बिगब्रटरको बम हान्ने शैली बडो मौलिक खालको रहेको छ । यसको युद्धक विमानले पहिले त कुनै पनि स्वतन्त्र मुलुकमा हठात् बम खसाल्छ ।  त्यसपछि ‘श्वेत भवन’ मा रहेका मिस्टर प्रेसिडेन्ट त्यसलाई आरामसँग अंग्रेजी भाषामा उल्था गरेर दुनियाँलाई सुनाउने गर्छन् । यही अहिलेसम्म चलिआएको सुपरपावर बिगब्रदरको बमको सम्पूर्ण भाषाशास्त्र हो ।

मेरो अंग्रेजी भाषा पर्याप्त कमजोर रहेको छ । तथापि मैले सुपरपावर बिग्रब्रदरको बमको भाषा बुझ्न थालेंँ कि के हो ! केही दिन अघि इरानी कमाण्डर कासिम सुलेमानी बमले इराकमा मारिंँदा म पनि घाइते भएको थिएँ । यसको अर्थ मिस्टर प्रेसिडेन्टको ठाडो आदेशमा मेरो टाउकोमाथि बम खसालिएको भन्ने पनि होइन । त्यो दिन म अचानक खुट्टा चिप्लिएर र्भयाङबाट लडेको थिएँ । तर अहिलेको प्रधान सवाल मेरो एकथान घाइते टाउकोको होइन । वस्तुतस् बहुचर्चित एमसीसी (मिलिनियम च्यालेन्ज कर्पोरेसन) को हो । झन्डै यही बेला हाम्रो विदेश मन्त्री कमरेड प्रदीप ज्ञवालीले अति उत्फुल्ल मुद्रामा घोषणा गरेका थिए– ‘एमसीसीको कुनै रणनीतिक प्रयोजन रहेको छैन ।’ त्यसो भए यसमा कुनै पनि किसिमका बम आदि समावेश रहेको छैन त कमरेड ? यो बहुतै खुसीको बात भयो । तर एमसीसीसँग प्रत्यक्ष–अप्रत्यक्ष सम्बन्धित बिगब्रदरको बोलीको टोन त अर्कै रहेको छ नि ! यही सिलसिलामा उसको एम्बेसीको प्रवक्ताले के स्पष्ट गरे भने एमसीसी इन्डो–प्यासिफिक रणनीति अन्तर्गत नै हो । अब हामीले कसको भनाइलाई मान्ने ? मेरो विचारमा त आफ्नै मुलुकका विदेश मन्त्रीको कुरा मान्नु बढियो हुन्छ ।

कुनै विदेशी दूतावासका पराई मानिसको कुरा किन मान्ने ? हेर्नोस्, एक प्रकारले पुँजीवादी मुलुकका व्यक्तिसँग एक समाजवादी मुलुकका मन्त्रीको कुरा नमिल्नु बेसै हो । म त पुरै विदेशमन्त्री कमरेड ज्ञवालीको साथमा छु । तर स्वयम् एमसीसी बाहकले नै अघि बढेर एमसीसीलाई रणनीतिक अंग भनिरहेको सन्दर्भमा मनमा थोरै शंका त अवश्य उत्पन्न हुन्छ– कतै हाम्रा विदेशमन्त्री साँच्चिकै विदेशमन्त्री त होइनन् ? मेरो मतलव कुनै विदेशको नै मन्त्री भनेर नठानियोस् । वास्तवमा प्रदीप ज्ञवाली कमरेड स्वदेशकै विदेशमन्त्री हुन् । मेरो कुरामा पत्यार नलागे सम्माननीय प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओलीसँग डाइरेक्ट सोधे हुन्छ । एक छिनपछि मेरो मनमा एउटा अर्को शंका उत्पन्न हुन्छ– यो सोधाइले पनि के हुन्छ र ? हाम्रा प्रधानमन्त्री कमरेड ओली कुनै एमसीसी विरोधी त पक्कै होइनन् । उनी त खाँट्टी एमसीसीप्रेमी हुन् । त्यसकारण बेला–मौकामा निर्धक्कसँग मुलुकमा एमसीसी नल्याई छाड्दिन भनिरहेकै छन् । यसले मेरो मनमा फेरि पनि शंका उत्पन्न भएको छ– कतै हामी एमसीसीको असीम कृपाले बम आदिको रेन्जमा त आउन लागेका छैनौं ?

सुपरपावर बिगब्रदरको इतिहास भनेकै अविच्छिन्न रूपमा बमकै इतिहास हो । र आजसम्मको विश्व इतिहासमा एकमात्र यसलाई नै परमाणु बम पड्काएर जापानका लाखौंलाख नरनारी र ससाना बालकरबालिका निर्दोष ज्यान हरण गर्ने गौरव प्राप्त छ । तर भियतनामको युद्धमा भने बिगब्रदरको बम त्यति कामलाग्ने भएन । त्यस युद्धमा धेरै भियतनामीहरूले बमबाट मृत्युवरण गर्नुपरेको थियो । र अन्ततस् भियतनामी नेता कमरेड हो चि मिन्हको नेतृत्वमा भियतनामका जनताहरूले बिगब्रदरको बमबाट मर्न ठाडै इनकार गरेका थिए । त्यसैले आफ्ना सबै बम बोकेर सुपरपावर बिगब्रदर त्यहाँबाट लुरुलुरु फर्कन बाध्य भएको थियो । र हाल भियतनाममा काम नलागेका तमाम् बमलाई अन्य मुलुकमा काममा लगाइएको छ । तर उसको बम वर्षाउने टेक्निक भने केही परिवर्तित भएको देखिन्छ । हो, अफगानिस्तानको युद्धदेखि बिगब्रदरले बम सँगसँगै राहतको पकेट पनि युद्धक विमानबाट खसाउन थालेको छ । यसको परिणामस्वरुप अफगानिस्तान, सिरिया, इराक, लिबिया आदि मुलुकका जनताले पकेटमा भएको राहतको केक आदि टन्न खाएर आरामसँग बमबाट गर्ने सुविधा पाएको छ ।

अन्त्यमा,
नेपाली जनताहरू हो, अपार आनन्दको कुरो के हो भने सुपरपावरको एमसीसीबाट अग्रिम राहतस्वरुप लगभग पचपन्न अर्ब डलरको प्राप्ति हुने भएको छ । त्यसउसले सम्माननीय प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओली ब्रान्डेट ‘कम्युनिस्ट राज्य’ मा हामी बिगब्रदरको एमसीसी जनित बम–समले मृत्युन्मुख अर्थात् मर्ने नै भए पनि सित्तैमा चाहिँ पर्ने छैनौं है !

कान्तिपुर, ४ माघ ०७६