सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

महान् मान्छे

Nepal Telecom ad

सृष्टिले पाएको सुन्दर उपहार हो मान्छे । मान्छे आफैँ सृष्टिको सुन्दर हुँ भनी गर्व पनि गर्छ । गर्व शब्दको अर्थ शिष्ट सभ्यता जनाउ दिने ‘स्वाभिमान’ भन्ने हो र मान्छेले डेढअक्कल थप्छ र गर्व शब्दलाई घमण्ड शब्दको विशुद्ध पर्यायवाची मान्छ । त्यसै अनुरूप व्यवहारमा प्रयोग गर्छ । आफू सृष्टिको अङ्ग भएको हुँदा अङ्गमा विकार थपिनु हुँदैन भन्ने मर्म बिर्सन्छ, पहिचान धमिल्याउँछ । आजका युवायुवतीले मलमूत्र पान गरेर हुर्काउने आमाबुबाको देन जस्तै सजिलै बिर्सन्छ । उसकै बिरासतबाट विडम्बनाहरूले मानवतामा प्रवेश पाउँछन् । विडम्बनाको प्रवेश विसङ्गतिलाई सहरा मिल्छ, मौलाउन थाल्छ ।

सृष्टिभित्र धेरै जीव समेटिएका छन्, ‘जलचर, थलचर उभयचर’ तिनीहरूको वर्गीकरण पनि पाइन्छ, मान्छे, विशेष अस्तित्व पाएको प्राणी हुँ भन्छ, गर्व गर्छ । आफ्नोे हर्षेेन्मादले अन्य वर्ग अझ भनौँ स्ववर्गीयमा कस्तो प्रभाव दिन्छ ? ऊ भुसुक्क बिर्सिदिन्छ । मङ्सीरमा सातवटी श्रीमती बटुल्ने र पुस लागेपछि चिन्न छाड्ने मुसाले झैँ आफ्नोे सुन्दरता बिर्सन्छ, सचेतता बिर्सन्छ, नैतिकता थाती राख्छ । राजा परीक्षित स्वर्णमुकुटका बस परेर तपस्वीलाई मरेका सर्पको माला लगाइदिन पुगेसरी मान्छे गुन्युमा अल्झन्छ, चौबन्दीमा बाँधिन्छ, अरूलाई थिच्छ जितँे भन्छ, मक्ख पर्छ, आफैँ थिचिन्छ, डङलङ्ग लड्छ, उठ्न खोज्छ, भित्ताको सहारा लिन्छ, प्रयास गर्छ, घैँटाले ढुङ्गामा आफैँ अडिदिने ठाउँ बनाए झैँ प्रयत्न गर्छ । वरिपरि नियाल्छ । जून डाँडापारि पुगिसकेका हुन्छन् । मान्छे टोपी झिक्छ, घुँडालाई लाइदिन्छ, सुस्केरा काट्छ । छिमेकीहरू समवेदनाका शब्दहरू खर्च गर्छन् । ती शब्द अर्थशून्य भई हराउँछन्, फेरि अरू कतै प्रयोग हुन पाइएला कि प्रतिक्षासूचीमा अड्किन्छन् ।

