उठान:

२०४६ सालको राजनीतिक परिघटनापछि हास्यव्यङ्ग्य लेखनमा ओर्लिएका स्रष्टाहरूको पनि एउटा ठूलै समूह तयार भइसकेको छ । अर्जुन पराजुली (२०२०), आर.सी. रिजाल, उत्तमकृष्ण मजगैयाँ (२००९), केशवदत्त वडु, कृष्ण धरावासी, गणेशकुमार पौडेल, गुरुराज अधिकारी, गोपीन्द्र पौडेल, चट्याङमास्टर, चूडामणि खनाल, जयराम शर्मा (२००२), डम्वर घिमिरे, डम्वरबहादुर डी., तिलकराम शर्मा, थरेन्द्र बराल, धीरेन्द्र प्रेमर्षि, नरनाथ लुइँटेल (२०१६), नवराज कार्की, प्रकाश प्रेमी (२००६), निर्मोहीशङ्कर पाठक, प्रल्हाद पोख्रेल, विमल भौकाजी, बमबहादुर थापा जिताली (२०१०), बी.आर. शर्मा, मनोज गजुरेल, मनोहर अधिकारी, माणिकरत्न शाक्य, मुन पौडेल, रविकिरण ‘निर्जीव’, राजव, राजेशमानसिंह, रामेश्वर लामिछाने, रामहरि बुढाथोकी, लक्ष्मण गाम्नागे (२०२३), विष्णु प्रभात, विश्व शाक्य, विवश वस्ती, सुरेश श्रेष्ठ, श्यामल, शालु, शिवप्रकाश, शिवप्रसाद पोखरेल, शिव सापकोटा, हृदयप्रसाद मिश्र (२०१९) आदि हास्यव्यङ्ग्य लेखक कविहरू ०४६ सालपछिको परिवर्तित परिस्थितिमा देखापरेका राजनीतिक, सामाजिक, आर्थिक र अन्य समसायिक विसङ्गतिमाथि तीव्र प्रहार गर्दै कलम चलाइरहेका छन् । ०४६ सालपछि लेखनमा सक्रिय देखिएका यी स्रष्टाहरूले कविता र निबन्ध विधालाई खास अभिव्यक्तिको माध्यम बनाएका छन् भने नाटक, रूपक, प्रहशन, चिठी–पत्रका रूप पनि फाटफुट देखा नपरेका होइनन् । यिनीहरूमध्ये पनि कतिपय सिङ्गै कृति लिएर उपस्थित भएका छन् भने कतिपय चाहिँ विभिन्न पत्रपत्रिकामा हास्यव्यङ्ग्य स्तम्भ लगायतका फुटकर रचनामै सीमित रहेका पनि देखिन्छन् ।
०४६ साल यता प्रकाशित हास्यव्यङ्ग्य कृतिहरूको सङ्ख्या पनि उल्लेखनीय रहेको देखिन्छ । रामेश्वर लामिछानेको ‘आलेको अन्तर्वार्ता’ (२०४७), रविकिरण निर्जीवको ‘सोझा निर्जीवका बाङ्गा निबन्धहरू’ (२०४७), हृदयप्रसाद मिश्रको ‘उद्घाटन’ (२०४७), सं. राजेन्द्र सुवेदी÷हीरामणि शर्मा पौडेलको ‘हास्यव्यङ्ग्य निबन्ध’ (२०४७), रमेश खनालको ‘हासौं’ (२०४८) वासुदेव लुइँटेलको ‘आत्मपुराण’ (२०४८), संं. मोहनराज शर्माको ‘हास्यव्यङ्ग्य कविता’ (२०४८), रत्नप्रसाद श्रेष्ठको ‘चुट्किला सङ्ग्रह’ भाग १ र २ (२०४८), (अनु.) चन्द्रमान बज्राचार्यको ‘आफन्तीको कथा’ (२०४९), बमबहादुर थापा जितालीको ‘धोती न टोपी’ (२०४९), कुलचन्द्र कोइरालाको ‘बाजे पुराण’ (२०४९), राजवको ‘माननीय बनोट’ (२०४९) रुद्र खरेलको ‘तपार्इंको नाम के हो ?’ (२०४९), रामकुमार पाँडेको ‘तालबेताल’ (२०४९), रमेश विकलको ‘अब अगाडि बढ्नु छ..’ (२०५०), भरतराज पन्तको ‘गुन्द्रुक’ (२०५०), लक्ष्मण गाम्नागेको ‘घिटिक घिटिक बाँचेर यो शहरमा’ (२०५०), जयराम शर्माको ‘तँलाई हरियो बाँस’ (२०५०), प्रकाश प्रेमीको ‘प र जा तन्त्र’ (२०५०), विश्व शाक्यको ‘पुड्के मान्छेको पुड्का कविताहरू’ (२०५०), मदनकृष्ण हरिवंशको ‘महसन’ (२०५०), रामहरि बुढाथोकीको ‘घरज्वाइँ’ (२०५०), चूडामणि खनालको ‘अन्तर्राष्ट्रिय पुड्के सम्मेलन’ (२०५०), रामकुमार पाँडेको ‘१०१ हास्यव्यङ्ग्य’ (२०५०), श्यामबहादुर लामाको ‘मेरो गोरु’ (२०५०) जस्ता कृतिहरूको प्रकाशन २०४६ पछि नै भएको देखिन्छ ।
