क– विषय प्रवेश–
श्याम गोतामे (१९९६–२०५५) हास्यव्यङ्ग्यात्मक निबन्धलेखनका क्षेत्रमा स्मरणीय नाम हो । यिनी वि.सं. २०५५ सालमा “मैले पिउन सिकें” निबन्ध (गोरखापत्र माघ २६ गते) का साथ यस क्षेत्रमा देखापरेका हुन् (लुइटेल,२०५८:२२) यिनका ‘मपाईँ’ (२०२६), ‘जदौ’ (२०२७), ‘कायेनवाचा’ (२०३३) र “श्याम गोतामेका प्रतिनिधि हास्य–व्यङ्ग्य (२०४६) प्रकाशित कृति हुन् । यसका अतिरिक्त विविध पत्रपत्रिका उनका रचनाहरु छरिएका छन् । हास्यव्यङ्ग्य प्रविधिलाई अपनाएर निबन्धविधामा साधना गर्ने श्याम गोतामे सामाजिक विकृति÷विसङ्गतिलाई विषय बनाएर निबन्ध लेख्ने निबन्धकार हुन् । निबन्धमा समसामयिक परिस्थितिका चित्रणमा उनी कतै व्यङ्ग्य र कतै हास्यसाहितको व्यङ्ग्य शैलीमा अभिव्यक्त भएका हुन् । यस लेखमा उनका प्रकाशित कृतिमध्ये ‘मपाईँ’ (२०२६) निबन्धको विश्लेषण मात्र छ ।
ख. हास्यव्यङ्ग्य र निबन्ध–
साहित्यमा प्रयुक्त हास्यव्यङ्ग्यमा ‘हास्य’ र ‘व्यङ्ग्य’ को योग छ । हास्यले ‘हास्’ स्थायी भावको विकसित स्वरुपबाट निष्पन्न हुने हास्यरससित सम्बन्ध राख्दछ अर्थात् हाँसो उत्पन्न हुने भाव समेट्छ र यस्तै व्यङ्ग्यले सामाजिक विकृतिलाई छेडछाड गर्दै सुधारको पक्ष हुन्छ । हास्य भावभित्रकै हास्य एक प्रकार हो भने व्यङ्ग्य अर्को प्रकार हो तर नेपाली साहित्यमा ‘हास्यव्यङ्ग्य’ एकै साथ प्रयोग गरिन्छ ।
हास्यव्यङ्ग्य लेखनको एक शैली हो वा प्रविधि हो । यो स्वतन्त्र विधा होइन । यो शैली साहित्यका सबै विधामा प्रयोग गरिएको छ । यसर्थ हास्यव्यङ्ग्य विधा नभई एक शैली मात्र हो । हास्यव्यङ्ग्य अन्तरविधात्मक हुन्छन् र यिनीहरु कुनै पनि विधाको ओत् लागेर मात्र प्रस्तुत हुन्छन् । (भट्टराई, २०५७:८१) बाट यस कुराको पुष्टि हुन्छ । यस्तै हास्यव्यङ्ग्य स्वयम् विधा नभएर भाव अभिव्यक्तिको एउटा मनोरम शैली हो (लुइटेल, २०५८:१७) भन्ने भनाइ पनि यस प्रसङ्गमा स्मरणीय छ । हास्यव्यङ्ग्य शैलीभित्र पर्ने हुँदा यसको प्रयोग साहित्यका कविता, कथा, उपन्यास, नाटक र निबन्ध विधामा सहज रुपमा हुन्छ । वास्तवमा हास्यमा सीमित पक्षलाई व्यङ्ग्यले गम्भीर बनाउँछ र व्यङ्ग्यको रुढता÷ठोसपनलाई हास्यले कोमल बनाउँछ । यसर्थ साहित्यमा हास्यव्यङ्ग्यको अन्तर्सम्बन्ध छ ।
निबन्ध विधामा पनि कविता तत्व, आख्यान तत्व र नाटकीयताको मिश्रण पाइन्छ । यस मिश्रणले निबन्धको प्रवाह र स्वरुपतामा असर गर्दैन । हास्यव्यङ्ग्य शैली निबन्धको यस स्वरुपमा मौलिकता ल्याउने एक ढाँचा हो । तसर्थ निबन्ध विधामा यस शैलीको प्रयोग उपयुक्त नै हुन्छ ।
