ऊ बेस्सरी सकसमा पर्यो । पिसाब थैली नै फुट्ला जस्तोगरि पिसाबले च्यापिरहेको थियो । गाउँमा ऊ खुला दिशामुक्त अभियानको अभियन्ता हो । उसकै नेतृत्वमा गाऊँका थुप्रै टोलहरुलाई खुला दिशामुक्त घोषणा गराए वापत थुप्रै सङ्घ संस्थाबाट पुरस्कृत र सम्मानित भइसकेको थियो । तर यतिबेला उ नौलो सहरमा थियो, जुन सहरमा उसका परिचित कोही पनि थिएनन् ।

गुगल सर्च गरेर हेर्यो । सार्वजनिक शौचालय तीन किलोमिटर दूरीमा रहेछ । ट्याक्सी लिएर जाऊँ कि एकमनले सोंच्यो ।
नजिक कुनै होटल भए त अर्को मनले सोँच्यो ।

यताउति हेर्यो । अलिपर दुइघरको बीचमा केही खाली भाग देख्यो । उ सरासर त्यहीँ पुग्यो । साँच्चैको खोंच परेको घडेरी रहेछ त्यो ।
“यहाँ दिशा पिसाव गर्न सख्त मनाही छ” ठूला अक्षरमा लेखिएको सूचना पढ्यो ।

आखिर पिसाब गर्ने गरिएकै ठाउँ त रहेछ यो । नत्र यो सूचना किन जारी गर्नु पर्थ्याे ? उसको मनले अथ्र्यायो ।

“थुइया, लाज पचेको, नकचरो, कुकुर” शुचीकर्मकै क्रममा यस्तै थुप्रै गाली गलोज सुन्यो र पनि ऊ रोकिएन ।
घर फर्केपछि उसले आफूले पाएका सबै सम्मानपत्र र प्रशंसापत्र च्यातच्युत पार्यो ।