सृष्टिले सृष्टि गरेका जीवनको सङ्घर्षमा हजुरबाका दन्ते कथा र विज्ञानका प्रामाणिक अभिव्यक्ति जहाँ खोजे पनि सन्तुष्टिको पर्खाल चुलिन पाउँदैन । उल्टो तर्क कुतर्कको बाँध फुट्छ, खहरेमा कत्लेमाछाले मेसो नपाए झैँ मान्छे अन्यौलको भुमरीमा जाकिन्छ । कर्तव्यको पाटो बिर्सेको मान्छे आँगनभरि छरिएका आदर्शलाई कुबेरले तोरी टिपेजस्तै औँला चाटेर बटुल्न चाहँदैन, सक्तैन र जान्दैन पनि । मान्छेको मस्ती त स्वर्गमा जति सक्दो खोट देखाए चोट दिनुमा छ, भोट लिनुमा छ, दायित्व बिर्सिनुमा छ, आश्वासन दिनुमा छ, नैतिकता र स्वाभिमान बेच्नुमा छ । त्यसैले त मान्छे मान्छेलाई सुहाउने कामबाट जुटेको माम खाएर अघाउँदैन यो त उसलाई मन नमिल्ने मान्छेको सास गनाएजस्तो हुन्छ, यसमा दुईमतै छैन । छँदै छैन ।
जातीय स्वाभिमान र राष्ट्रिय गौरवमा भन्दा बढी आनन्द मान्छेलाई वैयक्तिक अभिमानको डङ्गुरमा आउँछ, अझ सबैतिर दुर्गन्ध पुग्ने गरी फोहोरिन पाए त झन् आनन्दकै बाढी आउँछ । स्वर्गीय अस्तित्वमा प्रश्न तेर्सिएर उछिट्टिनु परे के भो त ! अर्काेतिरको डङ्गुरमा पुगेर फरक स्वादमा घुर खान पाइन्छ । जब कुवाभित्र उफ्रिने भ्यागुताले संसार यही हो भनेर दाबी गर्न मिल्दछ भने मान्छेले सृष्टिकै सुन्दर हुँ भनेर घूस नखाई बोल्न किन मिल्दैन ? नमिल्ने भए शिरोमणिले “म खाउँ, मै लाऊँ … ” भनेर दार्शनिक काव्य लेख्थे ? जसमा अहिलेका मान्छे लट्ठिएर घुम्न पाएको छ । आफू कहाँनेर छु भनी स्थान नखुटिएर के भो त घूसको पैसाले जुस हसुर्न रोक लागेको त छैन नि । घरले जा–जा, बनले आइज, आइज उमेरका बूढा–बूढालाई झलमल्लमा अलमल हुन्छ, होस् हामी त तिनकै काख थिचेर हुर्केका सन्तान हाम्रो धाक, रवाफ, धम्की र ध्वाँस नपत्याएर हुन्छ ? अभिभावक त्यसै भइन्छ ? रोलक्रममा आफू कहाँनेर परिन्छ त्यो पछिको कुरा हो तपशीलको सन्दर्भ हो महासय ! मलाई अलपत्र पार्ने काम नगर्नुहोस् बरु तपाईं आफ्नो पत्तो पाउनुहुन्न भने अलपत्रमै जिब्रो टोक्नुहोस्, खुट्टा तान्नुहोस्, माटो खानुहोस् र स्वर्गे भएको शब्द सत्कारमा भूतको कथासँग गाँसिनुस् । यो मान्छेको महानता बाँचिरहोस्, बाँच्न दिनुहोस् ।

मान्छे सृष्टिकै असल उपाधि दुरूपयोग गर्ने कमसल कामको पारखी हो क्यार ! मान्छे बाहेक सृष्टिका प्राणीहरूले आपस्तमा धोका बाँड्दैनन् । मीठा चिल्ला कुरा गरेर झुक्याउँदैनन् । आ–आफ्नोे स्वभावअनुसार व्यवहार गर्छन् । नपत्याए महासयले बाघलाई घाँस र खसीलाई मासु खुवाएर परीक्षण गर्नुहोस् त परिणाम के आउँछ ? तर मान्छे घाँसपातदेखि कीराफट्याङ्ग्रा केही छाड्दैन । यहाँसम्म मान्छेको रगत छाड्दैन, पसिना छाड्दैन । प्राणी मात्रमा सदभावना राख्छु भन्छ, ढ्याङ्ग्रो ठोक्छ, ललाइफकाई चिल्लो घस्छ । खुम्चिँदै मानवताबाट, जातीय, स्ववर्गी, पारिवारिक हुँदै आफूमा आइपुग्छ । नपत्याए सुन्नोस् अर्काे उदाहरण घुम्न जाँदा सानो छोरा झुक्किएर पौडीपोखरीमा प¥यो, आमाले चिच्याई, बाउले चिच्यायो । यो पानीले मलाई नलगेर मेरो बाबूलाई किन लाग्यो ? रोएझैँ भयो, अर्काे दिनदेखि फेरि मस्तीमा सल्केर बाबु बिर्से । यसरी कति कतिलाई बिर्से, बिर्से । छोराछोरीले बिर्से, आमाबाबुले बिर्से, प्रेमीप्रेमिकाले बिर्से । कतै ऊ भन्दा पहिला मैले यो संसार छोड्छु कि ! सन्त्रासको सन्दुक सन्तानको चित्कार भन्दा बलियो बनेर मनमा लुकेको छ, लोभको कन्तुर स्वार्थको भकारी मान्छेको मपाईंत्व बिउँझाउन कस्सिएका छन् । यिनकै सफलता मान्छेको महानता ममा पुगेर टुङ्गिन्छ, मेटिन्छ, हराउँछ । सृष्टिको सार मान्छेको व्यवहारमा पाइने यथार्थ यही हो ।