त्यसैगरी राजेशमान सिंहको ‘अपरेशन’ (२०५१), केशवदत्त बडुको ‘ऐसा आया जमाना’ (२०५१), विश्व शाक्यको ‘कस्तो गधा रहेछ’ (२०५१), विष्णु प्रभातको ‘खुर्सानी पुराण’ (२०५१), हृदयप्रसाद मिश्रको ‘च्वाँक’ (२०५१), नरनाथ लुइँटेलको ‘छेपन’ (२०५१), नरेन्द्रराज पौडेलको ‘मङ्की स्टेट याने वानर राज्य’ (२०५१), डम्वरबहादुर डी.को ‘बोकाको मुखमा कुभिण्डो’ (२०५१), चूडामणि रेग्मीको ‘गजवास्टक १०८’ (२०५१), शंकर कोइरालाको ‘जनतालाई भोक रोग र शोक’ (२०५२), जयराम शर्माको ‘टिम्मुर’ (२०५२), कुलमणि देवकोटाको ‘२०५१ का कविता’ (२०५२), केशवदत्त बडुको ‘बाह्र व्यङ्ग्य’ (२०५२), रुद्र खरेलको ‘तोरीलाहुरे चोकमा एकछिन्’ (२०५२), शिवप्रसाद पोखरेलको ‘व्यङ्ग्यत्रयी’ (२०५२), तिलकराज शर्मा पौडेलको ‘पार्टी खोल्ने धूनमा’ (२०५२), बेनामीको ‘वासुदेव पुराण’ (२०५२) जस्ता हास्यव्यङ्ग्य कृतिहरू यही समयमा प्रकाशित कृतिहरू हुन् ।
त्यसै गरी विष्णु प्रभातको ‘खुच्चिङ’ (२०५३), शिव प्रकाशको ‘जय नेताजी’ (२०५३), नरनाथ लुइँटेलको ‘सिङ न पुच्छर’ (२०५३), वी.आर. शर्माको ‘अष्टवक्र’ (२०५३), गोपालराज मैनालीको ‘खुसुक्क भन्नुस् फच्या’ (२०५३), उत्तमकृष्ण मजगैयाँको ‘गृहलक्ष्मी भित्र्याएपछि’ (२०५४), ‘जय अवसरवाद’ (२०५४), ‘धरोधर्म हजुर’ (२०५४), ‘सुनको फुल पार्ने पोथी’ (२०५४), विश्व शाक्यको ‘यमराजको निम्तो’ (२०५४), अर्जुन पराजुलीको ‘आन्द्रालोक’ (२०५४), सूर्य ब. पिवाको ‘घुएँत्रो’ (२०५५), ‘झटारो’ (२०५५), मनोहर अधिकारीको ‘नेताको गलगाँड’ (२०५५), नरनाथ लुइँटेलको ‘चम्चा चिन्तन’ (२०५५), लेखनाथ भण्डारीको ‘बेमौसमका रागहरू’ (२०५५), मुन पौडेलको ‘सफलताका तीन मन्त्र’ (२०५५), भाउपन्थीको ‘चोर ∕ चोर ∕’ (२०५५), गणेशकुमार पौडेलको ‘मन्त्री पुराण’ (२०५६), चट्याङ मास्टरको ‘चट्याङगीता’ (२०५६), उत्तमकृष्ण मजगैयाँको ‘तिमी नरहे देश डुब्न्या छ’ (२०५६) विश्व शाक्यको ‘पशुमहापुराण’ (२०५७), माणिकरत्न शाक्य (सं.) ः ‘हास्यव्यङ्ग्यकार नालीबेली’ (२०५६), विष्णु प्रभातको ‘एघारौँ अवतार’ (२०५८) लक्ष्मण गाम्नागेको ‘३ न १३’, (२०५८) र ‘लाठीचार्ज’ २०६१, नरनाथ लुइँटेलको ‘बाँदरका हातमा नरिवल’ २०६०, चूडामणि वशिष्ठको ‘कुरा यिनै हुन..’ (२०६०) चट्याङ मास्टरको ‘चट्याङ गीता’ भाग २, ३, (२०६१) हरिकला उप्रेतीको ‘उपद्रो’ (२०६०), राहिणी विलास लुइँटेलको ‘अपराजय व्यङ्ग्य’ (२०६१), अविरामको ‘के छ हजुर ?’ (२०६२), नवराज कार्कीको ‘दनक’ आदि रहेका छन् ।
