साँघुरो घैंटोभित्र माटो जमाएर
उमारिएको वटवृक्षझैँ
मैले आफ्ना दुइटा हाँगाहरू फैलाएँ
र म ओइलाएँ
आफ्नो वरिपरि निसासिँदो पर्खाल पाएर
अनि मैले मुक्त वायुमा सास फेर्न ठिङ्ग उभिएका
आफ्ना पाँच नाङ्गा औँलाहरू पट्याएँ
प्रकाशनको खोजीमा दगुरेका
आफ्ना हस्तरेखाहरूलाई पछाडि फर्काएँ
र अब म आफ्नै मुट्ठीभित्र बन्द छु
आफ्नै कठोरताभित्र कैद छु
तर कुनै दिन
तिमीले चिन्न सके आफूभित्रको बतासलाई
र प्रकाशलाई तिमीले
जान्नेछौ कि बाहिरबाट जतिसुकै
कठोर भए पनि भित्र–भित्रै
म कोमल छु
यो बन्द मुट्ठीभित्र हत्केलाझैँ !

‘शारदा’ २०१८ साल