरिहाल्दैन । चित्त नपरे भक्तिनी भाउजू भगवानलाई बालेको आरती पनि दम्पच पार्नेमा पर्नुहुन्छ । भगवान् भक्तको दिल यहाँ भन्दा कति फराकिलो हुनु ? ससुरा परम्धाम हुँदा काजकिरियामा बसेका नाङ्गा भुतुङ्गा आफ्ना खसमलाई मौजुदा कम्बल ओड्न नदिएर ठण्डीले झण्डै हुरुक्क हुँदा फुरुक्क परेर हिँड्ने भाउजूको भक्तिभाव देख्ने भोग्ने सब आजित छन् । एवम्रितले भाउजूको भक्तहरूको हाइ हाइ र बाइ बाइ गर्नेहरूको ओहोर दोहोर पोहोर सम्मै चलिरहन्थ्यो । उमेर थपिँदै गएपछि धर्म पनि बढ्दै जाँदो रहेछ । भाउजूमा धर्मको लत र तल तल दिन दुई गुना रात चौगुना बढ्दो छ । किनुवा आफ्ना आसेपासेलाई झिनुवा चामल झानेर झोल चोक्टा छानेर पुष्ट पारेपछि रुष्ट हुनेहरू सिनित्तै सिद्धिँदै जाँदा धर्म कर्मप्रतिको मनोबल अचाक्ली उर्लिएर आउँदा भाउजू कुर्लिएर नै आफ्नो महिमा गान गाउने बानी बसाल्नु भएको छ । भाउजू उपासकसँग प्रवचन शैलीमा भन्नु हुन्छ “मान्छेका अलावा सर्प, बिच्छी नचाउने, बिरामीलाई सन्च बनाउने, भगवानपछि तन्त्र मन्त्रको अधिपति आफूमात्र भएको किटान गर्नुहुन्छ । रिसराग, लोभ लालच परिस्थिति अनुसार सहने र बहने क्षमता, धर्मकर्ममा दीक्षित, भ्रष्टमति जिरो, शून्य भएका कारण आफू स्वामी महारानी भनिन लायक भएको जिकिर हर चिया चमेनाको चुस्की र हुस्कीसँग भई नै रहन्छ । सक्षात् देवी कल्याणी कालीमाता ‘अचिन्त्यरूपचरिते ! सर्वशत्रु विनाशिनि (चिन्तन गर्न नसकिने रूप चरित्र भएकी सबै शत्रु नाश गर्नेवाली देवी) का रूपमा आफूले पुनर्जन्म पाएको सिद्धिप्राप्त भएको हुनाले आफू भक्तिनी स्वामी, महारानी साक्षात देवीको दावेदार हिस्सेदार भएको जनाउ दिँदा दिँदै भक्तिनी भाउजू सारा घर धन्दा परित्याग गरेर आफ्नै दामली धर्म छोरासँग धर्मकर्ममा हुरुक्क हुने क्रम बढ्दै गयो । धर्म कर्ममा लगानी गर्ने दान दक्षिणाको जोहो गर्न जिउनी नदिए सासूका शरीरका सिउनी सबै फुस्काइ दिने चेतावनीका साथ भक्त बाबासँग बारम्बार बाबर पकाएर खान बस्न उठ्न चुठ्न थालेपछि दाजु स्वयंले भाउजूसँग आत्म समर्पण गरेका हुन् । धनको ओइरो इज्जतको पहिरो थामी नसक्नु, जानी नसक्नु आमा बिर्साउने भाउजूको ताल र हाल रुचेर नै होला दाजु भाउजूलाई सुनको पाउजु किन्न हिँड्नु भयो । आफू चाहि भाउजू जस्तै स्वास्नीको शिकार गर्न शहर पसेँ ।

शिवशक्ति मार्ग, फूलबारी–११
पोखरा, कास्की
फोन ः ९८०६६७७५९४