हास्यव्यङ्ग्य शैलीमा प्रवृत भएर २०४६ पछि आफूलाई निकै खरो र दह्रो सावित गर्ने स्रष्टाहरूमध्ये एकजना हास्यव्यङ्ग्यकार हुन् विश्व शाक्य । यद्यपि उनको साहित्यिक लेखनारम्भ २०४६ भन्दा निकै अगाडिदेखिकै हो । तीसको दसकदेखि नै हास्यव्यङ्ग्य लेखनमा क्रियाशील विश्व शाक्यको पहिलो हास्यव्यङ्ग्यात्मक कविता कृति भने ‘पुड्का मान्छेका पुड्का कविताहरू’ २०५० मा मात्रै प्रकाशित भएको देखिन्छ । २०३८ मा उनको पहिलो हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह ‘कृष्णउवाच’ प्रकाशित भएको थियो ।

हास्यव्यङ्ग्यकार विश्व शाक्य :
सुन्दर नगरी पोखराको तेर्सापट्टीमा २००६ सालको माघे सङ्क्रान्तिमा जन्मिएका नेत्ररत्न शाक्य नै वर्तमान नेपाली हास्यव्यङ्ग्य लेखनमा सक्रिय विश्व शाक्य हुन् । २०२२ सालतिर हाइस्कुले विद्यार्थी छँदा लेखिएको ‘सात्रक गोडा फाट” कविताबाट नै उनको हास्यव्यङ्ग्य लेखन आरम्भ भएको हो । (नरनाथ लुइँटेल ः नेपाली हास्यव्यङ्ग्य, सिस्नुपानी नेपाल, २०५८, पृ. १०९) हास्यव्यङ्ग्य शैली आगोसँग खेल्ने खेल हो । अलिकति तलवितल प¥यो कि कैले आफैंलाई पोल्छ, कहिले नजिककलाई पोल्छ (सं. माणिकरत्न शाक्य ः हास्यव्यङ्ग्यकार नालीवेली, सिस्नुपानी नेपाल, २०५६, पृ. ६२) भन्ने शाक्यको पहिलो हास्यव्यङ्ग्य कृति भने ‘कृष्ण उवाच’ (निबन्धसङ्ग्रह– २०३८) हो यसरी तीसको दशकदेखि हास्यव्यङ्ग्य लेखनमा हात हालेका विश्व शाक्यको कलम धेरथोर सबै विधामा दगुरेको देखिन्छ । हालसम्म शाक्यका प्रकाशित हास्यव्यङ्ग्य कृतिहरूमा ‘कृष्ण उवाच’ (२०३८), ‘कस्तो गधा रहेछ’ (२०५१) र ‘श्री पशुमहापुराण’ (२०५७) निबन्धसङ्ग्रह रहेका छन् भने, ‘पुड्के मान्छेका पुड्का कविताहरू’ २०५० प्रकाशित लघुआकारका कविताहरूको सङ्ग्रहका साथै ‘यमराजको निम्तो’ (२०५४, संशोधित संस्करण २०६०) कवितासङ्ग्रह प्रकाशित भएको देखिन्छ । ‘विकासे च्याङ्ग्रो’ (२०५९) भने प्रहशनसङ्ग्रहका रूपमा हास्यव्यङ्ग्यका पाठकहरूसामु प्रस्तुत छ । यी सबै कृतिहरू प्रवृत्तिगत आधारमा हास्यव्यङ्यग्यात्मक कृतिहरू हुन् । अतः विश्व शाक्यको साहित्यिक चिनारी मूलतः हास्यव्यङ्ग्यकारका रूपमा नै बनेको छ । यसैले प्रवृत्तिगत आधारमा उनी केशव पिंडाली, भैरव अर्याल, श्याम गोतामे, रामकुमार पाण्डे आदिद्वारा अभिसिञ्चित सिर्जनपरम्पराका भरोसालाग्दा प्रतिनिधि हुन आएका छन् । (हुमकान्त पाण्डे ः साधना–यात्रामा विश्व शाक्य, भैरव स्मारिका–२०६२, भैरव पुरस्कार गुठी, जोरपाटी काठमाडौँ)
यसरी हेर्दा हास्यव्यङ्ग्यकार विश्व शाक्यको लेखनको क्षेत्र निबन्ध, कविता र नाटक–प्रहशन तीनवटै विधामा बाँधिएको देखिन्छ । तीनवटै विधामा उल्लेख्य कृतिहरूको प्रकाशन पनि भएको छ । यहाँ यो आलेखमा भने उनको दुई वटा कविता कृतिमा आधारित हुँदै उनको हास्यव्यङ्ग्य लेखनमा रहेको विषयव्याप्ति तथा कविताशक्तिका बारेमा चर्चा गर्ने प्रयत्न गरिएको छ ।