मान्छेलाई मान्छेबाहेक अरु प्राणीबाट त्यति ठूलो खतरा छैन । पटक्कै छैन जति मान्छेबाट छ । मान्छे अभिभावक बन्छ, आफ्नो इच्छाअनुसार सन्तान डो¥याउन खोज्छ । मान्छे शिक्षक बन्छ, आफ्नो आदर्श बोकाउन चाहन्छ । मान्छे राजनीति गर्छ, नियमभन्दा बढी फाइदा खान्छ, नियमविपरीत कमाउँछ । मान्छे सहयोगी दाता बन्छ र अर्काेलाई निष्क्रिय पार्छ । मान्छे प्रेम बन्छ, धोका दिन्छ । मान्छे पदमा पुग्छ, त्यसैको दुरूपयोग गर्छ । मान्छे व्याससानमा बस्छ, अन्यायी ढुङ्गा बर्साउँछ । मान्छे कर्मचारी बन्छ, घूस खान्छ, हो, यिनै अरु प्राणीहरूमा नपाइने विशेषताहरू मान्छेमा पाइन्छन् । त्यसैले यो मान्छे सृष्टिकै सुन्दर मानिएको हो कि ! कस्तो रमाइलो मान्छे ! मान्छेकै विरुद्ध तँछाडमछाड गरी लडिरहेको छ । मान्छे हरेक कुरालाई आफ्नै बाउको सम्पत्ति सम्झेर, बिर्ता ठानेर ढलिमली गर्न खोज्छ । निमुखा प्राणी बसमा पारँे भनेर बहादुर बन्छ, मान्छेलाई झुक्याऊँछ र आफूलाई बुद्धिमान सम्झन्छ । घूस खाएर तुस पाल्ने निर्लज्ज प्राणी मान्छे यस्ते संस्कार भरिएको व्यवहार सिकाएर सन्तान समेत रोगी पार्ने कस्तो सुन्दर मान्छे ! यिनै प्रमाणका आधारमा लिन सकिने निर्णय हो । मान्छेको क्रूर प्रहारबाट जोगिन जाने मान्छे सुरक्षित हुन्छ, आत्मीय साइनो बाँच्छ, मान्छेमा संवेदना देखिन्छ । लाज नमानीकन “सृष्टिको सुन्दर उपहार हुँ” भन्न मिल्छ ।

मान्छेले देखेको सत्य र पचाएको तथ्य यस्तै छ । घाम झैँ छर्लङ्ग छ, दूध झैँ सफा छ, त्यसैले त मान्छेलाई डर पनि छ । ऊ त्रसित छ । कतै विसङ्गतिहरूको डङ्गुरले निकास पाउने र सुसङ्गतिमा विकास हुने त होइन ! चिन्ताले बोलेअनुसार व्यवहार गर्न बिर्सन्छ । पदअनुसार दायित्व बिर्सन्छ । मर्यादाअनुसार राष्ट्रियचिन्ह बिर्सन्छ । संवेदनानुसार आत्मीयता बिर्सन्छ । आवश्यकतानुसार सरसहयोग साट्न बिर्सन्छ । नीति नियम बिर्सन्छ । अन्तर्चेतनाले चिनाउने मर्म बिर्सन्छ । नैतिक आदर्श बिर्सन्छ । मानवीय धर्म बिर्सन्छ । शिष्ट आचरण र मानवसभ्यता बिर्सन्छ । असाध्य रोग बिर्सनेबाट मजा लिन पल्केको बिचरो मान्छे चाहेर पनि सम्झन सक्तैन किनकि बिर्सनुमा जति मजा सम्झनुमा हुँदै हुँदैन । कसैले बल गरेर सम्झन खोजे पनि बिर्सनेहरूको बिगबिगीले दिँदैन । सम्झनेको प्रयास पुग्दैन, भ्याउँदैन, सक्तैन र जान्दैन पनि । मान्छे यहीँनिर आइपुग्छ, बिडम्बनासँग ठोक्किन्छ, घुइँचो लाग्छ, संस्कार र संस्कृतिमा ‘कु’ थपिन्छ, थपिँदै जान्छ । मान्छेको मकुण्डोमा मान्छेहरूको हुलमाथि हुल लाग्छ अनि आजको परिणाम फेला पर्छ । अस्तु

हुवास–८, पर्वत

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पलङ

पलङ

डा. छायादत्त न्यौपाने ‘बगर’
कसो

कसो

डा. छायादत्त न्यौपाने ‘बगर’
साइनोका केही फाँकी 

साइनोका केही फाँकी 

डा. छायादत्त न्यौपाने ‘बगर’
परिणाम

परिणाम

डा. छायादत्त न्यौपाने ‘बगर’
हाम्रो शिक्षा

हाम्रो शिक्षा

डा. छायादत्त न्यौपाने ‘बगर’
साइनोका केही फाँकी

साइनोका केही फाँकी

डा. छायादत्त न्यौपाने ‘बगर’