नेपाली साहित्यमा “हास्यकदम्ब” (१८५५) नाटकबाट हास्य शैलीको परिचय÷ प्रयोग गरिएको पाइन्छ । यसरी नै कविता र कथा विधामा यस शैलीको प्रयोग उपयुक्त ढङ्गले परम्परित भएको पाइन्छ । हास्यव्यङ्ग्यलाई नै मुख्य शैली बनाएर लेखिएको सिङ्गो उपन्यासको अभाव भए पनि उपन्यासका विविध प्रसङ्गमा हास्यव्यङ्ग्यको प्रयोग पाइन्छ । नेपाली साहित्यमा सबैभन्दा बढी यस शैलीको प्रयोग निबन्ध विधामा गरिएको पाइन्छ । निबन्ध विधामा नै यस शैलीको प्रयोग उत्कृष्ट रुपमा भएको छ । हास्यव्यङ्ग्य शैलीलाई अपनाएर निबन्ध साधना गर्ने निबन्धकारहरुमध्ये श्याम गोतामे पनि एक हुन् ।
ग. ‘मपाईँ’ निबन्धसङ्ग्रहको परिचय–
श्याम गोतामेको पहिलो निबन्ध कृति ‘मपाईँ’ (२०२६) हो । यस सङ्ग्रहमा उनका १६ वटा निबन्ध सङ्गृहीत छन् । यी निबन्ध एक वर्षभित्र विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन् । कौवा प्रकाशनबाट प्रकाशित यो कृति दोस्रोपटक (२०३८) मा पनि छापिएको पाइन्छ । यसमा “तपाईँको मपाईँ” शीर्षकमा भैरव अर्यालको पत्रात्मक भूमिका प्रस्तुत छ । भूमिकाभित्र भूमिका लेखन, राजनीति, सामाजिक, साहित्यिक जीवनका परिवेश, कालमा सचेतता जस्ता प्रसङ्ग उठाइएको छ । यस कृतिमा उपमा प्रस्तुत गर्ने तरिकाको भूमिका लेखकले प्रशंसा गरेका छन् । हास्यव्यङ्ग्यमा चिन्तन पक्ष स्पष्ट देखेको भन्न नलजाउनेपन हुनुपर्ने सुझाउसहित प्रथम रचनाकृति भएकाले सुधार र निरन्तरताको कामना पनि गरिएको छ । यस क्रममा उनको मूल्याङ्कन छ–“त्यसैले ‘मपाईँ’ एकछिनको मनोरञ्जन वा अल्लारे ठिटाठिटीको हस्यौलीमा मात्र सीमित नभएर समाजमा मानवतापूर्ण शृङखला खोज्ने सकसकी ल्याइदिने खालको एउटा प्रेरक पाठ्य पनि भएको मान्नुपर्छ । तर, विचार पु¥याउनुपर्ने कुरा के छ भने साहित्यका अरु सबै विधाजस्तै हास्यव्यङ्ग्य पनि विचारमा होइन कलामा टल्कन्छ, कलामा चिरायु हुन्छ ।”
यस सङ्ग्रहमा प्रथम संस्करणमा समाविष्ट “२०२६ सालको राशिफल निबन्ध दोस्रो संस्करणमा हटाइएको छ । यसका सट्टामा “महान् व्यङ्ग्यकारसँग अन्तवार्ता” भन्ने थपिएको छ । यसरी प्रथम संस्करण र द्वितीय संस्करणका बीच केही परिष्कार गरिएको पाइन्छ । यसरी पहिलो र दोस्रो संस्करणमा गरी १७ वटा निबन्ध रहेका छन् । व्यङ्ग्यको भावसहित चित्र समावेश गर्नु यस सङ्ग्रहको अर्को विशेषता हो । प्रत्येक निबन्धमा चित्र नहुँदा यसमा केही अपुग भएको पाइन्छ । सामान्य रुपमा यही नै यस निबन्धको परिचय हो ।
घ. ‘मपाईँ’ भित्रका निबन्धको परिचय–
यस सङ्ग्रहमा १७ वटा निबन्ध रहेका छन् । यहाँ यी निबन्धको परिचयात्मक चिनारी यसप्रकार छ–
१. २०२६ सालको राशिफल–
यस निबन्धमा समाजका विविध क्षेत्रको वास्तविकता वार्षिक राशिफलका आधारमा प्रस्तुत गरिएको छ । यसमा ज्योतिषका नाममा हुने फट्याईँ र सामाजिक अज्ञानताको स्पष्ट रेखा कोरिएको छ । यस निबन्धका उल्लेख्य पङ्क्ति यसप्रकार टिप्न सकिन्छ–
पायक पर्ने नाग बँगैचा र वनमा मधुरुसको झरना र माधुरीका झङ्कारहरु जति पोखे पनि कसैले केही भन्ने छैनन् । (पृ.२) ।
खानपानको स्तरको हकमा रायोको सागले यस वर्ष पनि हाम्रो भान्छामा आफ्नो प्रभुत्व कायमै राख्नेछ र उसको अनुपस्थितिमा गुन्दु्रकले कायम–मुकायम चलाउने छ (पृ.६) ।
२. महान् व्यङ्ग्यकारसँग अन्तवार्ता–
‘मपाईँ’ को दोस्रो संस्कारको पहिलो निबन्ध “महान् व्यङ्ग्यकारसँग अन्तवार्ता” हो । यसमा साहित्यिक विसङ्गतिकाृ टिप्पणीप् छ । पुरस्कारका नाममा हुने चाकडी, प्रचारका नाममा हुने वहिवार्ता, गरिबी र साधना, कविताको अवमूल्यन, साहित्यिक संस्थाको स्थ्तिि आदि पक्षमा पनि यसमा टिप्पणी छ । यस प्रसङ्गमा यो भनाइ स्मरणीय छ–
उहाँले जङ्गिदै भन्नुभयो– म बाहेक अरु यो देशमा लेखक भन्न सुहाउने अरु को छ ? तपाईँ पनि क्या बाख्री हास्या जस्तो सोध्नुहुन्छ । म नै सर्वश्रेष्ठ लेखक हुँ, मैले अहिलेसम्म जे लेखें र भविष्यमा जे लेख्नेछु ती नै मेरा मन परेका कृति हुन्छन् । अरु भारेभुरे हरुले लेखेका कृतिलाई म मन पराउन्न (पृ.९) । यसमा अन्तर्वार्तात्मक र वर्णनात्मक शैलीको प्रयोग स्मरणीय छ ।
३. म प्रति खोइ सहानुभू्ति ? मेरो नाम खोइ ?
यस निबन्धमा राजनीतिक भ्रष्टताप्रति व्यङ्ग्य छ । यस्तै अवसरवादी चरित्रको पर्दाफास छ र मानिसको लघुताभित्र सामाजिक यथार्थको पकटीकरण छ । मन्त्री हुने सूचीमा नाम नपरेका पात्रको एकलापीय प्रस्तुतिबाट यी विसङ्गति देखाइएको छ । निबन्धभित्र का यी पङ्क्ति स्मरणीय छन्–
कांग्रेसमा कर्मठ नै थिएं, कम्युनिस्टमा क्रियशील नै थिएं, संयुक्त प्रजातन्त्रको प्रजातन्त्रवादी म नै थिएं, तराई कांग्रेसको तराईवादी पनि म नभएको होइन भने यहाँ भन्दा बढी राजनीतिक पृष्ठभूमी भएको नेता यस देशमा अरु को छ ? (पृ.१२) ।
४. साँचो गफ–
यस निबन्धमा काठमाडौंको बसयात्रा र महिलाप्रतिको पुरुष व्यवहार व्यङ्ग्यात्मक रुपमा प्रस्तुत छ । सामाजिक विसङ्गतिको हास्य मिश्रित व्यङ्ग्यमा प्रस्तुत गर्न यो निबन्ध प्रभावकारी छ । यस निबन्धभित्रका केही पक्ष यसप्रकार छन्–
कन्डक्टरले मसँग टिकटको पैसा मागे म श्रीमतीलाई रेफर गरिदिन्छु र मेरी श्रीमतीसँग टिकटको पैसा माग्नुभन्दा उनको लावण्यको स्वाद लिनु नै कन्डक्टरलाई पर्याप्त हुन्छ (पृ.१६)
वसमा बस्ने ठाउँ पैल्याउन सफल हुनु अचेल लोकसेवा आयोगको परीक्षामा सफल हुनुझै भइसक्यो (पृ.१७)
साँचो पनि गजबकै चिज हो, पाउनेलाई फुसफास, हराउनेको सर्वनास (पृ.१८)
एक हातले बसको डन्डा समातेकीले “स्लिभेस ब्लाउज” को वरदान स्वरुप उनका काखीका काला रौँ हावामा उडिरहेका थिए विशुद्ध लामाको बोकेदारी कहिलेकाहीँ हावामा फरफराए जस्तै (पृ.२०)
५. प्रभुजी मलाई पियक्कड बनाऊ–
यसमा साहित्यिक क्षेत्रको विसङ्गति पस्तुत छ । लेखनका नाममा पियक्कड भएर प्रतिभाको उचाइ प्रस्तुत गर्नेहरुप्रति व्यङ्ग्य छ । यसमा पनि हास्यमिश्रित व्यङ्ग्यको प्रयोग छ, जस्तै– जङ्गा हुने स्वास्नीमानिस र प्रतिभा नहुने लोग्नेमानिस विरलै पाइन्छन् (पृ.२३) ।
मोक्ष पाउनको निम्ति ठर्रा उपयुक्त साधन रहेछ भन्ने तथ्यले मेरो बोधो मगजमा यसप्रकार जरो गाडेको छ, जसप्रकार राष्ट्रवादी नेताहरुको मानसपटलमा ‘आफ्नो सेवा नै देशको सेवा हो’ भन्ने निर्विवाद तथ्यले जरो गाडेको छ (पृ.२४) ।
बेलुका चार बजेपछि उसको मुख बाङ्गिन थाल्दथ्यो र जति जति समय बित्दै जान्थ्यो, उसको मुख पनि त्यही अनुपातमा रगत पक्ष नै भयो । ‘परोपकार’ मा गई चिरिएको मुखमा चार टाँका लगाएपछि बल्ल बल्ल इज्जत जोगियो (पृ.२५) ।
६. लेखक होइन सम्पादक बन्नोस्–
यस निबन्धमा पनि लेखन क्षेत्रका विकृतिप्रति आवाज उठाइएको छ । एकातिर लेखनको क्षेत्रमा लघुता उदाङ्गिएको छ भने अकौतिर सम्पादन क्षेत्रका विकृति प्रस्तुत छ । यसरी नै अनुवाद, जीवनी लेखन ५ वटा पुस्तकबाट छैटौँ पुस्तक तयार पार्ने तरिका, प्रकाशकको दुष्ट्याइँ आदि पनि यस निबन्धमा व्यङ्ग्य छ । यस निबन्धमा प्रस्तुत स्मरणीय भाव यसरी टिप्न सकिन्छ–
नेपालमा लामखुट्टे बढे झैँ, व्यङ्ग्य लेखक पनि बढ्न थाले, भविष्यमा तिनकै बहुमत हुनेछ (पृ.२९) ।
व्यङ्ग्य लेख लेख्न न कुनै योग्यताको, न कुनै अनुभवको, न शैलीको, कहाँसम्म भनुँ बुद्धिको समेत आवश्यकता पर्दैन (पृ.३०)
लेखकहरु आफै लेख्दछन् र पढ्छन् पनि आफै नै (पृ.३०)
७. कर्मठ सम्मेलन–
यो सङ्ग्रहको अर्को निबन्ध हो । यसमा सम्मेलनका नाममा हुने गरेका राजनीतिक भ्रष्टताको स्पष्ट आलोचना छ । राष्ट्र राष्ट्रियताप्रति संवेदनाहीनहरुले राष्ट्रिय अस्मिताका बारेमा गर्ने सम्मेलनको कुनै अर्थ नहुने तथ्य यसमा प्रस्तुत छ । यसमा नियतप्रसाद सिंह कत्यफल केडिया, विवेकप्रसादजी, असीमकुमार टण्डन, प्रीतिमायाको परिचय र भाषणबाट राष्ट्रियताको यथार्थ प्रस्तुत छ । यस प्रसङ्गमा निबन्धका यी पङ्क्ति स्मरणीय छन्–
विदेशी वस्तुको उपयोग हाम्रो निम्ति अभिशाप हो । हाम्रो राष्ट्रियता पिच्च...पिच्च नेताजीले भित्तामा पानको पिकले आफ्नो कला प्रदर्शन गर्नुभयो (पृ.२७)
राष्ट्रभाषा मै बोलुँ तो राष्ट्रभाषा दूषित होस्सी । जे है से, एस लिए, मैँ मारवाडी मेँ बोल रिया हुँ (पृ.३५)
एकाएक हा...आ... छिउँ मात्र प्रीतिमायाले के गर्नु भएको थियो, उहाँको चरागुडेँ कपाल त मञ्चबाट तल खस्न पुग्यो (पृ.३९)
८. जय नरधूप जय चुरोट–
