आफ्नै सामुन्नेमा भाइको हत्या भएको ऊ आफैले देखेको हो । उसका परिवार सबैले देखेका हुन् । हत्यारा विरुद्ध किटानी जाहेरी दिएका हुन् । मुद्धा अदालतमा दर्ता भएपछि साक्षी बकेका हुन् । भाइको हत्याराले सजाय पाओस् भनेर धुप पनि हालेकै हुन् । तर मुद्धा हत्याराले जित्यो ।
मुद्धा पुनरावेदनमा चल्दै गर्दा उसले पनि वकिल राख्यो । रिन खोज्दै वकिलको फिस बुझाउँदै गयो । ठूलो माछोले सानो माछोलाई निल्यो । जिल्लाको फैसला सदर भयो । हत्याराले जित्यो ।
सर्वोच्चमा मुद्धा पुगेपछि उसको सर्वस्व हुन थाल्यो । नर्सिङहोमको उपचार शुल्क र सर्वोच्चको वकिल शुल्क उस्तै उस्तै रहेछ । पेशी स्थगित गर्दा पनि फिस तिर्यो । पेशी हलाउँदा पनि फिस तिर्यो । यस क्रममा उसले लैनु भैंसी बेच्यो । बल्लतल्ल जोडेको घडेरी बेच्यो । सर्वोच्चले पनि पुनरावेदनकै फैसला सदर गर्यो ।
न्याय र कानुन भन्ने शब्दसँग उसको विश्वास उठ्यो । हारेको जुवाडेको जस्तै अवस्था थियो उसको ।
जसको कोइ हुँदैन उसको ईश्वर सहारा हुन्छ । सानोमा आमाले भनेका कुरा उसले सम्झ्यो ।
दुनियाँको अदालतमा जस्तो बेइमानी ईश्वरको अदालतमा पक्कै हुँदैन । उभित्रको विश्वासले यस्तै भन्यो । ईश्वरको अदालतका वकिलहरू यसरी पैसामा पक्कै बिक्दैनन्, उसको आस्थाले ठहर गर्यो ।
एकदिन ऊ बिहानै उठ्यो । नुवाई धुवाई गर्यो । शुद्ध कपडा फेर्यो । धूप नैवेद्यको थाली लिएर श्रीमती सहित भगवतीको मन्दिरमा पुग्यो । मस्तक झुकाएर भगवतीको प्रार्थना गर्यो । सक्दो भेटी फूल प्रसाद अर्पण गर्यो । असत्यमाथि सत्यको जीत माग्यो । अन्यायमाथि न्यायको जीत माग्यो र हत्याराले सजाय पाएको दिन भगवतीको थानमा कालो बोको चढाउने भाकल गर्यो ।
यति भाकल गरेर मन्दिर बाहिर निस्कँदा उसले देख्यो, यौटा यामानको कालो बोको डोर्याएर उसको भाइको हत्यारा मन्दिर परिसरमा खडा छ र उसैलाई हेरेर ङिच्च हाँसिरहेछ ।