सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पतिपत्नीका ठोलाबाजी !

Nepal Telecom ad

पत्नी :

ए रत्नेका बा, तिमी किन सधैँ मलाई ढाँटीढाँटी कहिले काममा गाथेँ, भन्छौ, कहिले अफिसमा काम थियो भन्छौ, कहिले साथीकहाँ पुगेथेँ भन्छौ । भन त, तिम्रा साथीहरू कोको हुन् ? मैले त तिम्राबारे धेरै कुरा थाहा पाइसकेकी छु, यसरी कतिदिनसम्म मलाई ढाँटेर हिँड्छौ हँ ? खोलौँ तिम्रा पोल ? अब त हामीले पनि मुख खोलेर बोल्न पाउने अधिकारका दिन आए क्या ।

पति :
खोले खोल, छोपे छोप । तँलाई महिनामहिनामा तलब दिँदा चाहिँ कठै मेरा रत्न्या बा भनेर चेपारो पार्छेस् । घरमा बसेर खाएर मोटाएर भकारी भएकी छेस् । तेरो मुडको के बयान, कहिले चुपचाप, कहिले फतफत, कहिले गनगन, लौ भन् त, तँलाई के पुगेन ? महिनैपिछि थरीथरीका कपडा किनिदियो यो भएन र ऊ भएन भन्छेस् । अलिकति कुरो मिलेन कि पेट दुख्यो, टाउको देख्यो भनेर डाक्टरले पनि नदेख्ने रोग बताउँछेस् । गरगहना लत्ताकपडाका कुरै नगरौँ । कस्मेटिक लिपिस्टिक पनि किन छिटै सकियो भन्दा तिमीले चाटेर त सकिएको हो नि भनेर मुस्कदै चेपारो पार्छेस् । मन्दिर गएको, पुराण सुन्न गएको बहाना पारेर तँ कहाँकहाँ पुगेकी छेस् म पनि अब तेरो पोल खोलौँ ? बडो बाठी भएर लोग्नेको हुर्मत लिन खोज्छे । आफ्नो घर पोलेर अर्कालाई आगो तपाउँदा तँलाई के फाइदा हुन्छ भन् त ? त्यसै मेरो हुर्मत लिन खोज्छे !
पत्नी :
ए तिमी मलाई यस्तायस्ता आरोप रोप्ने भयौ ? विहे पहिले केकस्ता वाचाकबुल गरेका थियौ सम्झ त ? अहिले त तिमी आफ्ना आमा बा दाजुभाइलाई मात्र माया गर्छौ । मेरा बा आमालाई गन्दैनौ । अफिसबाट फर्केर पनि मेरालागि समय दिँदैनौ । सही कुरा बोल्दैनौ । भन त यो टोल कटेपछि सधैँजसो तिम्रो बाइकपछाडि टाँसिएर अँगालो हाल्दै जाने, आउने केटी को हो ? गाउँलेले कुरा काटिसके । हेर तिमी मसित विहे नगर्दा र गरिसकेपछिको व्यवहारमा बेग्लै भएका छौ । अब म पनि चुप रहेर बस्ने अवस्थामा छैन । त्यसै दर्जनौ नेता सांसद, मन्त्रीका पत्नीहरूले पारपाचुके गरेका रैछन् र ! पैसामात्र सबैथोक होइन । हुने भए नेतालाई छोड्थे ? कोही घरेलु हिंसामा परेका छन् त कोही घरेलु हिंसाका भोका छन् । सम्झ त म यस मामलामा भोको छु कि पेट भरेकी छु ? भात मात्र को भोक होइन, जातमात्रको सोख पनि होइन । तिमीचाहिँ बाहिरै खान्छौ, बाहिरै डुल्छौ न त मलाई भान्सामा सघाएका छौ न त ओछ्यानमा नै रमाएका छौ । नाता मात्रले पनि पुग्दोरहेनछ । गुरुले तिमीलाई पढाएको वेदान्त त त्यो बोकालाई पढाउनु पर्ने रहेछ, के गर्नु भन्नु भएन । अरुका श्रीमान् श्रीमती एकाकार भएर हिँडेको देख्दा लोभिएर त यसो यताउति हेर्न गएको हुँ नि । तिमीले केटीसाथी लिएर दिनहूँ हिँड्न हुने, मैले चाहिँ आकलझुकल केटासाथी लिएर हिड्न नहुने ? के हो नारी पुरुषको समानता भनेको ? के हो आधुनिकता भनेको ?
पति :
ए गाँठे ! होइन तैँले त हुर्मतै पो लिन खोजिस् हँ ? मेरा सबै कुरामा तँलाई संकामात्र रहेछ ! तेरो विचार के छ भन् त ? बाबुसित पनि ‘म विहे गर्दिन मलाई अंशदेऊ’ भनेर ल्याएको अंश सबै तेरो बैँकमा राखिस् । यता मैले कमाएको कुनै हरहिसाब तँसित गरिनँ । कतै तेरो विचार बेग्लै छ कि के हो ? भन्, प्रष्ट भन् ।
