सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

डरलाग्दा आशीर्वाद

Nepal Telecom ad

दशैंको टीका थाप्ने ऊबेला आफ्नो नाक सप्रेको लौका जस्तो त्यसै त्यसै हलक्क बढ्थ्यो । पिंढीमा लहरै बसेका पाका हजुरबा, आमै, बा, आमाहरूको अघिल्तिर पुगेर निधार थाप्ने बित्तिकै उहाँहरूका मुखबाट आशीषका वर्षा हुन्थे । आफूले कहिल्यै नसोचेको र थाहा नपाएको ठूला मान्छे बन्ने स्वादिला आशीर्वाद । टीका लगाइदिने मान्यजनलाई आफूले हातमा एकसुको थमाए पनि निकै महँगा आशीष सुन्न पाइने । डाँडामाथिको घाम जस्ता हजुरबा र आमैहरूको मुखबाट राजा र मन्त्री बनेस् भन्दा तलका पद नै उच्चारण हुन्नथियो । दुनियाँमा राजा र मन्त्री बाहेक ठूला र राम्रा मान्छे अरु केही छैन भन्ने उहाँहरूलाई थियो । त्यसैले जसले निधार थापे पनि उहाँहरू राजा र मन्त्री भएस् भन्नुहुन्थ्यो । सुनेर जतिसुकै मख्ख परे पनि आफूलाई यी आशीर्वादप्रति पहिलेदेखि नै शङ्का लागेको हो । मलाई मात्र होइन, यसलाई उसलाई जसलाई पनि उहाँहरूले यसै भन्नुहुन्थ्यो । मन्त्री धेरै हुन्छन् भन्ने थाहा भए पनि राजा त आफूले एउटै मात्र सुनेको ।
हजुरबा र आमैहरूले भनेजस्तो हामी सबै केटाकेटी पछि एकैपटक राजा हुन कसरी सम्भव छ ? पालैपालो हुन पनि कसले मान्ने ? मै त मान्दिन । मलाई पनि छिटो हुनुपर्ने, अर्कोलाई पनि । हजुरबा र आमैहरूले भनेजस्तो राजा हुन सकिन्न भन्ने लागेको थियो त्यही बेला । पछि बुझ्दै जाँदा थाहा भयो, जो पायो त राजा हुनै नपाइने रैछ । त्यही बंशको पनि जेठो हुनुपर्ने । आफू जेठो भएकाले अलिअलि आश भए पनि अकैं वंशले त्यो आश पनि नाश गर्यो । पहिलेदेखि नै निराशा लागेको यो पद पछि हुँदै जाँदा सस्तिन थाल्यो । भएका एउटा राजा पाखा लागे । नवराजाहरूको लर्को लाग्न थाल्यो । एउटाको सट्टा धेरै राजा हुने क्रम बढ्न थालेपछि पहिले हजुरबा, आमैहरूले दिएको आशीर्वाद पूरा हुने हो कि भन्ने आशा फेरि बलियो हुन थाल्यो ।
ऊबेला फरकफरक लाग्ने राजा र मन्त्री अब त उस्तै जस्तो । सबै मन्त्री राजा जस्ता । सबै नेता मन्त्री जस्ता । अर्थात सबै राजा जस्ता । त्यसैले होला अहिले पाका बा आमाहरूले आशीर्बाद दिँदा राजा नभनेर मन्त्री बनेस् मात्र भन्नुहुन्छ । दशैंको बेला मन्त्री भएस् भन्ने उहाँहरूले अरुबेला बाटोघाटो र आँगन पिँढीमा भेट हुँदा दर्शन गर्ने बित्तिकै ‘चिरञ्जीवी’ भएस भन्नुहुन्छ । कहिलेकाहीं ‘जय’ होस्, भविष्य ‘सुन्दर’ होस् भन्ने कामना र चाहना पनि उहाँहरूको मुखबाट सुन्ने गर्छु । यसो भन्दा मलाई मन्त्री भएका तिनै चिरञ्जीवी, जयप्रकाश र श्यामसुन्दरहरूको याद आउँछ ।
पहिले सध्दे र राम्रो देखिने मान्छेले आफ्नो नामको अघिल्तिर मन्त्री झुण्ड्याएपछि त्यसै त्यसै बिग्रने रहेछ । एउटा आलु कुहिएपछि सँगै रहेकाहरूमा दाग नलाग्ने कुरै भएन । यो त जगजाहेर कुरा । त्यसैले पहिले आशीर्वाद सुनेर दङ्ग हुने मलाई हिजोआज यी आशीष र कामना सुन्नुपर्ने हो कि भनेर डर लाग्न थालेको ।
भट्टीमा खोयाबिर्के पिएर दोबाटोमा मनपर्दी बोलेर उफ्रने हाम्रा गाउँका अन्तरे दाइ र मन्त्रीमा फरक हुन छाड्यो । खान हुने नहुने, बोल्न हुने नहुने, गर्न हुने नहुने सबै काममा यिनै मन्त्री पोख्त । दुनियाँले छिछी र दूरदूर गर्ने यी अनुहार देख्ने र सम्झने बित्तिकै हिजोआज तपाईंलाई जस्तै मलाई पनि बान्ता आउन खोज्छ । तैपनि बाआमाहरू मन्त्री भएस्, चिरञ्जीवी भएस, जय होस्, भविष्य सुन्दर होस् भनेर आशीर्वाद दिन छाड्दैनन् । धन्न अहिलेसम्म यो आशीर्वाद लागेको छैन । नलागोस् पनि । तर के बेर धामीझाँक्री र बैद्यको विश्वास गर्ने जमात बाँकी नै रहेको अवस्थामा मलाई पनि कसैले टुनामुना लगाएर आशीर्वाद लाग्ने बनाइदिने हुन् कि ? मान्नुपर्ने मान्छे बाटोमा भेटिएलान् र दर्शन गर्ने बित्तिकै आशीर्वाद देलान् कि भनेर मुटु ढुकढुक भैरहेको छ ।
धादिङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
फेसबुकमा हरियो सारी र फुलेको दारी !

फेसबुकमा हरियो सारी र...

मिलन तिमल्सिना
फेसबुकमा हरियो सारी र फुलेको दारी !

फेसबुकमा हरियो सारी र...

मिलन तिमल्सिना
नेताजीको म्याद

नेताजीको म्याद

मिलन तिमल्सिना