‘पुड्के मान्छेका पुड्का कविता’ :
विश्व शाक्यका दुई वटा हास्यव्यङ्ग्य कविताकृतिहरू मध्ये ‘पुड्के मान्छेका पुड्का कविताहरू’ २०५० सालमा प्रकाशित कविता सङ्ग्रह हो । प्राङ्गण प्रकाशन, पोखराले प्रकाशित गरेको कुल ८० पृष्ठको यस कृतिमा ८० वटा छोटा कविताहरू सङ्गृहीत छन् । सङ्ग्रहका ८० वटै कविता गद्य अन्तर्लयमा संरचित छन् । आकारले मुक्तक भन्न सकिए पनि मुक्तकको संरचनागत मान्यताका आधारमा चार पङ्क्तिमा मात्र सीमित नरहेका यस सङ्ग्रहका कविताहरूले विषयको ब्यापकतालाई आत्मसात गरेका छन् । ‘सडक राजनीति’ सङ्ग्रहको पहिलो कविता हो । शहर आइपुगेको एउटा सोझो गाउँलेले शहरका सडकहरूमा आन्दोलनकारीहरूले विरोधस्वरूप गरेको पुत्ला दहनलाई गाउँले पारामै बुझेको र गाउँ फर्केर अरू गाउँलेहरूलाई बताएको प्रसङ्ग हाँसो उमार्ने खालको छ : 
ती सडक राजनीति गर्नेहरूका
दुइथरी बाउ हुँदारहेछन् ।
एक थरी बाउ मरे’सी,
खोलामा लगेर फाल्दारहेछन् ।
अर्काथरी बाउलाई भने पुत्ला बनाएर
चोक, बजारमा बाल्दा रहेछन् ।
विषयवस्तुका हिसावले यस सङ्ग्रहका कवितामा बुद्ध जन्मिएको देशका मानिसहरू हिंस्रक हुँदै गएको, कतिपय राजनीतिककर्मीहरूलाई उल्लूहरूको रूपमा आरोपित गरी उनीहरूमा दूरदर्शिता नदेखिएको, भित्रभित्र घ्याम्पोको झोल पिएर मात्तिँने तर बाहिर खूब क्रान्तिकारी कुरा गर्नेहरूको बिगबगी बढेको, सामाजिक संस्कार र मान्यतामा विचलन आएको, भ्रष्ट मनोवृत्तिको बढोत्तरी भइरहेको, देशका लागि रगत बगाउने पूर्खाका सन्तती हामीले धन दौलतका लागि देश बगाउँदै गरेको, आजको मान्छेमा सम्वेदना हराउँदै गउको, कालोबजारी र तस्करीले देशलाई आक्रान्त पारिरहेको जस्ता विषय विविधता रहेको छ । राजनीतिक विसङ्गति, आर्थिक विषमताले उत्पन्न विभेद, अनाचार र दुराचार, प्रजातन्त्रका नाममा देखापरेको साँढेतन्त्र, शैक्षिक क्षेत्रमा देखिएको विद्रूप स्थिति, सामाजिक मूल्य र मान्यतामाथि आइरहेको ह्रास, पारिवारिक विखण्डन र विचलन, स्वाभिमानी इतिहास बोकेका हामीहरूमा हुर्किएको दास मनोवृत्ति, कर्मचारीहरूको कामचोर प्रवृत्तिलाई यस सङ्ग्रहका कविताले आफ्नो विषय क्षेत्र बनाएका छन् ।
राजनीतिक क्षेत्रको विसङ्गतिलाई सशक्त ढङ्गले व्यङ्ग्य गरेका केही नमुना यसरी उल्लेख गर्न सकिन्छ :
मन्त्री
एउटा स्वचालित मेसिन हो ।
जसको निर्माण
स्वदेशीहरू गर्छन्,
तर रिमोट कन्ट्रोल
विदेशीहरू गर्दछन् ।
(मन्त्री, पृ. ६७)

यसपालि पनि
के भयो भयो प्रवेशिकामा !
मेरो आफ्नै छोरो पनि गुल्ट्याङ् खाएछ,
तर मैले हरेश खाएको छैन ।
मलाई विश्वास छ,
प्रवेशिकामा दसैपल्ट गुल्टिए पनि
छोरोले राजनीति गर्नुपर्छ
प्रधानमन्त्री त चलाइहाल्छ ।
(प्रवेशिका र प्रधानमन्त्री, पृ. ७६)

अनि पुच्छर......
