कीर्तिपुरको छात्रावासमा बसेको बेला गफ चुट्ने काममा एकजना मित्रले भनेको याद आयो– अरू भए यो काठमाडौँमा त गजब हँुदो रहेछ नि । ‘कस्तो गजब होला ?’ मैले उत्सुकतापूर्वक सोधेँ । यही उपत्याकाभित्रै जन्मेर पनि कीर्तिपुर नदेखेका मान्छे छन् र भक्तपुरका नेवार कीर्तिपुर नआएका र कीर्तिपुरका नेवार भक्तपुर नगएका कति छन कति । हामी बाहिरबाट आएर गल्ली गल्ली चहारेका छौँ । यस्तो कुरा सुन्दा अचम्म नलाग्ने कुरै भएन । हो होइन त्यो भने उनैलाई सोध्नु पर्छ । तर ठाउँ नचिनेर सोध्नेहरू भने धेरै हुन्छन् । 
एक दिन मलाई नै सोध्यो एउटाले– हजुर ठिमी जाने बाटो यही होला ? ‘तन्ना ब्लाङ्केट खोल किन्नुस् हजुर, सस्तो सस्तो’ भन्दै ठूलो कुम्लोमा कपडा बेच्न हिँड्नेहरू हाम्रो गाउँघरतिर बेलाबखत आउने गर्छन् । शहरतिर त बाक्लै पसलहरू हुनाले त्यसरी बेच्न हिँड्दैनन् होला भन्ठानेको थिएँ तर ती मान्छेहरू सहरतिर पनि त्यसरी हिँड्दा रहेछन जस्तो लाग्यो । बाटो बताइ दिनुभन्दा पहिले मलाई एउटा तन्नाको साह्रै खाँचो भएकाले किनीमाग्ने विचारले सोधेँ– तिमी जाने बाटो त यही नै हो तर मलाई एउटा तन्ना चाहिएको छ । कुम्लो फुकाएर हेरौँ न । अनि त्यसपछि जानु होला ।
टाउकोमा राखेको कुम्लो बिसाउँदै ऊ मसित झाँेक्कियो– ‘मलाई के कपडा बेच्ने बेपारी ठान्नुभएको ? चिन्नु भएको छ म को हो ?’ मलाई पनि झाँेक चल्यो र भनेँ– ‘निधारमा लेखेको छ र चिन्नु ? भन्नुस् न त को हो तपाईं त्यत्रो ठूलो कुम्लो बोकेर हिँडेको देखेपछि पक्कै कपडा बेच्ने भैया हुनुपर्छ भन्ने लागेर पो मागेको । तिमी पनि थाहै नभएको मान्छे पक्कै ठूलो (भिआइपी) त होइन होला नि । को हो तपाईं ?’ कुम्लो पछार्दा त घम्साघम्सी पो पर्छ जस्तो लागेको थियो तर त्यसो भएन । खल्तीबाट परिचयपत्र निकालेर दिँदै भन्यो– ‘भिआइपी सिआइडी । आफै छुट्याउनुस् अब ।’ हेरेँ लेखेको थियो– माननीय संविधान सभा सदस्य श्री सनकबहादुर सम्बाहाम्फे ।
‘ए उसो भए तपाईं नक्कली सभासद पो हो ?’ ऊ फेरि च्याँठियो– ‘पढ भन्नै लाज लागेर कार्ड देखाएको छु । त्यस्तो इज्जत नभएको पदको लागि किन नक्कली परिचयपत्र बनाउनु ?’ मैले भनेँ– ‘तपाईंलाई त संविधान लेख्न भनेर जनताले चुनी पठाएका होइनन् र ? फेरि यत्रो ठूलो कुम्लो बोकेर ठिमीको बाटो लाग्दै हुनुहुन्छ । उतै बानेश्वरमा बसेर खुरु खुरु संविधान बनाउन पर्दैन ? काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर ? कतिजना विदेश भम्रण, कतिजना गोष्ठी उदघाटन, तपाईं चाहिँ यही ब्यापारतिर । गजब छ बा, सभासदको त गाडी सुविधा पनि त हुन्छ । साँच्चै तपाईं डुब्लिकेट सभासद नै हुनुपर्छ ।’
मेरो कुरा बिचमै काटेर उ बोल्नथाल्यो– ‘यो काठमाडौँको बासिन्दा नै होइन क्यारे तपाईं । कति लामो जाम हुन्छ यहाँ थाहा छ तपाईंलाई । गाडी भन्दा पैदल नै छिटो पुगिन्छ । बानेश्वरदेखि कोटेश्वर सम्मको जाम देख्नु भएन ? को बसिरहन्छ गाडी कुरेर अरू साथीहरू गइसके भन्नोस् न ठिमी जाने बाटो यो हो, होइन हो सभासदज्यू हो अनि यो कुम्लो किन बोक्नुभएको नि ? के छ त यसभित्र, अरे तपाईं सबै निदिखुदी पार्नुहुन्छ । लौ हेर्न‘होस् आफैँ । ऊ फटाफट कुम्लो फुकाउन थाल्छ । थुप्रै ठेलीहरू छिरलिन्छन् बाटो छेउमा विभिन्न समिति उपसमितिले तयार गरेका संविधानका मस्यौदाहरू । उसले भन्छ पत्याउनु भो, अब बानेश्वरमा संविधान बन्दैन त्यसैले ठिमी जान लागेको, काम छोडेको हैन उतै गएर गर्ने रे ।
बम्घा ८ गुल्मी