सानो बेलामा बा सुनाउनुहुन्थ्यो
शहरको झिलिमिली कथा
म बाको अनुहारमा हेर्दै
सुनिरहन्थेँ शहरको कथा ।

जब म शहर पसेँ
शहर त
रेड लेबल ह्विस्कीको बोतलमा जिन्दगी घुसारेर
आफैँलाई खोज्न थालेको रहेछ ।

सानासाना नानीहरू
दूधको सट्टा सुलेसनमा
रमाउन थालेका रहेछन्
ह्वास्स गन्ध आउन थालेको रहेछ
रसायनयुक्त तरकारीको
झन् युग त
इमेल इन्टरनेटमा पो चल्न
थालेछ
घरमात्र ठूलो भएर के गर्नु !
घरमा बस्नेहरूको मन
झन् खुम्चँदै गएको रहेछ ।

सौन्दर्यको नाममा झन् बढ्दो रहेछ
ब्युटी पार्लर जानेको लर्को
दिनानुदिन महगिँदो रहेछ
लिपिस्टिक, क्रिम र पाउडरको भाउ
कपालमा जेल दलेर हिँड्दा रहेछन्
एकाबिहानै स्कुले नानीहरू ।

अचेल झोलामा
कहीँ कतै भेट्टाइँदैन रहेछ
देवकोटाको मुनामदन
भूपिको घुम्ने मेचमाथिको अन्धो मान्छे
र पारिजातको शिरीषको फूल
बरु शहर कन्डम बोकेर
दिनानुदिन व्यापार गर्दोरहेछ
आफ्नै दिदी बहिनीहरूको ।

शहर सुगन्धित रहेछ परफ्युमहरूले
सजिसजाउ रहेछ आर्टिफिसियल फूलहरूले
स्वाभिमान बढाएको रहेछ अग्ला घरहरूले
शहर पैसाको वेगमा नाङ्गो नाच नाचेर
हिँडिरहेछ र गरिरहेछ
प्रत्येक दिन निमुखाको अपमान ।

शहर भोकाको क्षेप्यास्त्र प्रयोग गरेर
दिनानुदिन घोचिरहेछ
मान्छेको ठेट्नो दिमाख
म अचेल त्यही भोकमा
रुमलिएकी छु र लेखिरहेकी छु
शहरको कथा ।

साँच्चै बा !
शहर तपाईंले भनेजस्तो रहेनछ ।

हेटौँडा– ४, मकवानपुर