पत्नी :
राम राम ! होइन तिम्ले मलाई पोइल जानलागिस् भन्या कि, पोइल जा भन्या ? तिम्रो कुरामा चुरा छ, पेटमा छुरा छ । न त मैले यो छोरो अर्काको भनेकी छु, न त कसैकहाँ गएर रात बिताएछी छु, त्यसै फत्तुर लगाउने ? मुख समाल, मुख । पहिले चाहिँ ‘बाबुसित अंश माग अनि तिम्रोहाम्रो विहेको कुरो अघिबढाउँला’ भनेर मलाई उचाल्यौ । माइतीसित टाढा पा¥यौ, ऐले फेरि मेरा बाबुले दिएको अंशको कुरो किन ? भन मबाहेक तिम्रो कोही भएर तिमी बटारिन लागेका हौ कि के हो ?
पति :
ए बाबा ! तँलाई जे जे संका लाग्छ भन् हो, म त्यही हो, अब भएन ? छोरीमान्छेहरू बढी संकालु हुन्छन् भन्थे मलाई भने विश्वास थिएन । तँलाई हेरेर मैले अरु महिलाहरूलाई पनि यस्तै ठानौँ ? कस्तोकस्तो कुरा सुन्नुपर्छ बा ! अब त तैँले मेरो यो स्याउजस्तो गाला सुक्दै गएको देखेर ओखरजस्तो टाउको पो खान थालिस् । अझ गिदीको गुदी नै निकाल्ने मन छ कि के हो ? नेताले त पोइल जान खोजेका पत्नीहरूलाई पैसा दिएर मुखबुझो लगाउन सकेनन् भने म तँलाई पैसा दिएर मुख टाल्न सक्दिन । जे मन लाग्छ त्यही गर । तँ रहेपनि खुसी, गएपनि खुसी । कुरो खुलस्त गरौँ । आआफ्ना बाटो तताऔँ । बोल्नै परेपछि म जुन प्रस्ताबमा पनि तयार छु ।
लौ हेर त !
आखिरमा जस्तो सुकै हुर्को ठूलो भए पनि आगो त परालकै हो । कहाँ धेरैबेरसम्म भुङ्ग्रो भएर रहन सक्थ्यो र ! यस्तो ठोलाबाजीको समयमा नसोधी माइत जाउँ भने केको आधारमा फर्कने । बोलुँ कसरि भनेर पत्नीले अर्को दिन मीठो खाना खुवाउँदै पतितिर संकेत गर्दै भनी ‘तरकारीमा नुन हाल्न बिर्सेँजस्तो छ’ भनेर चेपारो मुस्कान पारेकी पत्नीतर्फ अर्धमुस्कानमा अर्धनजरले हेरे पतिले त्यही अवसर छोपेर पतितिर चेपारे पाराको नजर लगाउँदै भनी ‘माइतमा पूजा छ रे, ज्वाइँलाई पनि लिएर आउनु भन्नुभा थ्यो आमाले’ त्यसरी फाटेका दम्पतीका मन एकै नजरमा जोडिएझैँ भएको संकेत दुबैलाई भयो । एकछिन सन्नाटा छायो ।
पति :
‘उसोभए उहाँ गएर ठोलाबाजी नगरौँ है त’ भन्दै समान मुस्कुरावटमा परालको आगो आपसमा सामसुम पारे । जस्तै बगे पनि डगे पनि ढुङ्गाको भर माटो , माटाको भर ढुङ्गो त रहेछ नि !
लौ है वकिलदेखि फक्किरसम्मका तेस्रो पक्षहरू पतिपत्नीका मनमुटाबको पक्ष विपक्षमा लागेर जोकर फाल्टु नबनौँ । उनीहरू त यसैगरी जुध्न पनि सक्छन्, मिल्न पनि सक्छन् । तेल पानी एकै पिना मात्र बाहिर, होइन र ?
यो घटना ठ्याक्क कुनै नेताको दाम्पत्य व्यवहारमा मिल्यो भने संयागे ठान्नोस् है त !
धादिङ, हाल : काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हराउनुको पनि हद हुन्छ

हराउनुको पनि हद हुन्छ

घिमिरे ‘मैदेली’
चमेरे ‘च’ को चङ्गुलले चेताउला !

चमेरे ‘च’ को चङ्गुलले...

घिमिरे ‘मैदेली’
गठबन्धनका गाँठागुँठी

गठबन्धनका गाँठागुँठी

घिमिरे ‘मैदेली’
जगत जमाउन जप्नोस् जनता

जगत जमाउन जप्नोस् जनता

घिमिरे ‘मैदेली’
भ्यागुताको धार्नी !

भ्यागुताको धार्नी !

घिमिरे ‘मैदेली’
उखानकै बखान

उखानकै बखान

घिमिरे ‘मैदेली’