सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सम्मान फोबिया

Nepal Telecom ad

आज भोलि मान्छेभित्र को भन्दा को कम हुने उहिल्यैदेखिको रोग बढेर गाएको छ । यो भनेको आत्मरति हो । आत्मरति वा आत्मप्रशंसा खोज्ने रोग बढेर गएपछि मान्छेलाई त्यसले पलपलमा पिरोलो पारिरहँदो रहेछ, गाँजिरहँदो रहेछ । हुन ता यो आत्मरति, आत्मालाप, आत्मराग वा आत्मप्रशंसाको भोक आजका मनुवामा मात्र छ, उहिलेका मनुवाहरूमा थिएन भन्ने कुरा काटे पनि साँचो होइन । उहिले उहिलेका रिखिमुनि र बुढापाकामा वा देउदेउतामा पनि यो रोगको भोक खपिनसक्नु गरी हुने गरेकै हो । उनीहरू ता आजका भन्दा अझ बढी यसका भोका हुन्थे । भक्तले उपार्जन गरेको सबै थोक उनैलाई अर्पण गरेर भक्तले चाहिँ रुखका मुनि घन्ट बजाई हरिभजन गरी बस्नु भन्ने कुरा उनीहरूले मनुवालाई भनेका थिए । सेतै दारी फुलेका बुढा ब्रह्मा हुन् कि समुद्रमा सुतेको भान पार्ने विष्णु हुन् वा जतिओटी गोपिनी भएर पनि नअघाएका कृष्ण हुन् कि आफू नाङ्गै देखिए पनि अरु सबैबाट केही न केही खोजिरहने हन्तकाली बाबा शिव नै किन नहुन् आत्मरतिका स्रोत यिनै हुन् । बुढा ब्रह्माको ता कुरै छाडौं । आफ्नी छोरीमाथि आत्मरति मात्र नभई रति नै गर्ने कामुक ती बुढा जति पापी यो दुनियाँको इतिहासमा कोही छैनन् । आफूसँग भएको सबै कुरा उनीहरूलाई नै अर्पण गरेर आफू भने भोको पेटमा उनीहरूको नाम जपेर घन्ट बनाई बस्नु भन्नु जतिको चुतिया जुक्ति केही पनि हुँदैन । “तँसँग भएको सबै मेरै हो, त्यो सबै मेरा हजुरमा चढाएर मेरो गुणगान गरेर रित्ता हात लगाउँदै लँगौटी कसेर रुखका फेदमा बस्” भन्ने ती ईश्वरहरू महान् आत्मरतिका उदाहरण हुन् । यही आत्मरति आजका मान्छेमा आइरहेको छ, छाइरहेको छ, पलाइरहेको छ । उहिलेको अलकापुरीका राजा इन्द्र अर्काले उन्नति गरेको देखिसहन्नथे । अरुअरुले उनैको मात्र जयगान गर्नु पथ्र्याे । आजको सेतो घरका वा ओबामा पुरका इन्द्रहरू पनि अरुको उन्नति देखिसहन्नन् । मानौं उनीहरू जत्तिकै अरु कोही होलान्, उनीहरूको हैकमलाई चुनौती देलान् भनेर अरुलाई तर्छाइरहेका हुन्छन्— खबरदार म जतिको हुन पाउँदैनौ ! माथि माथि जाने र उन्नति गर्ने अधिकार मेरै मात्र हो । तिमीहरू मेरो भजन गरेर बस, धोती कसेर बस ।
यो अरुलाई उन्नतिको सिंढीमाथि चढ्न र अघि बढ्न नदिने चलन आजको होइन रहेछ । यिनै देवदेवीका पालादेखिको रहेछ । यो आफैं मात्र खाऊँ र लाऊँ अरुले चाहिं खरानी नै घसिरहून् रुखैका फेदमै बसिरहून् भन्ने आत्मरतिको उदय उषाकालदेखि नै भएको रहेछ । यो भनेको आत्मरति हो । यो भनेको आत्मसम्मानको फोबिया हो । यसको पुरानो उदाहरण भनेका यिनै मान्छेले बनाएका देउदेउताहरू रहेछन् । अर्को चाहिँ खरानी नै घसेर बसोस् र आफू चाहिँं त्यसैले कमाएको सिरीसम्पत्तिमा रजाइँ गरी बसूँ भन्ने ती देवदेवीहरू वास्तवमा सारै नै स्वार्थी र अल्छेमतिका उपज रहेछन् । आजका केही राष्ट्रहरू जो आफूसरहको उन्नति अरु कसैले गर्लान् र पौंठेजोरी खोज्लान् भनेर उन्नत हुनबाटै रोकिरहेका छन् यो पनि उनै कल्पित ईश्वहरूको आयातीत एकतन्त्रीय विचार हो ।
हाम्रै आदि पुर्खाहरूले बनाएको ईश्वरलाई हामीले नै पहिलो उपनिवेशवादी बनाएका रहेछौं । उनीहरूले यदाकदा हतियारतन्त्रबाट पनि औपनिवेशिक धर्म पालेका थिए भन्ने वर्णन हामीले गरेका भए तापनि बढी मात्रामा उनीहरू मतियारतन्त्रबाट आफ्नो उपनिवेशवाद दुनियाँदारीमा हालेका थिए भन्ने वर्णन गरेका रहेछौं । मतियारतन्त्रको पीठाधीशका रुपमा आफैंलाई सर्वाेच्चतम मान्ने पुराना रिखिमुनिहरू जेभाले नै थिए । आफू र आफ्नो विचारलाई नमानेको झाेंकमा अर्काेलाई भस्म खरानी नै पार्ने दुर्वासा जस्ता रिखि भनेका नै आत्मरतिका नमुना हुन् । खरानी घसेर छालाको कट्टु लगाउने लट्टाधारी बाबा बमभोलेलाई किन चाहियो राम्री न राम्री श्रीमती ? भस्मासुरले माग्यो भनेर किन भस्म पार्नु परेको ? तत्काल सृष्टि गरिदिनु नि आफ्नी जत्तिकै राम्री एक झलल बलेकी अप्सरा । आफू जस्तो भए पनि राम्रो जति सबै आफूलाई नै चाहिने कुरा भनेकै आत्मरतिको उदाहरण हो । भोले बाबालाई नपुग्दो के थियो र ससुरालीको भतेर खान जान मन लागेको ! ससुरालीबाट निम्तो नआउनासाथ ससुराको टाउको नै काटेर बोकाको टाउको लाइदिनु जस्तो फट्याइँ यो दुनियाँमा के हुन सक्छ ? अझ आफ्नी स्वास्नीलाई एकै छिनका लागि भेट्न नदिने गणेशको टाउकै काट्नु जस्तो खतरानाक कुरा अरु के हुन सक्छ र ? यो ता हाम्रा नेपालका दिव्य बार वर्ष जङ्गलमा बसेकाहरूले गिँड्ने गरेको भन्दा पनि डरलाग्दो कुराको उदारहण हो । यी उदाहरणहरूबाट हामी भन्न सक्छौं आत्मरतिको फोबिया आजको होइन रहेछ ।
मानमनितो नपुग्दा रिसले तिलमिलाउनेहरू उहिले पनि रहेछन् र आज पनि छन् । यो परम्परा आजको होइन रहेछ । आफ्नो अधीनमा बस्न नरुचाउनेहरूको लोध्रो काढ्ने काम उहिलेदेखि नै चलेको रहेछ । विरोधीहरूको दमन गरेर पाखा लगाउने होस् वा विरोधीहरूको वंश विनासै गर्ने होस् यो चलन आजको मात्र रहेनछ ।
अहिलेको नेपाल यो चलन निकै तेजिलो गतिमा चलेको छ । हाल स्वर्गीय भइसकेका मान्छेको कुरा गर्नु उति राम्रो ता होइन तैपनि कुरा स्वर्गीय भइसकेकै मान्छेबाट कोट्याऊँ । केही वर्ष पहिले नै स्वर्गीय भइसकेका एकजना जमिन्दारज्यूको कुरा हो यो । उहाँ हुनुहुुन्थ्यो । सम्मान र मानमनितोको भोक उहाँको जतिको ता बमभोले बाबामा पनि थिएन होला भन्ने मेरो ठम्याइ छ । पैसाको खोलो उर्लिएपछि उहाँलाई त्यसको कमी भएनछ कमी भएछ सम्मानको । अनि उहाँले एक ठाउँमा प्रस्ताव राख्नु भयो—“२५ लाख दिन्छु, यो क्याम्पसको नाम मेरो नाममा राखिदेऊ । सकिन्छ भने मेरो भव्य सम्मान पनि गरिदेऊ । अरु त्यति नै थापिदिन्छु मेरो सालिक पनि राखिदिने भए । कसो, के भन्छौ ? हुन्छ ? कि पैसा कम भो हँ ?” भन्दै एक सरकारी क्याम्पसमा चारो छरेर त्यसलाई किनेर त्यस क्याम्पसको नाम नै आफ्नो नाममा खरिद गर्न चाहनुहुन्थ्यो । पछि क्याम्पसका चिफले–“सरकारी क्याम्पस तपाईंका नाममा बेच्न मिल्दैन बा, तपार्ईं नै एउटा निजी कलेज खोलेर त्यसमा तपाईंको नाम र शालिक नै ठड्याउनु होस् है” भनेर उहाँलाई बिदाइ गरिदिएका थिए । यो पनि एउटा नाम र सम्मान खोज्नेहरूको उदाहरण हो । उहाँले पैसामै किन्न सकिने भए नेपाललाई नै किन्नुहुन्थ्यो होला अनि नेपाललाई आफ्नो नामको राज्य बनाउनुहुन्थ्यो होला । देशैभरि सालिक राख्नुहुन्थ्यो होला । तर मिलेन उहाँलाई । माइक्रोसप्mट कम्पनीको मालिक जत्तिको भएको भए उहाँले नेपालै हान्न पनि बेर लगाउनुहुन्नथ्यो । तर ऊ भन्दा अलिक गरिब भएर मात्र उहाँले पार्कहरू, साधारण स्कुलहरू, बाटोघाटोहरू, कलेज र चोकहरू किन्न र तिनमा आफ्नो नाम राख्ने अनि बाहिरी निर्माण भन्दा आफ्नो शालिक चाहिं भव्य राख्ने विचार गर्नुभएको थियो । यो काममा पनि उहाँले सबैतिर सफलता पाउनु भएको देखिएन । एक ठाउँमा बाटो चौडा पारिदिएको निहुँमा सालिक ठड्याउनु भएको थियो त्यही पनि शिवजीले गणेशको शिरच्छेदन गरेझैं आजका नव ताण्डवनृत्यकारहरूले शिरोच्छेदन गरेर बिताएछन् । केही दिन ता उहाँ शिरबेगरको मुडुलो देखिनुहुन्थ्यो के कुतौजी परेर हो कुन्नि त्यो पनि पो अहिले देखिन छाडेको छ ।
पछि कसले हो उहाँलाई सम्मान र नामका लागि ता साहित्यको फाँटमा लगानी गर्दा फलदायी हुने कुरा सुनाएछ । त्यसपछि उहाँको मन त्यता फिरेछ र देशैमा नभएको पुरस्कार थापेर साहित्यकारहरूलाई ललिपप बाँड्न थाल्नुभएको रहेछ । उहाँको यो जुक्ति नै उहाँलाई फलदायी भएछ– किनभने पुरस्कारको चारो छरेर साहित्यकारहरूलाई उहाँले पिन्जडामा हालेको सुगा जस्तो पार्नु भएको छ । अहिले उहाँका उत्तराधिकारीहरूले साहित्यकारहरूलाई पुरस्कारको चारो छरिरहेका छन् । केही साहित्यकारहरू पनि उठ भन्दा उठेका देखिन्छन् बस भन्दा बसेका देखिन्छन् गोपीकृष्ण बोल् भन्दा गोपी कृष्ण को… भनेका छन् । मानौ उनका उत्तराधिकारीहरूले गोपीकृष्ण बोल भन्ने डफ्फा नै तयार पारेका छन् । यो मानसम्मान खोज्ने मानफोवियाको चलन नै हो । यी मानखोज्नेहरु पनि माफियाकै शैलीमा देखिन थालेका छन् । छोराछोरी, नातिनातिना, पत्नीहरू, बुहारीहरू, नोकर चाकरहरू, सालासाली, झट्केलाहरू