निबन्धमा मानिसको चुरोटप्रतिको नशालाई “ जय नरधूप” भनिएको छ । यसमा लेखकहरुको आदतलाई विशेष व्यङ्ग्य गरिएको छ । यस्तै चुरोटपे्रमीको स्थितिको चित्रण पनि छि । यस सन्दर्भमा यो टिप्पणी स्मरणीय छ–“आदिकविको चिलिमको पातो सेलाए ‘मूडअफ’ हुन्थ्यो, महाकविको प्रमुख पान पनि यही थियो, जनकविले पनि यसको मर्मलाई कम गरी अवश्य नै आँक्नु भएको छैन होला भने कताकता कविहरुको र नरधूपको एउटै गोत्र त हुँदैन भनी सोच्न बाध्य हुनु अवश्य नै मुर्खता हुने छैन (पृ.४१) ।” चुरोटको मात्राले चुरोटका विपक्षमा तान्दैन भन्दै चुरोट नै मानिसलाई चढाउने धूप भएकामा यसको जयकार गर्नुपर्ने व्यङ्ग्यात्मक भाव यसमा परिपाक भएको छ ।
९. भुँडीसेवा नियमावली–
यो निबन्ध भुँडीमा केन्द्रित छ । भुँडीका कारण मानिसले गरेको कार्य, उसको व्यस्तताका पृष्ठभूममिा भुँडीसेवा संस्थाको बोध गर्दै यो निबन्ध लेखिएको छ । यो निबन्ध संस्थाको विधानका रुपमा लेखिएको छ । सामाजिक संस्थाका नाममा भुँडीसेवा गर्ने वृत्तिप्रति व्यङ्ग्य छेड्न यो निबन्ध केन्द्रित छ । यो निबन्ध विधानका ढाँचामा प्रस्तुत छ ।
१०. ‘मपाईँ’–
यस सङ्ग्रहको शीर्षक निबन्ध मपाईँ हो । यसमा पनि लेखाक्षेत्र अर्थात् साहित्यिक पक्ष नै व्यङ्ग्यरुप आएको छ । निबन्धकार लेखक अङ्कका सन्दर्भमा पारिवारिक वृत्तसहित आफ्ना बारेमा आफै मपाईँत्व प्रदर्शन गर्न पाएकामा खुसी छन् । मपाईँवृत्ति लेखकहरुको समस्या भएको सन्दर्भ पनि यिसमा आएको छ । यस प्रसङ्गमा निबन्धका यी वाक्य स्मरणीय छन्–
घाट पु¥याएको रोगीलाई फर्काएर घर ल्याउँदा परिवारका सदस्यहरु प्रसन्न भएझैँ “रुपरेखा” ले लेखकांक प्रकाशित गर्ने खबर सुन्दा म पनि बडो प्रफुल्लित भएँ (पृ.५४) ।
व्यङ्ग्य लेखनमा मेरो रुचि हुनाको कारण हो बुद्धिको कमी र गफ हाँक्न बढी जान्ने (पृ.५५) ।
मेरो प्रतिभाको विस्फोटनबाट अर्यालको वाक्य बन्द भयो, लुइटेलको भनी हरायो, पाँडे साँढे धपाउन हिंडे (पृ.५६) ।
नयाँ तर वर्णसँकर शब्द, नयाँ तर अनौठो शैली र नयाँ किसिमको प्रस्तुतीकरण नै मेरो लेखको विशेषता हो । म महान् व्यङ्ग्यकार, म आधुनिक लेखक, म विशिष्ट साहित्यकार (पृ.५७) ।
११. सतर्क हुनुहोस्–
यस निबन्धमा सी.आई.डी.मा नाममा भएको ठगी, बगलीमार । वृत्तिमा व्यङ्ग्य छ । धार्मिक खोलभित्रको यो वृति बेठीक छ र यात्रामा ठेलमठेल भएर बगली मार्ने वृत्ति पनि खराब हो भन्दै यसमा सतर्क हुन आह्वान गरिएको छ । यसमा वस्तु परिपाक हुन सकेको छैन । यस निबन्धका केही पङ्क्ति स्मरणीय छन्–
परम छिमेकी भित्र–मुलुकबाट प्रत्येक वर्ष शिवरात्रीको शुभमुहूर्तमा पशुपतिनाथको दर्शन र बगलीको बेपार गर्न पदार्पण गर्दछ (पृ.६२) ।
बगली लगायत दिलसमेत मार्नेलाई भने हाम्रो समाज पछ्याउन खोज्दछ र बगली मात्र मार्नेलाई भने सजाय दिने ? न्यायको यो विषमता देखेर झन्डै बी.एल.क्लास ज्वाइन गरुँ कि जस्तो लाग्यो (पृ.६५)
१२. मैले पनि पिउन सिकें
यस निबन्धमा पिउने आदतका बारेमा चर्चा छ । गजडी, रक्सीवाज, जड्याहा, भँगडची आदिका लत र समवेदनाहीन उदाहरणबाट सामाजिक विकृतिप्रति व्यङ्ग्य गरिएको छ, जस्तै–
अम्मलीहरुमा यो रोगको साथै आफ्नो अम्मलबाहेक अरु अम्मलको कडा आलोचना गर्ने बानी (लाचारी) ठीकै त्यसै गरी पाइन्छ जसरी पद गुमेका नेताले पदमा बहाल रहेकाहरुको विरोधमा तर्कदिने वानी लगाएको हुनछ (पृ.६८) ।
आखिर भाषाको भाइसेक्टोमी गर्न नसके त पत्रपत्रिका खल्लो भइहाल्छ भन्ने धारणाबाट जबर्जस्ती अपरेसन गर्ने प्रचलन पनि त समाजले नै ल्याएको हो (पृ.७२) ।
१३. देशले प्रगति गर्ने महान् आशंका–
यस निबन्धमा पनि राजनीतिक विसङ्गतिलाई मूल विषय बनाइएको छ । निबन्धमा सात राशिको चर्चा छ । ती सात राशिमा नेता राशि, मन्त्री राशि, महापंच राशि, जिल्ला सभापति राशि, उपसभापति राशि,
सभासद राशि र प्रधानपञ्च राशिको चर्चा छ । पञ्चायती व्यवस्थाको यस संयन्त्रमा देशले प्रगति गर्न नसक्ने स्थितिको व्यङ्ग्यात्मक प्रस्तुति यसमा छ । निबन्धका अन्तमा भनिएको छ– कर्म क्षेत्रमा सात ग्रहको जम्काभेट हुने योग परेको हुँदा यस वर्ष प्रस्ताउ पारित गरिएको सुसमाचारहरु रेडियोबाट सुन्न पाइने छैन र हेर्न इच्छा भएमा पोहोर सालको पुराना अखबारहरु पल्टाउन पर्ने हुन्छ । यसो हुँदा देशले प्रगति गर्ने महान् आशंका र भयले जतना जनार्दनलाई आजैदेखि पिरोल्न थालिसकेको छ । (पृ.८०)
१४. खाद्यसामग्री
खाद्यसामग्री सामाजिक पक्षमा केन्द्रित निबन्ध हो । यस निबन्धमा समाजका विविध पक्षको बारेमा चर्चा छ । पेट भर्न खानै पर्ने बाध्यताले सिर्जना गरेका विकृतिको सटिक चित्रण यसमा छ । जाँड, काट्टो, अपुताली, घुस लगायतलाई चौरासी व्यञ्जन ठान्ने प्रवृत्तिको विरोध यसमा छ । त्यसैले पेटको मात्रै सोच भएका नेपालीप्रति भनिएको छ– पेट भरिभराउ रहने हुँदा हामी नेपाली धुस्तिघ्रे र स्थूल छौँ र त्यही अनुपातमा हाम्रा आचार–विचारहरु पनि जव्बर र मोटा छन् । पेट नै देशको भण्डार हो (पृ.८१) ।
१५. नेपाली साहित्यमा आधुनिकवाद–
यो साहित्यमा केन्द्रित निबन्ध हो । आधुनिकतााका नाममा दुर्बोध्य लेख्नु उपयुक्त होइन र यस किसिमका अर्थहीन रचनाको युगिन मूल्य हुँदैन भन्ने मूलस्वर यसमा छ । आधुनिक रचनामा वैचारिक पक्ष कमजोर, विधागत चिन्तन नपाइने तथ्य पनि उजागर गरिएको छ । आधुनिकताको प्रयोग लघुकथा, कविता, नाटक, समालोचना वा पुस्तक परिचय, हास्यव्यङ्ग्य लेखमा गरिएको छ । यस क्रममा निबन्धमा भनिएको छ– व्यवहारमा आधुनिक रचना भन्नाले दुर्बोध्य र विदेशी वर्णसङ्कर शब्दको स्वच्छन्द प्रयोग गरी रचिएका लेखनिबन्ध आदिलाई जनाउँछ (पृ.८६) ।
१६. भाषण–महात्म्य–
यो राजनीतिक क्षेत्रको निबन्ध हो । यसमा राजनीतिक फर्मुला यसप्रकार दिइएको छ– स्वार्थ+बेइमानी+औसरवाद–विवेक= राजनीति (पृ.९३) । यही पुष्टि नै यस निबन्धको मूल पक्ष हो ।
१७. गोतामे परिवारको आदर्श–
