सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सागको मोल

Nepal Telecom ad

– ए ताजा साग लिनुहोस्, ताजा साग ! ऊ एकाबिहानै कराउँदै अगाडि बढिरह्यो । खर्पनको बोझले उसको काँध लचक्क परेको थियो । गोडामा फाटेका चप्पल ! टाउकोमा कुचुक्क परेको टोपी । गरुङ्गो भारी । ग्राहकको खोजीमा ऊ टोल–टोल चाहर्दै थियो ।
– ताजा साग लिनुहोस्, ताजा साग ! उसको आवाजको भोलुम बढ्यो । ऊ सोच्दै अघि बढ्यो । साग बेचेर छोराको स्कुल फिस तिर्न पैसा पुरयाउनु छ । श्रीमतीलाई लुगा हालिदिनु छ । फाटेको चप्पल फेर्नु छ । अनायास ऊ पुनः करायो– ताजा साग लिनुहोस्, ताजा साग !
गेटमा उभिएर एक गृहिणीले भनिन्– ए साग ! यता ल्याऊ । कसरी मुठाको ?
– मुठाको दस । उसले सहज उत्तर दियो ।
– कति महँगो ! तिनी सुनैसुनका गहनाले झरिझुट्ट परेकी थिइन् ।
– महँगो ? यति साग उब्जाउन कति दिनसम्म कति मिहिनेत गर्नुपर्छ, यहाँ हजुरको घरसम्म ल्याइपु¥याउन काँधको छाला जान्छ । हाम्ले किन्ने सामान पनि त महँगो छ । दस रुपियाँ त केही होइन साहुनी !… कति मुठा दिऊँ ?
– भो भो धेरै भाषण नछाँट ! पाँच रुपियाँ मुठा देऊ ।
– नाइँ हजुर ! दस रुपियाँ बढी होइन ।
– ल ल, छमा देऊ ।
– हुन्न हजुर ! दस पाऊँ ।
– कस्तो गरिब रहेछ । ल सातमा दे, दस मुठा ।– उनी झर्किन् ।
उसले छानीछानी दस मुठा साग दियो र ७० रुपियाँ खल्तीमा हाल्दै भन्यो– एउटा मुठा सागलाई दस रुपियाँ पनि दिन नसक्ने साहुनी पो गरिप !
– ‘हुँ !’ गृहिणी ठस्किँदै भित्र पसिन् ।
खर्पन जुरुक्क उचालेर ऊ बाँकी साग बेच्न अगि बढ्यो– ताजा साग लिनुहोस्, ताजा साग !!

भैरहवा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad