उनीहरू दुबैजना वर्किङ भिसामा विदेश गए । घर त थियो तर त्यसमा ताल्चा लगाएर गए ।

उनीहरूको भिसा होम सर्वेन्टका रूपमा लागेको थियो र संयोगले एउटै घरमा काम पाएका थिए ।
पति बुढालाई ह्विल चेयरमा डुलाउने, कुकुर डुलाउने, लन सफा गर्ने, किनमेल गर्ने र घरका ठूलाठूला सफाइका काम गर्थे भने पत्नी खाना बनाउने, कोठा सफा गर्ने, ओछ्यान मिलाउने, बुढीलाई डाइपर र लुगा फेरिदिने र नुहाइदिने इत्यादि काम गर्थिन् । समग्रमा ती वृद्ध जोडीको सम्पूर्ण जिम्मेवारी उनीहरूकै थियो । आमदानी पनि राम्रो थियो ।

घर आउँदा घर फोहर भएको र झार उम्रेको देखेर दिक्क भएका पतिचाहिँ बिहानै गाउँतिर लागे सफाइका निम्ति कामदारको खोजीमा । कतै नपाएपछि उनी भुन्भुनाउँदै भित्र पसे, “साला, यस्तो देशमा पनि के बस्नु ? एउटा लेबर पनि पाइँदैन । अब यो घरको सफाइ कसरी गर्नु ?”