सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कृपया उतै लगियोस्

Nepal Telecom ad

गौतमबुद्ध नेपाल भूमिमा जन्मेकोमा छिमेकी भारतको चित्त एकरत्ति पनि बुझेको छैन । त्यसैले यस सम्बन्धमा बरोबर उपद्रव गरिरहन्छ । हालै एक चलनचल्तीको भारतीय टेलिभिजन च्यानल \’जीटिभी\’ले आफ्नो नवीन टेलिसिरियलमा बुद्ध भारतमा जन्मेको हो भनी निर्धक्कसँग देखायो । यो ताजा भारयीय कर्तुतले नेपाली युवाहरूलाई अत्यन्तै आक्रोशित बनाएको छ । यसको स्वाभाविक परिणामस्वरुप ठाउँ-ठाउँमा जुलुसादि भइरहेका छन् । भारतीय राजदूतावासमा कडा विरोधपत्र बुझाइएको छ । र यस्ता अन्य विरोधका कार्यक्रमहरू पनि स्वतः चलिरहेका छन् । तर यसमा म भन्छु- शान्त हुनोस्, भाइबहिनीहरू । किनभने बुद्ध परम शान्तिवादी थिए । त्यसैले बुद्ध जन्मेका देशको हामीले पनि सम्पूर्ण शान्तिकै आचरणको पालन गर्नुपर्छ । यही नीतिअनुरुप म विशिष्ट सम्बन्ध रहेको (भनिएको) भारत देशका भारतीय मित्रहरूलाई एक-दुई कुरा विलकुलै शान्तिपूर्वक कहन चाहन्छु ।
तपाईंहरूले गौतम बुद्धलाई जन्मसिद्ध भारतीय बनाउनुछ भने एउटा कार्य अनिवार्य ढंगले गर्नुपर्ने हुन्छ । मेरो भनाइको अभिप्राय के हो भने बुद्धलाई एकपटक फेरि यो धरामा जन्म लिन लगाउनोस् । अर्थात् गौतम बुद्धको पुनर्जन्म । यही एक मार्गमात्र बाँकी छ । यद्यपि बुद्ध धेरै वर्षअघि मोक्ष प्राप्त गरेर पुनर्जन्म-सुनर्जन्मको बन्धनबाट सर्वथा मुक्त भइसकेका छन् । त्यसकारण भारतका निम्ति यो उपाय पनि सरल छैन । एकदम विकराल समस्या भयो । तर योभन्दा पनि ठूलो समस्या के हो भने पुनर्जन्मको सिलसिलामा बुद्धले फेरि भारत छाडेर नेपालकै माटोमा जन्म लिए के गर्ने नि ? यो बुद्धको कुनै भरोसा छैन । पहिले पनि नेपालमा जन्मेर धोका दिइसकेकै हो । अब पनि दिँदैनन् भन्ने के ग्यारेन्टी छ ?
त्यसउसले मेरो छिमेकी भारतीय मित्रहरूसँग नम्र निवेदन के छ भने गौतम बुद्धलाई यतै नेपालमा छाड्नोस् । बरु यसको बदलामा नेपालबाट त्यस्तालाई सहज प्रकारले लैजानोस्, जसको आत्मा नै भारत जान खुबै लालायित छ । उदाहरणका लागि हाम्रा तीनदलीय ठूला नेता अथवा तीन ठूला दलका नेतालाई लिनोस् । मतलव कमरेड पुष्पकमल दाहाल प्रचण्ड, सुशील कोइराला, शेरबहादुर देउवा, कमरेड माधवकुमार नेपालहरू । सबै एकपछि अर्का गरेर दिल्ली दौड गरिरहेका छन् । कुन्नि के कारणले एकजना विचरा कमरेड झलनाथ खनाल छुटेका थिए । अब उनलाई पनि हेडक्वार्टर नयाँदिल्लीबाट सप्रेम \’मनमोहन सिंहको बुलावा\’ आएको छ । अतः बल्खुको प्रांगणबाट शीघ्र त्यसतर्फ प्रस्थान गर्नेछन् नै । मेरो हार्दिक बधाई !
(तीन दलका ठूला नेतालाई भारत लग्ने कार्यको सुचारुपूर्वक समाप्ति भइसकेपछि मधेसी मोर्चाका \’छुटभैया महन्थ ठाकुरहरू\’ त त्यसै पनि फोसामा उपलब्ध हुनेछ भन्ने अनुमान लगाउनु त्यति जटिल छैन ।)
यतिले पनि पुगेन भने यस्तै चरित्र र नियतले सुसम्पन्न केही स्वनामधन्य बुद्धिजीवीहरूलाई पनि तीनदले नेता सँगसँगै बलियोसँग नत्थी गरेर लग्न सकिन्छ । यिनीहरूलाई अविलम्ब त्यतै लगियोस् । यसै पनि यिनीहरू बराबर नयाँदिल्ली, मुम्बई, कोलकाता, चेन्नई, ब्यंगलोर, चण्डीगढ, हैदरावाद, जयपुर, वाराणसी, लखनउ, आगरा, पटना आदि गरिरहन्छन् । कहिले निजी त कहिले सार्वजनिक बहानामा । वस्तुतः यिनीहरू गोप्य निमन्त्रणामा सावधानीपूर्वक त्यता जाने गर्छन् । अब यो खुला विषय नभएकोले म बेसी के भनुँ ? यतिचाहिँ भन्छु- यता छँदा यिनीहरू पटक-पटक आआफ्ना रहस्यमयी फाइल बोकेर लैनचौरस्थित भारतीय राजदूतावासमा अथक धाइरहन्छन् । यिनीहरूलाई अत्यवधानका साथ त्यता जान दिउँ । कुनै डिस्टर्व नगरौं । किनभने यही यिनीहरूका मुख्य कार्य हो । यसदेखि बाहेक हामीकहाँ भारत नलगी नभएको अन्य प्रशस्त जीवात्माहरू मौजुद छन् । जस्तो- पेरोलमा रहेका पत्रकार, प्रोफेसर, संस्कृतविद, कवि, प्रशासक, कलाकार, व्यापारी, खेलाडी, डाक्टर, वकिल, समाजसेवी, उद्योगपति, शिक्षक, गायक, विद्यार्थी, न्यायाधीश, इन्जिनियर इत्यादि । कृपया नियीहरू सबैलाई एकमुष्ट रूपमा उतै भारतमा लगियोस् ।
नेपालमा यिनीहरूका कुनै आवश्यकता छैन । अग्रिम जयहिन्द ।
गौतम बुद्धजस्तै संसारको सबभन्दा उच्च शिखर माउन्ट एभरेष्ट पनि नेपालमा रहेकोले छिमेकी भारतको मन भयानक ढंगले दुखेको छ । \’मेरा भारत महान\’को अन्तरमनको यावत संरचना नै यस्तै रहेको छ । संवेदनाले परिपूर्ण । फलस्वरुप बेला-कुबेला दुःखिरहन्छ । के गर्न सकिन्छ ? त्यसैले समय-समयमा आफ्नो देशको नक्सामा माउन्ट एभरेष्टलाई सामेल गरिरहन्छ । यही सन्दर्भमा मलाई आफ्नो स्कुल बेलाको सम्झना भइरहेको छ । हामीलाई यस्तै नक्सा भएको भूगोल पढाइन्थ्यो । त्यसबखत पनि स्थानीय स्तरमा यसको चर्काे विरोध नभएको होइन । अहिले पनि भइनै रहेको छ । किनभने छिमेकी भारत यस्तो \’नक्सा गोलमाल\’को खेल खेलेर थाकेको छैन । त्यसैले हाम्रो विरोध पनि अनवरत प्रकारले चालु नै छ । तर अहिले आएर मलाई के लाग्न थालेको छ भने यो विरोधको कुनै खाँचो छैन । मेरो भन्नु के हो भने माउन्ट एभरेष्ट त यता शानले खडा नै छ ।
कम्तीमा भारतलाई नक्सामा त देखाउन दिनोस् । त्यो नक्साको माउन्ट एभरेष्टले छिमेकी देशको हृदय गदगद हुन्छ भने हामीलाई के फरक पर्छ ? वास्तवमा नक्सामा माउन्ट एभरेष्टलाई देखाउनु भारतको बाध्यता हो । किनभने यो नक्सामा मात्रै देखाउन सकिन्छ । साँच्चिकै बोकेर उता लैजान मुस्किल छ । यस्तो गर्न सकिएको भए अहिलेसम्म भारतले गरिसक्थ्यो । जस्तो सीमास्तम्भको मामलामा धारावाहिक रूपले गरिरहेको छ । अथवा सुस्ता र कालापानीकै कुरा गर्नाेस् । माउन्ट एभरेष्टको कुरा अर्कै हो । यसलाई जुरुक्क उचालेर सीमापारि भारतमा कसरी लैजाने ? एउटा सरल एवं सुगम बाटो भने छ । मेरो तात्पर्य के हो भने विगतमा गरिएको \’महाकाली सन्धि\’को शैलीमा \’माउन्ट एभरेष्ट सन्धि\’ गरे के हुन्छ ? यसका लागि कमरेड खड्गप्रसाद शर्मा ओलीलाई सदेह साक्षी राख्न बिर्सनु हुँदैन । उनीसँग आवश्यक- अनावश्यक परामर्श पनि गर्नुपर्ने हुन्छ । कमरेड ओली महाकाली सन्धि एक्सपर्ट हुन् ।
गौतम बुद्धले भारतमा नजन्मेर के ऐतिहासिक गल्ती गरेका हुन् ? र माउन्ट एभरेष्ट नेपालमा उपस्थित रहेकोले यो प्रकृतिको भौगोलिक भुल हो ? यस सम्बन्धमा भारतको जवाहरलाल नेहरू युनिभर्सिटीबाट डाक्टरेट गरी आएका कमरेड डा. बाबुराम भट्टराईजस्ता प्रकाण्ड विद्वानहरूलाई भारतकै सम्पूर्ण स्पोन्सरसिपमा गहन अध्ययन-अनुसन्धानका लागि सादर निमन्त्रणा गरे हुन्छ ।

डल्लु, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
ज्वाइँबाबा

ज्वाइँबाबा

विमल निभा
छेपाराख्यान

छेपाराख्यान

विमल निभा
जुत्ता

जुत्ता

विमल निभा
राष्ट्रिय सहमति

राष्ट्रिय सहमति

डा. टीकाराम पोखरेल
सतीको सराप

सतीको सराप

ह्यारी- ८०
भत्काउन सजिलो छ

भत्काउन सजिलो छ

अशोककुमार शिवा
नेपालको खेती

नेपालको खेती

चाेलेश्वर शर्मा
आँखाले नदेखे पो मुटुले सहन्छ !

आँखाले नदेखे पो मुटुले...

चिरञ्जीवी दाहाल