मर्दै छ मान्छे यहाँ
भन्छन् मानव श्रेष्ठ हो जगतमा, विज्ञान वा ज्ञानको ।
भन्छन् मानव ज्येष्ठ हो जगतमा, सम्मान वा ध्यानको ।।
माया प्रेम सुसभ्यता र ममता, सौहार्द्रता साम्यता ।
मान्छे हो भवचक्रको मधुरता, संसारकै भव्यता ।। १।।
जे—जे उच्च उपाधि वा पद दियौ, हाम्रै चलाखी न हो ।
मानै मान थपेर अब्बल बन्यौ, मान्छे रबाफी अहो ।।
चर्को गर्दछ मान शान मनुवा, आफ्नै प्रशंसा स्तुति ।
पर्छन् दोहनमा चराचर जगत्, सामन्त मान्छे अति ।। २।।
आँफै मात्र कमाउ मोज रमिता, अर्को दरिद्री बनोस् ।
आफैं मात्र धनी बनूम् अवनिमा, अर्को बिखर्ची बनोस् ।।
हिंसा चिन्तनमा मनुस्य अहिले, चर्को बन्यो दानव ।
उल्लीबिल्ली बिचल्ली शोषण बढे, मर्दैछ रे मानव ।। ३।।
माता बाबु र पाहुनाजन सबै, निन्दा घ्रिणामा डुबे ।
मूर्ती मन्दिर नारी औषधी बुटी, मान्छेहरूल्यै लुटे ।।
पैसा मिल्छ भने कुकर्म सब नै, गर्दै छ मान्छे यहाँ ।
मान्छे हो अब रात पर्न सुरु भो, मर्दैछ मान्छे यहाँ ।। ४।
धादिङ