र आउरेबाउरे सबैलाई खानपानको बन्दोवस्त गरिदिएर पछि बाँचेको कनिका सुगालाई छरेर पिन्जडामा फर्दै गोपीकृष्ण भनाउनमा यिनीहरु अहिले माफियाको शैलीमा साहित्यकारलाई कज्याय रहेका छन् । बिचरा भोको साहित्यकार तिनीहरुको खोरिया खनिरहेका हुन्छन् । मानौं ती कुनै ठुलो जमिनदारले पालेका कमैयाहरु हुन् जो मुक्तिका लागि भन्दा पनि मालिकको भजन गरेर मालिक पुराण कथुर्नमा तँछाड् मछाड् गरिहेका हुन्छन् ।
हुनत आजभोलि चारोका रुपमा खास्टो, च्यादर, रजाई, दोलाइँ वा दोसल्लाहरू भिराएर लेखकहरूलाई बन्धक बनाई आत्मरति गर्नेहरूको पनि बहारै छ । यसो गर्न जमिनदार नै हुनु पर्ने कुरा पनि अनिवार्य रहेको छैन । अनिकालमा परेका लेखक नामका जन्तुहरू वा घरको पाङ्दुरले काम काटिरहेका र पेटकाटेर जिब्रो कोक्याइरहेका हन्तकाली लेखक रुपी सुघाहरू पनि तिनीहरुले थापेको दुवाली वा पिंजडामा पस्न र गोपीकृष्णको बोल बोलेर घुँडा धस्न तँछाड् मछाड् गरिरहेका देखिन्छन् । अब ता मैले माथि चर्चा गरेका जिमीदारबालाई मात्र सम्मानको फोबिया थियो भन्नु पनि पाप लाग्ने कुरा भएको छ । आज सीताराम, हरेराम, वंशीराम, केवडीराम, कालुराम, भालुराम, ठालुराम लगायतका देश थाम्नेहरूले नै सुगालाई कनिका छरेर पल्काइरहेका छन् । सुगाहरू पनि गोपीकृष्ण को…भनिरहेका छन् । मेरो जानकारीमा यसबारेको एउटा राम्रो उदाहरण छ ।
एउटी आमै छिन् मेरो जानकारीमा । उनी जवान छँदा विदेशका चार चौरस्ता चहारेकी हुन् । अहिले देशमा चर्चित महिला नेत्री हुन पुगेकी छिन् । ती जर्खरिएकी आमैले धेरै क्षेत्रमा चारो छरेको देखिन्छ । यसका साथै उनको लेखक पत्रकारहरूलाई चारो छर्ने त्यो प्रवृत्ति पनि कम घतलाग्दो छैन । बम्बै रिटायर्ड आमै आफूलाई क्रयविक्रय गरिसकेर आफूजस्तै बैंसालु चेलीहरू गोप्य निर्यात आयात यान्ड कम्पनीकी प्रमुखका रुपमा रहेकी छिन् । सबैलाई थाहा छ । उनी माथिल्लै तहसम्म पहुँच भएकी भएको हुँदा कसैले पनि उनलाई छुन सक्तैन । आजभोलिको महिला हकहित र संरक्षण मञ्चकी प्रमुख पनि उनै हुन् । उनलाई समाजमा मनाइने कार्यक्रममा प्रमुख अतिथिका रुपमा नबोलाउनु भनेको कार्यक्रम सञ्चालन गर्नलाई आर्थिक दानापानीको अभाव बेहोर्नु हो । उनले आफैं लगानी गरेर निकै ओटा धुसा ओढिसकेकी छिन् । उनका हातबाट निकै जनाले धुसाहरू ओढिसकेका छन् । उनका अन्तरात्मामा सम्मान फोबियाको भोेक बढेर गएको छ । आज ता उनी महिला नेतृको हकदार भएर देशका ठाउँठाउमा खास्टो ओड्न पुगिरहेकी छिन् । उनी नपुगे पनि उनका नाममा देशैभरिबाट सम्मानका लागि तयार गरेको प्रमाणपत्रहरू, खास्टो र दोसल्लाहरू आउँछन् भन्ने सुनेको छु । हो होइन, उनै जानुन् । संयोगवश उनै आमैकोमा म पनि पुगें ।
