धेरैलाई लागेको थियो
मुलुक यस्तो होस् −
सुन्दर
सम्पन्न
सभ्य होस्
सबैको ओठमा हाँसो होस्
मन प्रफुल्ल
आँखामा कौतुहल र बिश्वास भरियोस्
सबैका छातिमा
हिमाल, पहाड र मधेसको माया अटाइ नअटाइ होस्
भोक इतिहास होस्
रोग हराओस्
सिर्जनाको पौल होस्
साँच्चै मुलुक सुन्दर होस्
शान्त होस्
रहर लाग्दो होस् ।
तर भएन
केही भएन
हुने लक्षणसम्म पनि पो भएन
बरु
भताभुङ्ग भयो
लथालिङ्ग भयो
मुलुक
अनेक पीडाले डामिएर
क्षत बिक्षत भयो
सिर्जना हरायो
सभ्यता हरायो
अहिले त मुलुक
मुलुक जस्तो पनि पो भएन
यो मुलुकलाई माया गर्ने मान्छे नै भएन
भएर पनि भए जस्तै भएन ।
अगाडि हिँड्ने मान्छेहरू !
तपाईका कान छोपिएका छन्
कचेराले टालिएछन्
आँखा, खोज्नुपर्छ
तपाईका कानमा
बतास पनि लाग्दैन
तपाईका आँखामा हतास पनि छाउँदैन
हाम्रो मन पो
बतासले उडाउन लागेको छ
हामीलाई हतासले
निल्न लागेको छ
हाम्रा मन भित्रको मुलुक
किन
आजकाल तपाईंलाई
नदेखिने भएको छ ?
किन ?
त्यो छातिमा
मुलुकको माया हराएको छ ?
ए ! अगाडि हिँड्न रहर गर्ने मान्छे !
हिँड्न त बाटो चाहिन्छ
बाटो हिँड्नुपर्छ
बाटो हुन माटो चाहिन्छ
न बाटो, न माटो
तपाईं कता जाँदै हुनुहुन्छ ?
तपाइलाई थाहा छ ?
विरतामोड, झापा