‘बैंसमा स्याल त घोर्ले हुन्छ’ भन्छन् मान्छे घोर्ले नहुने कुरै भएन । त्यसमा पनि अल्लारे उमेरका कट्मेरा ठेट्नाजस्ता घोर्ले त न उमेर पुगेका तन्नेरी हुन्छन् न त उमेर सकिएका बूढाखाडा नै । बालकमा बैंस पस्नै बाँकी हुन्छ भने बूढाको बैंस थाकिसकेको हुन्छ । उनीहरूको त जन्जालमा पौडी खेल्दाखेल्दै शरीरमा कङ्कालमात्र शेष रहन्छ । त्यसैले नउठाउनु कुरा उठाइसकेपछि बैंसको नालीबेली नै प्रस्तुत गर्दा अनर्थ नहोला ।

बैंस कुरकुरे र कुखुरे गरी २ किसिमका हुन्छन् । कुरकुरे बैंस भन्नाले बैंसको शुरुआत हो भने कुखुरे बैंस भन्नाले बैंसको चरम अवस्था हो । यसपछि बैंस बैंसजस्तोमात्रै रहन सक्दैन । जब कुमारकुमारीमा यस्तो कुखुरे बैंसको भूत चढ्छ तब छिल्लिने, रल्लिने, हल्लिने, बरालिने, घर छोड्ने, थर तोड्ने, कसैलाई देखे मस्किने, झस्किने आदि इत्यादि आंगिक स्वाङ देखाएर छुट्टी गर्छन् । समग्रमा भन्दाखेरि नीचादेखि उचासम्मले कदर गर्ने, जस्तैलाई पनि सदर हुने जुनसुकै पक्षबाट पनि बदर गर्न नसक्ने, यस खालको बैंसलाई सर्वसम्मतिबाट सम्मानित बैंसका रूपमा लिइन्छ ।

कुरकुरे बैंस छ“दा कुकुरको पुच्छर स्वाभाविक देख्ने कुमारकुमारी कुखुरे बैंसले छुनासाथ कुकुरकै पुच्छर बांगो देखे पनि खित्का छोडेर हाँस्छन् र विनाताल एक्लै पनि नाच्छन् । कामै नपाए रूपरङ्ग र अङ्गलाई हेर्दै सुमधुर मुस्कान सहित यौनपराग छोडिराखेका हुन्छन् । यस बैंसको स्वागत बूढाखाडा या बालबच्चाले गरेर हुँदैन कुखुरे बैंसवालेकै आवश्यक पर्दछ । अन्यथा कुखुरे बैंसवाले भाँडिन वा एकार्काबाट टाढिन पनि सक्छन् । कुखुरे बैंसका मान्छेमा नराम्रो र नजाती कोही हुँदैनन् । बोल्यो बोली राम्रो, हिंड्यो हिंडाइ राम्रो, हाँस्यो हँसाइ राम्रो, छोयो छुवाइ राम्रो, नाच्यो नचाई राम्रो, आँखा झिम्क्याए पनि राम्रो नझिम्काए पनि राम्रो, लभ नपरे पनि राम्रो, परे झनै राम्रो, कुखुरे बैंस कति राम्रो, कति राम्रो, जति भोग्यो उति राम्रो, जति ठग्यो उति राम्रो । यसरी हदै राम्रो या ज्यादै राम्रो लाग्न थालेपछि तरुनी–तन्नेरीहरूले आफ्नो बैंसको ‘नौका डोलाउने’ बाटो बनाउन थाल्छन् र एक दिन त्यही बाटोमा हाम फाल्छन् ।

