अस्पतालको सगोल पलङमा
सेतो सुकिलो ओछ्यान पाई
नयाँ रोगी रम्दछ पहिले
खोल र तन्ना सुम्सुम्याई
अहा ! कस्तो सफा बिछ्यौना,
हातको मयल पनि सर्ला जस्तो
कति नरम औ कथि मनोरम
खोपीभित्रको शैया जस्तो ।

तर जब ओल्टेकोल्टे गर्दा
तन्ना खोल अलि सर्न जान्छ,
अनि रोगीको आँखा सहसा
भित्री तहमा पर्न जान्छ ।

ती सुकिला खोलहरूभित्र
कति थाङ्ना ती सिरक डसना
टाल्दैतुल्दै छोप्पिइरहेको,
सयौं वर्षको अवशेषपना
छ्या ! छ्या !! देख्तै डुङ्ग गनाउने
पीप रगतका टाटैटाटा
जति पल्टायो उति घिनलाग्दो
दिशपिशावले कुहिँदा पाटा ।

देख्तछ जब यो रोगी अनि पो
खुल्दछ उसमा भित्री पोल
नव्य झैं लाग्ने भव्य झैं लाग्ने,
ओछ्यान रहेछ केवल खोल
दारा किट्छ अनि त्यो रोगी
चिच्याउन लाग्छ च्यात्तै खोल
खोल खोलमै कति दिन धान्छौ
जगजीवनको मोल ।

तर नारी समाई भन्दछ डाक्टर
छैन यसको ब्रेन कन्ट्रोल
अनि धाईले प्याइदिन्छे
मुसुक्क हाँस्तै रङ्गिन झोल ।

वासुदेव लुइँटेलले गरेको टेपमा ‘रूपरेखा’मा छापिएको भनेर भैरव अर्यालकै आवाजमा उल्लेख गरिएको यसलाई फित्कौलीले ‘भैरव भन्छन्’ २०३४ बाट जस्ताको तस्तै ।