यस निबन्धमा पारिवारिक वृत्त नै मूल रुपमा प्रस्तुत छ । लेखक आफ्नो पुख्र्यौली आदर्श प्रस्तुत गर्न उद्यत छन् । यस्तै आफू लेखन कर्म र हास्यव्यङ्ग्य लेखनमा केन्द्रित हुँदाको तथ्य पनि यसमा प्रस्तुत छ ।
यस निबन्ध सङ्ग्रहमा समाज, जीवनभित्रका सीमित पक्षलाई प्रस्तुत गरिएको छ । यही नै ‘मपाईँ’ को सीमा हो ।
ङ. ‘मपाईँ’ का निबन्धको निबन्धकारिता–
‘मपाईँ’ निबन्धभित्रका १७ वटा निबन्ध र ती निबन्धको परिचयात्मक टिप्पणी पछि यस सङ्ग्रहका निबन्धहरुको विश्लेषण गर्नु सान्दर्भिक नै हुन्छ । यस सङ्ग्रहका निबन्धको विश्लेषण निम्नलिखित आधारमा गर्न सकिन्छ–
१. वस्तुक्षेत्र–
यस निबन्धसङ्ग्रहका निबन्धमा मूल रुपले सामाजिक राजनीतिक र साहित्यिक विषय नै प्रस्तुत भएको छ । यी क्षेत्रका विसङ्गतिलाई मूल पक्ष बनाएर यस संग्रहमा अधिकांश निबन्ध लेखिएका छन् । यसका साथै सम्पादन पक्ष,व्याकरणिक अदक्षता आदि पक्ष पनि आएको पाइन्छ । लेखकको पारिवारिक वृत्त या जीवनवृत्तिका पक्ष पनि विषयवस्तुका रुपमा प्रस्तुत गरिएको पाइन्छ । लेखक पारिवारिक, सामाजिक र राष्ट्रिय वृत्तबाट मुक्त हुन सकेका छैनन् । यसलाई वस्तुविधानमा सीमा नै मान्नुपर्छ ।
२. आत्मपरकता–
यस सङ्ग्रहका सबै निबन्ध आत्मपरक शैलीमा लेखिएका छन् । सबै विषयमा लेखक आफ्नो अनुभूति सुनाउन र आफूलाई उभ्याउन लेखक स्पष्ट या सचेत छन् । यही गुण नै निबन्धको आत्मपरकता हो । आत्मपरकताभित्रको केन्द्रीयतामा अन्य शैली जेलिएको छ । कतै विवरण, कतै वर्णन अनि विधान ढाँचा, पत्रात्मक, भाषाशैलीको पनि प्रयोग पाइन्छ । यी विविधतामा आत्मपरकता जोडिएको छ ।
३. व्यङ्ग्यको प्रधानता–
‘मपाईँ’ निबन्धमा हास्यभन्दा व्यङ्ग्यकै प्रधानता छ । लेखकले हास्य भावका लागि सामाजिक विकृतिलाई उठाए पनि त्यसलाई परिपाक पारेका छैनन् । कतै कतै सहज हास्य आएको छ । समसामयिक जीवन क्षेत्रमा जति व्यङ्ग्यात्मक अभिव्यक्ति छ त्यति नै साहित्यिक परिपाक भएको पाइँदैन । त्यसैले यस सङ्ग्रहलाई व्यङ्ग्यप्रधान निबन्ध भन्न सकिन्छ ।
४. अनुप्रासमय गद्य–
श्याम गोतामेको गद्य अनुप्रासयुक्त छ । यसले कवितात्मक मिठास दिएको छ । अनुप्रास गद्यको उदाहरणका लागि निम्नलिखित उदाहरणलाई हेर्न सकिन्छ— कसैलाई भुँडी भर्ने पीर, कसैलाई भुँडी घटाउने पीर, फलानीलाई
भुँडी फाल्ने पीर, चिलानीको भुँडी बोक्दैको पीर, जता हेर्नोस् उतै भुँडी नै भुँडीको पीर (पृ.४७) ।
५. उखान प्रयोग–
श्याम गोतामेले उखान प्रयोगमा विशेष जोड दिएको पाइन्छ । कतै सीधै उखान प्रयोग पाइन्छ त कतै आफ्नो अनुकूल उखान प्रयोग पनि गरेको पाइन्छ । यस्तै केही नवीन उखान बनाउने कार्य पनि यस सङ्ग्रहमा भएको पाइन्छ । जस्तै—
१. मानिसमा ईख र सर्पाम विष नभए काम पनि के लाग्यो र ?
