सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

टेलिफाेन प्रेम

Nepal Telecom ad

“नालायक ! लबस्तरो ! आवारा ! तँलाई लाजसरम केही लाग्दैन ? आइन्दा फेरि फोन गरिस् भने … ।”

छोरीको नाममा आएको फोन पिताजीले उठाउन पुगेछन् । बिचरो फोनप्रेमी नाजवाफ भएर फोन रिसिभरमा राखिदिए । छोरीलाई बोलाएर उनले हपारे– “क्या हो, तिम्रो चाला ? तिमी क्याम्पस गएर पढ्दैछ्यौ कि आवारा लोफर केटाहरूसँग सङ्गत गर्दैछ्यौ ? यस्तै ताल हो भने तिमी जानुपर्दैन क्याम्पस ट्याम्पस कतै पनि ! को हो त्यो ज्याकी कि जङ्की भन्या ?” बाबाको खप्की खाएर छोरी निकैबेर अवाक बनिन् । आखिर केही त बोल्नै पर्यो– “हजूर पनि त्यस्सै रिसाउनु हुन्छ, त्यस्ता आवारा केटाहरूसँग न त मेरो सङ्गत छ, न त म ज्याकी कि जङ्कीलाई नै चिन्दछु ! कुन मोरो होला ब्लफकल गर्ने !” यसरी फोनले केही महिना यतादेखि त्यो घरमा आमा छोरा, बाबु–छोरी, दाजु–बहिनी र दिदी–भाइका वीच अविश्वास, शङ्का र सन्देहको वीउ उमारिरहेको छ । फोनकै निहुँमा बेलाबेला खटपट, दन्तबझान र ठाँस्सठुस्स समेत हुने गरेको छ । यो सव टेलिफोन प्रेमको करामत हो ! टेलिफोन नामको यो ठाँडो नभइ पनि नहुने, भए पनि नहुने ।

सञ्चार क्षेत्रमा विज्ञानले ल्याएको उन्नत प्रविधिबाट धेरै भन्दा धेरै मानिसहरू लाभान्वित भइरहेका छन् । आखिर टेलिफोनप्रेमी पनि मानिस नै हो, अनि ऊ चाहीँ यो लाभबाट बंचित हुनु न्यायोचित पनि त होइन नि ! ऊ पनि सबै किसिमका लाभ र हानीहरूको समान हकदार हो, हकभोग गर्नु उसको अधिकार हो । विज्ञान र प्रविधिको चमत्कारले प्रेम जस्तो भावनात्मक कुरालाई पनि आधुनिकीकरण गर्न उल्लेखनीय मद्धत पुर्याइरहेको छ । नेपाली ठिटा ठिटीहरूको प्रेम पहुँच अहिले नै आमरूपमा इमेल वा इन्टरनेटसम्म पुगिसकेको बेला जाबो टेलिफोन प्रेमको किस्सा कुन महत्वको हो र भन्ने पनि लाग्न सक्छ । तर त्यसो होइन । आमरूपमा अहिले टेलिफोन उपलब्ध छ र आधुनिक प्रेम टेलिफोन मार्फत् आदानप्रदान भइरहेको छ । दुईतर्फी प्रेमलाई मात्रै प्रेम सम्झने र बुझ्ने रुढीग्रस्त मान्यतालाई चुनौति दिंदै हिजोआज फोन मार्फत् एकतर्फी प्रेम आनन्दसँग मौलाइरहेको छ । आहा ! कति सजिलो, केटाहरूलाई केटी चिन्नु पनि नपर्ने, केटीहरूलाई केटा देख्नु पनि नपर्ने । सिर्फ फोन नंवर फेला परेपछि एकोहोरै भए पनि तारको बाटो भएर प्रेम बेरोकटोक चलिरहने ।

फोनमार्फत् उन्नत स्तरमा उक्लिएको प्रेम अब अविभावकहरूको खतराबाट पनि मुक्त र सुरक्षित भएको छ । माता पिता वा दाजुहरूलाई छिसिक्क शंका लाग्नासाथ कोठामा अचानक छापा मारिन्थ्यो र तकिया मुनिको “लभलेटर” फेला परिहाल्थ्यो । अनि “लभलेटर” मार्फत् चल्ने लभको हरिविजोग शुरु भइहाल्थ्यो । अब स्थिति त्यस्तो छैन । फोनको लहरो मार्फत् लहरिंदै गरिने प्रेम र प्रेमालाप न छापा मारेर फेला पर्छ न खापाबाट चिहाउँदा देखिन्छ । आङ्कनै मातापिता भिलेन बनेका रहेछन् र थाहा भइहाले पनि थाहा नपाए झैं गर्न विवश हुने गरेका छन् । फोनको लहरो मार्फत हुने दोहोरो प्रेम प्रसङ्ग त थाह नहुने भयो भयो तर लहरो मार्फत् गरिने एकोहोरो प्रेमले पनि धेरैको निन्द्रा बिगार्ने गरेको छ । तर यस्तो फोनप्रेमको प्रेमी फेला पार्न सकिन्न भनेर दुरसञ्चारले समेत सार्वजनिक घोषणा ग¥यो । यस्तो घोषणाले एकोहोरो फोनप्रेमीहरूलाई दिन दुगुना रात चौगुना उत्साहित र प्रोत्साहित गरिदियो । सायद कैयौं फोनप्रेमीहरूले फोनबाटै दूरसञ्चारलाई प्रेमपूर्वक स्यावासी दिए ।

