राजाको अवशेष खोज्न नागार्जुनतिर जानु पर्छ रे ! अब नारायणहिटीबाट हटिसक्यो । सबै यसै भन्छन् । शायद तपाई पनि त्यसै भन्नुहुन्छ होला । हो त्यो मसानघाटमा राजा छैन । संविधानमा पनि अब नलेखिएला तर खै त्यो प्रवृत्ति ज्यूँका त्युँ छ । राजाको ठाउँ जन शब्दले ओगट्दैमा राजतन्त्र हटेको ठान्नु बकम्फुसे कुरा मात्र हो । अब त राजाको काम होइन होला नि जनताको काम होला । फेरि पनि राजाकै काम जस्तो भैरहेछ । पियनदेखि बडा हाकिमसम्मको प्रवृत्ति उस्तै छ । घुस खाएर भुँडी ढड्याउन जनताका काम गर्नेहरू खटिरहेका छन् । कतै जनताको काम कहिले जाला घाम भन्ने उखान सार्थक पार्न त खोजिएको हैन ? नयाँ नेपालमा त्यसो किन नहुने ?
गणतन्त्र आए पछि पनि राजाको काम कहिले जाला घाम भन्ने उखानको बखान गर्दैछ भनेर मलाई आलुचना खुवाउन सबै ओइरिए पनि डर छैन । पेट भोकै छ नयाँ नेपालका नयाँ नयाँ परिकारहरू खान त पाइएकै छैन अनि आलुचना नखाएर के खाने ? कति सक्नुहुन्छ ख्वाउनुहोस ।
राजाको सट्ठा जनता र राजको सट्टा जन शब्द राख्दैमा नयाँ नेपाल हुन्छ भने यतिखेरसम्म देशले काँचुली फेरिसक्नु पर्ने ! उही थोत्रो छालाले बेरिएको छ । राजमार्गहरू जनमार्ग भएका छैनन् बरु जनमार मात्र भैरहेका छन् । उता त्यस्तो छ , यता काठमाडौं अझै राजधानी नै छ । जनधानी हुने कसरत पनि गरेको छैन बरु जनहानी मात्र छ । राजदरबारलाई संग्रहालय बनाएर हुन्छ र, सिंहदरबारका सिंहहरूको ढिलासुस्ती र भ्रष्टाचारी प्रवृत्ति उस्तै छ । बरु घमण्ड थपियो होला कम भएको छैन ।
सिंहदरबारमा बसेर राजाको काम गर्दा हैरान भएर हैन र वानेश्वरतिर सरेको ? चाइनाले बनाइदिएको भवन भित्र छिरेपछि त चाइनिज स्टाइलले काम हुनु पर्ने ! खै उही ताल छ । कसले बाजा बजाइदिएर नाच्ने हो र अब ? आफ्नो ताल आफै लिनु पर्नेमा कहिले गोरेको तालमा कहिले कालेको तालमा नाच्छन् बा !
राजाकै काम जस्तो गरी जनताको काम गरेर नयाँ नेपाल बन्दैन । नयाँ नेपाल शब्दकै बेइज्जत हुन थाल्यो तर हाड नभएको जिभ्रोेले रट्न अझै छोडेका छैनन् । कट्टर राजावादी त शिर ठडयाएर हिँड्छन्, मलाई आलुचना खुवाउने अाँट को गरोस् ?,
बम्घा, गुल्मी