२. बल्दो आगोमा यो अर्ती चाहिँ मेरो स्यानो घीउ थपाइ दियो ।
३. निसाफ नपाए गोर्खा जानु ।
४. नमुना नपाए नयाँ सडक जानु ।
५. बाँदरको पुच्छर लौरो न हतियार ।
६. मेरो गोरुको बाह्र्रै टक्का ।
७. यी त भए उहिलेका कुरा जो खुइलिसके ।
८. नानीदेखि लागेको बानी ।
९. एकोहोरो रोटी पाक्दैन ।
१०. ताक परे तिवारी नत्र गोतामे ।
११. हुने विरुवाको चिल्लो पात ।
१२. सत्रु खोज्नु परे दाजुभाइ मित्रु खोज्नु परे बिरालु ।
१३. साहित्यको यो विधा “लाटो देश” जस्तो छ । यसमा लेखकहरु गाँडा तन्नेरी ।
६. अङ्ग्रेजी शब्द प्रयोगमा रुचि–
यस सङ्ग्रहमा निबन्धमा अङ्ग्रेजी शब्द, वाक्याशं को प्रयोग अत्यधिक पाइन्छ । लेखकको यो पक्ष कमजोर नै देखिन्छ । यहाँ प्रयोग भएका केही शब्द यस प्रकार छन्– एब्स्ट्रयाक्ट, फूड सेन्टर, इन्रेस्टिङ्ग, लिस्ट, पोलीटिकल, सफार, व्याकग्राउन्ड, लन्च, इन्भाइट, डाइग्नोसिस, सिम्पोसियम, बोनीफाइड, एथलेटिक, म्याटरी सिजन, ड्रप प्रेजेन्ट, हेल्थ, पपर्टी, मिस्टर, लेडिज ड्रिङ्क, एज फार इक्जाम्पल, ड्रिङ्क डे–फ्राइ डे, आइडिअल डोज, हाफ ग्लास, वन्ली, इन्केरियारिटि कम्प्लेक्स आदि ।
७. आलङ्कारिता–
यिनले उपमाको प्रयोगमा विशेष दक्षता देखाएका छन् । यसका साथै विविध अलङ्कारको प्रयोगमा पनि उनको विशिष्टता छ । उपमा, रुपक, दृष्टान्त, स्वभावोक्ति आदि अलङ्कारको प्रयोग निबन्धमा पाइन्छ । उपमा प्रयोगका सन्दर्भमा भैँसीका झैँ ट्वाल्ल परेका आँखा, फर्सीको झोल जस्तो चियाको चुस्को, प्रसिद्धि र गाली साहित्य र राजनीति झैँ एउटै गाडाका दुई पाङ्ग्रा हुन् आदि स्मरण गर्न सकिन्छ ।
च. निष्कर्ष–
मपाईँ लेखकको पहिलो कृति हो । यो प्रायः साहित्यिक विषयमा केन्द्रित छ । राजनीतिक र सामाजिक विसङ्गतिमा व्यङ्ग्य हिर्काउनु यसको विस्तारित पक्ष हो । निबन्धमा हास्यभन्दा व्यङ्ग्यको प्रयोग बढी मात्रामा आएको छ । आत्मपरक शैलीमा विविध ढाँचाको प्रयोग यसको विशेषता हो । यो प्रारम्भिक रहर भएकाले निबन्ध कला परिपाक हुन सकेको छैन । ‘खै खै’ को प्रभावबाट नरधूप र जय भुँडीको प्रभावबाट खाद्यसामग्री आदिको सोच भएजस्तो देखिन्छ । जेहोस्, उनको यो प्रथम रहरको गर्दन हास्यव्यङ्ग्यका क्षेत्रमा प्राप्ति नै हो ।

सन्दर्भसामग्री—
१. गोतामे, श्याम (२०२६) मपाइँ काठमाडौँ: पशुपति छापाखाना प्रा.लि
२. (२०३८) मपाइँ दो. संस्करण काठमाडौँ: कौवा प्रकाशन
३. भट्टराई, भरतकुमार (२०५८) हास्यव्यङ्ग्य सिद्धान्त काठमाडौँ: रमा भट्टराई ।
४. लुइटेल, नरनाथ (२०५८) नेपाली हास्यव्यङ्ग्य काठमाडौँ: सिस्नुपानी नेपाल ।
५. (२०५८) हास्यव्यङ्ग्यकार श्याम गोतामे काठमाडौँ: सिस्नुपानी नेपाल ।