आफ्नो बैंसलाई सुमार्गमा ठेल्ने कि कुमार्गमा हेल्ने भन्ने विवेकको प्रयोग बल, बुद्धि, रूप, रंग, धनदौलत, लतकुलत, लात खान होस् वा लात खुवाउन, धाकधक्कू लवाइखुवाई कवाफ देखाएर हुन्छ या रवाफ देखाएर हुन्छ यसै उमेरमा देखाइन्छ । कन्याको कुरा छिन्न होस् या बाटोमा हिंड्न यिनको कुनै ठेगान हँुदैन नत अगाडि लगाम हुन्छ न पछाडि पुच्छर । कुखुरे बैंसको भेल थामिनसक्नु र जानिनसक्नु हुने हुनाले यसको विश्वास अल्पमतको सरकारको जति पनि हुँदैन । यसले आफूलगायत आफन्तलाई पनि रुवाउन सक्छ । यस बैंसले १६ वर्षदेखि २८ वर्षसम्म ज्यादै आक्रान्त पार्छ । कुखुरे बैंसको खड्को पार गरेपछि ४०–४५ वर्षसम्म शुरुबुरु कुखुरे बैंस रही नै रहन्छ, तर यस अवस्थालाई त्यति खतरनाक अवस्थाका रूपमा लिनु पर्दैन । जुन नेपालको विकासझैं आफैं हराएर जान्छ । उप्रान्तावस्था चाहिँ तन बूढो भए पनि मन बूढो हुँदैन अर्थात् उमेर गयो बैंस त गएन लै लै भनेर मुखले चित्त बुझाउनु पर्ने हुन्छ ।

चोक, सडक, सदन, पार्कदेखि लिएर सार्कसम्मनमा पनि कुमारीको बैंस उत्तिकै साझा अर्थात् ताजा मानिन्छ । विश्वमा यस्ता बैंसको लहर अविरल रूपमा चलिरहन्छ । उमेर, जात, धर्म, रङ्ग, जे जस्ता कलेवरले विभूषित भए पनि दुवै लिंग बैंसको पर्म तिर्न सर्म मान्दैनन् । सरकारको आँखामा छारो हाल्न सकेसम्म स्वदेशमै दोहोरी खेल्छन् र सारै दुःख अप्ठ्यारो र खुल्ला रूपले नाच्न पाएनन् भने छिमेकी राष्ट्रतिर कुलेलम ठोक्छन्, फलतः सौगातस्वरूप एड्स जस्ता सगुन भित्र्याएर गुन लगाउँछन् ।

बैंसको वसन्त ढकमक्क फुलेको बेलामा विपरीत लिंगीहरू वार्ता गर्न अकमक्क हुन्छन्, अन्ततः अन्तर्रात्मामा नमीठो हलचल पैदा हुन्छ र पलपल एक अर्काको जप गर्दै पाप कटनी या हृदय सटनी गर्न बाध्य हुन्छन् । हृदय साट्दा सकारात्मक परिणाम हत्याउन सकेमा नै अल्लारे बैंसको अस्तित्व रहन्छ र यसैको आधारमा कुमार, कुमारीको मूल्य निर्धारण गरिन्छ । एकपक्षीय बलियो र अर्को पक्षीय दुब्लो भएमा पनि हल बाँधिहाल्नु हानिकारक हुन्छ । त्यसैले दुवैको शक्ति तौलि“दा बराबरी प्रमाणित भएमा जोवन बिताउन खोलाको दोभान–दोभान खोजेर भौ“तारिनु या चौतारिनु पर्दैन । यसो भएमा नेपालको विकास योजनाझैं अधकल्चो र अपरिपक्वको हुने छैन ।

सांसदले जस्तो आफ्नो मूल्य र सुविधा आफैले तोक्न पाउँथे भने कुमारकुमारी कति रमाउँथे होलान् । यो जमानै स्वार्थी जमाना भएको हुनाले निःस्वार्थी अल्लारे भेट्टाउन मुस्किल पर्छ । आफूले चाहेको अल्लारेको प्राप्ति खातिर कुनै गुरिल्लाले अग्रिम टेन्डर हालेको सुराक मिलेमा माहुर चाट्न ताउर माउर नगरी विपरीत दिशातिर कुलेलम ठोके हुन्छ । हैन मेरो गोरुको बा¥है टक्का गर्ने हो भने आजीवन धुरुधुरु रुनु पर्ने पक्का देखिन्छ ।

‘ऋषिमुनिका सन्तान सिसीमुनि’बाट