ती जन्तुहरूका तन्तु हुन्
जसले भुक्दा (भाषणमा) दिएको आश्वासन र
झक्दा (भोट माग्दा) गरेको प्रतिज्ञा
बाह्रै वर्ष प्रतिक्ष गरे पनि
(कुकुरको पुच्छर जस्तो)
न कहिल्यै पूर्ण हुन्छ ।
न कहिल्ये चूर्ण हुन्छ ।
(सिङ र पुच्छर, पृ.७९)

मुलुकको प्रजातन्त्र भाँडतन्त्र र मनपरीतन्त्रमा रूपान्तर भएको कुराले व्यङ्ग्य कवि विश्व शाक्यलाई व्यथित तुल्याएको छ । उनी यस यथार्थलाई शालीन ढङ्गले यसरी चित्रण गर्छन् :
एउटा फुच्चे कुकुरले
मेरो घरको मूल दैलोमै तुरूक्क तुक्र्याइदियो ।
छोराले दगुर्दै आएर भन्यो—
‘बा, बा ! प्रजातन्त्र भनेको यस्तै हो ?’
त्यस्तै एउटा विकासे बङ्गुरले
बुढो घरको पिँढी भत्काइदिएछ,
छोरीले दगुर्दै आएर साधी–
‘बा, बा ! त्यो, प्रजातन्त्र के हो नि ?’
प्रजातन्लाई होच्याएको देख्दा
रिसले आँखै देखिन,
गालामा एक चड्कन लगाई दिएँ ।
बिचरी रून पनि सकेकी थिइन,
सुमुम्याइदिँदै दाजु चाहिँले भन्यो–
“बहिनी ! यो हामीले भोगिरहेको प्रजातन्त्रको नमुना हो ।”
यसरी हामीले भोग्नु परिरहेको विसङ्गत र विकृत स्थितिको सेरोफेराबाट सन्दर्भहरू टिपी सङ्ग्रहका पुड्का कविताहरू मार्फत विश्व शाक्य सङ्गतिको माग गर्छन् । असङ्गतिहरूको उच्छेदका निम्ति आग्रह गर्छन् । व्यङ्ग्य आफैंमा विद्रोह हो, शाक्यले मट्याङ्ग्रा जस्ता कविता मार्फत विद्रोहलाई वाणि दिएका छन् । कवितामा प्रयुक्त भाषा बौद्धिकताको बोझले थिचिएको छैन । सरल भाषा, जनजीवनमा बहुप्रचलनमै रहेका पद–पदावलीहरूको प्रयोग गरी विशिष्ट अर्थ बोधहुने भाव अभिव्यक्तितर्फ उनको विशेष मोह देखिन्छ । सामान्य प्रसङ्गलाई तान्दै गुढ अर्थ प्रदान गर्नु शाक्यका कवितात्मक शक्ति देखिन्छ ।
यद्यपि सङ्ग्रहका सम्पूर्ण कविता समानस्तरका भने छैनन् । कतिपय कवितामा व्यञ्जनाको प्रयोग नै नभएको समेत पाइन्छ । व्यङ्ग्यप्रधान कविताहरूको बाहुल्यतालाई नकार्न नसके पनि हास्यको पुट निकै शिथिल रहेको छ भन्नैपर्छ । केही कविताहरू कलाका दृष्टिले र प्रभावकारी कथ्यका दृष्टिले अलि कमजोर पनि छन् । शायद यसको अनुभूति स्वयम विश्व शाक्यलाई पनि भएको हुनुपर्छ, त्यसैले सङ्ग्रहलाई उनी स्वयम्ले हास्यव्यङ्ग्य नभनेर व्यङ्ग्य कवितासङ्ग्रह मात्र भनेका छन् ।
सङ्ग्रहका अन्य कविताको बान्की, फाँकी एवम् ससाना टुक्रे अभिव्यक्तिमा पनि गहन भावाभिव्यक्त गर्ने शाक्यको कौशल यस सङ्ग्रहमा निकै राम्रो र आल्हादकारी देखिएको छ ।

‘यमराजको निम्तो’मा विश्व शाक्यको व्यङ्ग्य :
‘यमराजको निम्तो’ विश्व शाक्यको दोस्रो हास्यव्यङ्ग्य कविता सङ्ग्रह हो । २०६० सालमा प्रकाशित ४९ वटा फुटकर कविताहरूको सङ्ग्रह यस कृतिले उनलाई एउटा राम्रो हास्यव्यङ्ग्य कविका रूपमा स्थापित गरेको छ । अधिकांश कविताहरू गद्यशैलीमा रचना गरिएका छन् । शब्दचयनको कौशल, व्यापक जीवनदृष्टि एवम् संवेदनाको परिपाक तथा त्यसको कलात्मक विन्यासका दृष्टिले कवि शाक्यले आफ्नो प्रथम प्रकाशित कविता कृति ‘पुड्के मान्छेका पुड्का कविताहरू’का तुलनामा दोस्रो कृति ‘यमराजको निम्तो’मा उल्लेख्य परिमार्जन ल्याएका छन् । (हुमकान्त पाण्डे : साधना–यात्रामा विश्व शाक्य, पूर्ववत् ।) पहिलो सङ्ग्रहमा जस्तै यस सङ्ग्रहमा पनि विषयव्याप्ति पर्याप्त छ । कवि शाक्यको चेतनाले विसङ्गत क्षेत्रलाई राम्रोसँग पहिचान गरेको छ । उनी आफूले टेकेको धरातलमा विकृतिका धरहरा ठडिएको देखर हैरानहैरान भएका छन् । ती विकृतिहरूमाथि चोर औँलो तिखार्दै देखाएर मात्र उनलाई चित्त बुझ्दैन । विसङ्गत स्थितिको चित्रण मात्रै गर्नुले हास्यव्यङ्ग्य लेखनको औचित्य पूरा हुँदैन, त्यसको उच्छेदन तथा समाप्तिको मार्गतर्फ अभिप्रेरित गर्नु पनि उतिकै आवश्यक छ । यो हास्यव्यङ्ग्य स्रष्टाको महत्वपूर्ण दायित्व हो । यस किसिमको दायित्व निर्वाहमा विश्व शाक्य निकै खरो उत्रिएको प्रष्ट देखिन्छ ।
‘मेरो छोरो’ सङ्ग्रहको पहिलो कविता हो । यस कवितामा विश्व शाक्यले आफ्नो छोरोलाई हामी सबैका छोराको रूपमा सामन्यीकरण गरेर हास्यमिश्रित पारामा बानी–बेहोर, रूपरङ्ग र ढाचा–ढङ्गलाई उतारेका छन् । विश्व शाक्यको यो छोरो खालि उनको मात्रै नभएर तपाईं हामी सबैको हो, जसको तागत हेर्दा बगेको खोला छेक्ला जस्तो छ तर झडङ्गे रिस हेर्दा बाबुकै बङ्गारा सेक्ला जस्तो छ । ‘यमराजको निम्तो’ सङ्ग्रहको दोस्रो कविता हो र यही कविताको शीर्षक उठाएर सङ्ग्रहको शीर्षकका रूपमा स्थापित गरिएको छ । कवितामा कवि यमराजको छोराको बिहेमा निम्तो मान्न यमलोकको यात्रा गर्दछन् । यमलोकमा पनि आफूजस्तै मान्छेहरूको बथान देखेर छक्क पर्दछन् । अनि त्यहाँको भोजमा पनि दारूपानीको सुप्रबन्ध र दारू पिएकाहरूको दुर्गन्ध देखे–भोगेको परिकल्पित दृश्यको वर्णन गर्दछन् । बिहेमा फजूल खर्च गर्ने नेपाली नवधनाड्यहरूको आडम्बरी मनोवृत्तिमाथि व्यङ्ग्यको झटारो हानिएको छ यस कवितामा । अनुप्रासको आकर्षक संयोजनले कवितालाई उम्दा बनाएको छ ।
यस सङ्ग्रहसम्ममा आइपुग्दा विश्व शाक्यमा साँच्चिकै प्रौढता आएको प्रष्ट देखिन्छ । उनी कवितामा नेपाली राष्ट्रियताको प्रसङ्ग उठाउँदै हामीतर्फ व्यङ्ग्यात्मक प्रश्नको तीर हान्छन्:
यति खेर म
मैलो लँगौटी र भोटामा टाँसिएको
उपियाँ मार्दै राष्ट्रप्रेम लेखूँ !?
या छातीमा स्वाभिमानको बिल्ला टाँसी
आत्मा बेच्नेहरूको राष्ट्रियता लेखूँ !?
(‘खै म के लेखूँ लेखूँ, पृ. ८)
अर्कातिर उनी बुद्ध जन्मिएको देशका हामी नेपाली बुद्धकै मूर्ति बेची खानथालेको नाङ्गो यथार्थ प्रस्तुत गर्दै धर्मका आडमा हुने गरेका अधर्म कार्य माथि पनि तेर्सो नजर परिरहेको देखिन्छ । धार्मिक विसङ्गतिलाई विश्व शाक्यले कवितामा यसरी प्रस्तुत गरेका छन्—
कोही सन बोकी हामफाल्छन्
कोही नुन बोकी नाम फाल्छन्
दाता नै आखिर दायक हुन्
नाम फाले पनि लायक हुन्
बिहार गुम्बा यिनै बनाउँछन्
धर्मको चिहान यिनै खनाउँछन् ।
विनय र सदाचार भक्षामि
बुद्धं शरणम् गच्छामि ।
(ऐला, छ्वेला भक्षामि, पृ. ९)
राजनीतिमा मौलाएको तिगडम, छलछाम र जनताप्रति अनुत्तरदायी राजनीतिज्ञका विसङ्गत व्यवहारहरू देखेर विश्व शाक्य रूष्ट बनेका छन् । उनीहरूका भनाइ एकातिर र गराइ अर्कोतिर फर्किएको देख्दा उनलाई दिक्क लाग्छ । निरीह जनता यो सब टुलुटुलु हेरर बस्न बध्य भएका छन् । सोझा र निमुखा जनता अनाहकमा थुनिनु परेको र कति त अनाहकमै मारिनु परेको जस्ता गम्भीर र संवेदनशील विषयलाई पनि हाँसोपूर्ण व्यङ्ग्यात्मक शैलीमा उचार्न विश्व शाक्य सफल देखिन्छन् ।
भन्छन् हाम्रा नेताहरू–
देशमा अमन चैन छ
शान्तिसुरक्षा तगडा छ ।
कसका आँखा पुट्या छन् र ?
संसददेखि सडकसम्म
जहीँतहीँ झगडा छ ।
मामाहरू बाटा चौबाटा गोड्ने
भाञ्जाहरू दिनदहाडै घरदैला फोड्ने
मर्नेहरू मर्या म¥यै छन्
सोझाहरू थुनामा पर्या पर्यै छन् ।
(म कविता लेख्दिन, पृ. २०)

हास्यव्यङ्ग्य सिर्जनाका निम्ति चाहे गद्यमा होस् या पद्यमा अनुप्रास आयोजनाले धेरै भूमिका खेलेको हुन्छ । भैरव अर्यालका कतिपय निबन्धहरूमा पनि वर्ण–अनुप्रास अथवा एउटै वाक्यमा एकै वर्णहरूको व्यापक पुनरुक्ति प्रयोग गरेर भाषामा मिठास थपिएको पाइन्छ । गद्य शैलीका कविताहरूको बाह्यलय हुन्न तथापि अनुप्रास आयोजनाद्वारा अन्तर्लय सिर्जना गरिएको हुन्छ । लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाल र भूपि शेरचनका गद्यकविताहरू लोकप्रिय हुनुमा यही अन्तलर्यले महत्वपूर्ण भूमिका निर्वाह गरेको हो । विश्व शाक्यका कविताहरूको संचना पनि गद्यशैलीमै रहेको छ र कवितामा दुई तीनवटा पङ्क्ति विराएर लगातारको अनुप्रास–प्रयोगले कवितालाई सुस्वादु मात्र बनाएको होइन, व्यङ्ग्यभावलाई अत्यन्त प्रवल बनाएको देखिन्छ । यस सङ्ग्र्हका अधिकांश कविताहरू अनुप्रासआयोजनाका दृष्टिले पनि अत्यन्त मिठा र स्वादिला रहेका छन् । हेरौ केही नमुनाहरू:
सिंहदरवारमा बम पड्क्यो
अविश्वासको प्रस्तावको अक्षर चड्क्यो
रेडियामा नेताहरूको भाषण पड्क्यो
बम पड्काउने उपियाँ झैँ फड्क्यो
बमबमभोला, बमबमभोला
पुलिस दाइहरू खोतल्दैछन् झोला
बमबम भोला बमबम भोला ।
(बमबम भोला, पृ. २३)

मन्दिरै मन्दिरको देशमा
धर्मका नाममा विधर्मी घुस्छन्
धर्मकै नाममा सोझालाई चुस्छन्
बाबा जोगी खरानी घस्छन्
ढोँगी पाखण्डी आसन कस्छन् ।
(आऔँ हामी घण्टा बजाऔँ, पृ.६३)

माथि उठाइएका कविताका केही फाँकीहरूले पनि वर्तमान नेपालको राजनीतिक, सामाजिक र वैयक्तिक विसङ्गतिलाई राम्रोसँग चित्रण गरेका छन् । सङ्ग्रहका अन्य कविताहरूले देशको राजनीतिक विसङ्गति मात्र होइन मौलिक नेपाली संस्कृति बनिसकेको भ्रष्टाचार, अनाचार, दुराचार र पापाचार जस्ता मनोवृत्तिलाई बडो राम्ररी प्रकट गरेका छन् ।
विश्व शाक्य आफ्ना व्यङ्ग्य कवितामा आफ्नै जीवनका कटु प्रसङ्गहरूलाई समेत कविताको विषयवस्तु बनाउन पछि परेका छैनन् । बरू यसो गर्दा स्थितिलाई निकै सहज ढङ्गले सामान्यीकरण गरी आफ्नो मात्र होइन अरूअरूको पनि साझा स्थिति हो भन्ने महसुस गराउन उनी सिपालु देखिन्छन् । कतिपय कवितामा ‘म’लाई अगाडि सारी आफू वरिपरिको विसङ्गत वातावरणतर्फ तिखो तीर चलाइएको पाइन्छ । जस्तो ‘पोखरा’, ‘पोखराको बाटो’ र ‘पोखराका नखरा’ शीर्षकका कविता उदाहरणीय छन् । सङ्ग्रहका धेरै कवितामा राजनेताहरूको अदूरदर्शी सोच, उनीहरूका जनताविमुख क्रियाकलापलाई ज्यास्ती नै सँग छाँसिएको छ । अरू नै कै विषयमा केही भन्न खोजिरहेका बेलामा पनि विश्व शाक्य थपक्क नेताका अकर्मण्य प्रसङ्गलाई उपमाको फाँकीका रूपमा ल्याइहाल्न रूचाउँछन् । उनका निबन्धहरूमा जस्तै कवितामा पनि व्यङ्ग्य बढी र कम हास्यको उपस्थिति रहेको पाइन्छ । आत्मव्यङ्ग्य पनि विश्व शाक्यका कविताको मूल प्रवृत्तिकै रूपमा रहेको देखिन्छ । आफ्नै कुरा भनेर अरूका मनोवृत्तिमाथि प्रहार गर्ने कुशल क्षमताको प्रदर्शन शाक्यका कविताहरूको विशेषता हो ।