टेलिफोनले भावनात्मक प्रेमबाहेक अरु अन्य प्रेमलाई पनि समयोचित साथ र सहयोग पु¥याउँदै आएको छ । तस्करहरूको तस्करी–प्रेम फोनबाटै ओहोरदोहोर गर्ने गर्छ । कमिशनखोरहरूको कमिशन–प्रेम फोनबाटै आदानप्रदान हुने गर्छ । चाकरीवाजहरूको चाकरी–प्रेम फोनबाटै चकराउँछ । चुक्लीवाजहरूको चुक्ली–प्रेम फोनबाटै मुस्काउँछ र फोनबाटै ठुस्काउँछ । घुसखोरहरूको घुस–प्रेम फोनबाटै मौलाएको छ । पद प्रियहरूको पद–प्रेम भन्नोस् या कुर्सीवाजहरूको कुर्सी–प्रेमदेखि कैंची प्रियहरूको कैंची–प्रेमसम्मका सवै काम फोनबाटै तमाम हुने गरेका छन् । राजधानीका कैयौं कर्णधार युवाहरू एफ्एम् मार्फत फोनप्रेमी हुन पुगेका छन् । फोनबाटै फर्माइस गरी आफ्ना अपरिचित प्रेमिकाहरूलाई रंगिलाखाले पप गीतहरू फर्माइरहेका छन् । बेरोजगारले लाचार बनेका सैकडौं युवा युवतीका निम्ति एफ्एम्को फोन फर्माइस गजबको फोन फर्मुला भएको छ । उनीहरू ढिस्युँ संस्कृतिको जगेर्ना र विकासका निम्ति फुर्तिलो ढंगले लागिरहेका छन् । कसैलार्ई मन नपरेर हुन्छ ? यो त प्रगतिको शुभलक्षण हो ।

यत्रो कइरन कथ्ने तँ लठुवाका घरमा चाहीँ टेलिफोन छ कि छैन नि भन्नु होला ! छ हजूर, म लठुवासँग पनि त्यो फोनको फुडिल्को छ र बेला न कुबेला लठीभद्र पार्ने गरेको छ । यद्यपि फोन प्रेमबाट हुने टेन्सनबाट भने म मुक्त छु । किन कि मेरी एकमात्र छोरी भर्खर ताता तुतु गर्ने भएकी छिन् र एक मात्र छोरोले पनि स्कुल जाँदा बाटैमा टिफिन पोख्ने गरेको छ । अनि तीनवटै बैनीहरूको बिहे भैसकेको छ र उनीहरू आ–आङ्कनै घरमा छन् । भाइहरू पनि एकएकवटी बुहारीका धनी भैसकेका छन् र आङ्कनै इलममा बाहिरै छन् । त्यसो भए तँकहाँ ल्बफकल नै आउँदैनन् त भन्नु होला, त्यो ल्बफकल हो कि गफकल हो मलाई थाह छैन, एउटी अपरिचित कवयित्रीले फोनबाटै लामा लामा कविता भने सुनाउने गर्थिन् तर निकै महिना भयो सुनाउन छोडेकी । ओल्लो घर पल्लो घरका साली नानीहरूलाई बोलाइदिने आग्रह गर्दै एक दुई भिनाजुहरूले मेरो फोनको घण्टी बजाउँथे, म पनि दायाँबायाँ केही नसोची बोलाइदिन्थें । तर अस्ति भर्खरै एउटा डेडअक्कलीले भिनाजुको नक्कल गर्दै नक्कली सालीसँग फोन मार्फत् प्रेमको थालनी गर्न थालेको रहेछ, मलाई त पत्तै भएन, बोलाइदिएँ । साली पर्ने त मैसँग पो बम्कन थाली । किन बम्कन्छ्यौ उत्ताउली ? गर न तिम्रै भिनाजुलाई गाली ! मैले यति के भन्न भ्याएको थिएँ ऊ त निली काली भएर फर्किहाली । त्यसै दिनदेखि बोलाइदिने काम पनि बन्द । यसरी चलाउने बोलाउने काम बन्द भए पनि टेलिफोन प्रेमबारे जानकारी राख्ने रुची भने मरेको छैन । यस सम्बन्धी गहन जानकारी तपाईसँग पनि छ भने कृपया फोनबाटै यसो बताइदिनुस् न हुन्न् ?

कलङ्की, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad