मलाई थाहा छ यो शीर्षक देख्नासाथ लोकसाहित्यका अध्येताहरूले झापट हान्नेछन् गालामा । म उनीहरूसित भूमिगत पो हुनुपर्ने हो कि ! किनभने मैले इकारलाई ओकार बनाएर यो उखान नै बिगारिदिएको छु । हुनुपर्ने त “चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी” नै हो । पक्कै पनि यो देशमा महिलाभन्दा लोकसाहित्यका अध्येताहरू कमै हुनुपर्छ । महिलाहरूको जुलुशको मुक्का खानुभन्दा त लोकसहित्य प्रेमीहरूको झापट नै ठीक । महिलालाई हेपेर बनाइएको हो यो । त्यो जमानामा आइमाईलाई कसले मासु खान दिने ? अहिले त बिरलै पाउँछन् विचरा । 

एकातिर महिला अधिकारको सङ्घर्ष चलेको बेला महिलालाई होच्याउने गरी बनाइएका कानुन बदर गर्ने लहर चलेको छ, अर्कोतिर नयाँ नेपाल बनाउने होड बाजी । यसो सोचे हैन नयाँ नेपाल बनाउने त भन्छन् तर कुसंस्कार भने बदल्न चाहन्न । के यसरी नै नयाँ नेपाल बन्छ ? पक्कै पनि बन्दैन । घर, मोटर सडकजस्ता भौतिक वस्तु नयाँ बनाउँदैमा नेपाल नयाँ हुँदैन । श्रमजीवीहरूले नयाँ तवरले श्रम गर्ने सिक्नु प¥यो । कलमजीवीले नयाँ तरीकाले कलम चलाउनु प¥यो । सत्तावालाले भत्ता मात्र खाने हो भने नयाँ नेपाल हैन नयाँ कपाल बन्ला ।
के गर्ने त पुरानै उखानलाई रट्दै आएर नयाँ नेपाल हुँदैन । त्यसैले उखान पनि समयसापेक्ष नयाँ बनाऊँ भनेर हिम्मत गरेको हुँ । मेरो यो नयाँ नेपाल बनाउने अभियानमा तपाइँले पनि साथ दिनोस् ल । भाषामा पनि नयाँपन दिनुप¥यो नि त । बरु लोकसाहित्यप्रेमीहरूले डण्डा लिएर लखेटे भने म पनि महिलाहरूको जुलुसमा मिसिन्छु तर उखान भने बुढी नभएर बुढो नै बनाउनुपर्छ है ।