आमैका द्वारापालले ढोकामा केही बेर रोकेपछि आमैको बैठक कक्षमा पुगें । केही बेर उनका बैठककोठाको अवलोकन गर्दै थिएँ । बैठकमा आफैलाई महिला सुरक्षा आयोग, महिला अधिकार आयोग, नारी चेतना सहकारी, नारी कल्याण संस्था लगायतका संघससथाहरुबाट सम्मान र अभिनन्दका प्रमाणपत्रहरुले बैठककोठाको भित्तो सजिएको देखें । मेरा मनमा भएको शंका जुलाफ खाएको भोलिपल्ट पेट सफा भएझैं सफा भयो । आमैलाई महिला र बालबालकल्याण मन्त्रालयबाट देशकी सर्वश्रेष्ठ महिलाको सम्मान मिलेको रहेछ । आमैले देशबाट पाएको सम्मानको विवरण देखेर मलाई भित्रैदेखि कोक्याएर वाक्वाकी लाग्न खोज्दै थियो त्यसै बेला भर्खरका केही युवतीहरुलाई अघि लगाएर उनी बैठकमा फुत्त निस्किइन् अनि साथैका ती युवतीहरुलाई अराइरहेकी थिइन्–
राम्रोसँग सिँदुर पोते लगाउनू, पुलिसले सोध्यो भने किउरेट गर्न हिँडेका भन्नू । कसैले चै पारि सपिङ गर्न जाँदैछु भन्नू । कसैले लोग्ने बिरामी छन्, अस्पतालमा छन् उपचारका लागि जाँदैछु भन्नू आदि केही कुरा युवतीहरुलाई अर्जापिरहेकी थिइन् । युवतीहरुले मलाई बैठकमा बसेको देखेर केही अप्ठेरो माने झैं गरे । तिनीहरुलाई सम्झाउँदै मतिर देखाउँदै उनले भनिन्–“यी नानीदेखि किन डराएका ? यी ता हाम्रो गाना गाउने हितेकार पो हुन् त । अलिकति पत्रकार पनि गर्छन् । लौ हिंड नडराइकिन ।”
त्यसपछि मात्र युवतीहरु खुलेका देखिए । मलाई लाग्यो आजको दिन आमै युवतीहरुको थोक व्यापारमा लागेकी छिन् । फुर्सुदमा छैनन् । अनि मैले बिदा हुन खोज्दै भने–“हजुर, अहिले तपार्इंलाई फुर्सुद रहेनछ । म पछि भेटेर कुरा गरौंला । अहिलेलाई बिदा पाऊँ !”
आमैले मलाई आश्वस्त पार्दै भनिन्–“हुन्छ हुन्छ, अहिले मलाई फुर्सुद भएन, जाऊ तिमी । मैले कुरा बुझेको छु । यसो हितेसित्ते लेख्छौ क्यारे । पत्रकार पनि गर्छौ क्यारे । त्याँ हाम्रो खन्तरेले थापेको गजनीदेवी सुखमली छलीमाया पुरुस्कार छ । त्यो पुरुस्कार यस पालि तिमीलाई दिनू भनिदिउँला हुन्न ? तर हेर मेरा बारेमा मेरा खन्तरेका बारेमा राम्रो गरी खबरमा लेखिदेउला नि ! त्यसै ता कहाँ हुन्छ र ?” भन्दै उनले केही युवतीहरुलाई गाडीमा हालिन् आफू तिनको गोठालो जस्तो भएर गाडीमा चढेर बाहिर लागिन् । म पनि उनको घर दरबारबाट बाहिरिएँ ।
कुरा यति हो । अब आफैं बुझे भो मान्छेलाई सम्मानको लोभ कति रहेछ ।

भद्रपुर, झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
कुरा गरिस् कि बितिस् !

कुरा गरिस् कि बितिस्...

चूडामणि रेग्मी
मिस्टर मोमो

मिस्टर मोमो

विश्व शाक्य
किन मन्त्री हुने ?

किन मन्त्री हुने ?

मुक्तिनाथ शर्मा
भुइँमान्छे पुराण

भुइँमान्छे पुराण

हेम अधिकारी