यसरी यो कविता सङ्ग्रहसम्म आइपुग्दा विश्व शाक्यमा राम्रो परिष्कार तथा कलात्मक अभिव्यक्ति मार्फत हाम्रो समाजका, राष्ट्रका, राष्ट्रिय एवम् क्षेत्रीय समस्याका अनेकन पहलुहरू केलाउन सफल देखिएका छन् । शब्दहरूसँग नखेली साहित्यिक कृति जन्मदैन । त्यसमाथि पनि हास्यव्यङ्ग्यात्मक सिर्जनाशैली आफैँमा कुशलतापूर्वक खेलिएको शब्दहरूको खेल हो । यो अलिक जटिल किसिमको पनि छ । विश्व शाक्यले यही जटिलतालाई निकै सरस र सहजताका साथ कविताका फाँकी मार्फत प्रस्तुत गर्न सकेका छन् । यमराजको निम्तो’मा कविको मूल विषय आफ्नै बाटामा नाक ठोक्किन आउने मित्रहरू, छिमेकीहरू, सामाजिक साइनाले कतै न कतैबाट साइनो पर्न आउने टेढो बेहोरा भएका आफन्तहरू, आफ्नो भित्री अनुहार लुकाउन सिँगार–पेटार गरेर अथवा मुखुन्डो लगाएर आकर्षक बाहिरी अनुहार देखाउन देशभरका आदर्श मानिने तथाकथित महापुरूषहरूको पसाङ्गिएको, खुम्चाखुम्ची परेको र टेढो बेहोरामा इस्त्री लगाउने र तिनीहरूको बेहोरालाई सम्याउन, चिल्याउन र टल्काउन खोज्ने प्रयास गरिएको छ । (डा. माधवप्रसाद पोखरेल, यमराजको निम्तोको भूमिका ।)
यिनै दुई कविता कृति खास गरी ‘यमराजको निम्तो’ कविता सङ्ग्रह मार्फत हास्यव्यङ्ग्य शैलीमा कविता लेख्ने लेखुवाहरूका बीच छुट्टै पहिचान कायम गरेका छन् विश्व शाक्यले । अप्रचलित बिम्ब प्रयोग गरेर पाठकको मथिङ्गल खल्बल्याउने चेष्टा गर्दैनन् उनी । उनको कविता सिर्जनाको ढाँचा जटिल र अतिसय बौद्धिक पाराको छैन । सामान्य सन्दर्भलाई टपक्क टिपेर सरल एवम् सहज भाषाशैलीमा आकर्षक कथ्य समावेश गरी टेढोमेढो पार्दै गहकिलो व्यङ्ग्य गर्नु शाक्यको मौलिकता हो । यही मौलिकताको सम्बलमा शाक्यले समकालीन नेपाली हास्यव्यङ्ग्य कविहरूका बीच आफूलाई अलग्गै उभ्याएका र राम्रोसँग चिनाएका छन् । हामी आशा गरौँ उनले नेपाली हास्यव्यङ्ग्य कविताका क्षेत्रमा अझै उम्दा कविता कृतिहरू प्रदान गर्नेछन् ।
कलङ्की, काठमाडौँ
पुस ५, २०६२

सन्दर्भ–सामग्री
१. नरनाथ लुइँटेल : नेपाली हास्यव्यङ्ग्य, सिस्नुपानी नेपाल, २०५८ ।
२. माणिकरत्न शाक्य (सं.) : हास्यव्यङ्ग्यकार नालीबेली, सिस्नुपानी नेपाल, २०५६ ।
३. विश्व शाक्य : पुड्के मान्छेका पुड्का कविताहरू, प्राङ्गण प्रकाशन, पोखरा, २०५० ।
४. विश्व शाक्य : यमराजको निम्तो, २०५६, (संशोधित संस्करण २०६०), प्राङ्गण प्रकाशन, पोखरा ।
५. रोचक घिमिरे (सं) : भैरव स्मारिका–२०६२, भैरव पुरस्कार गुठी, जोरपाटी काठमाडौँ ।