वर्षा याम सुरु भएसँगै लेकतिर जुका सल्बलाउन थाल्छन् । गोठाला, खेताला, बटुवा लगायत बस्तुभाउको रगत चुसेर टिलपिल हुँदै बुर्लुक्क बुर्लुक झर्छन् । च्याउ तेत्तिकै जहाँतही उम्रन्छ । कतिपय मानिसहरू खाने च्याउ कुन हो नखाने च्याउ कुन हो नचिनी खाँदा पुर्लुक पुर्लुक मर्छन् । यो सिजन नै यस्तै हो । एस.एल.सि.को रिजल्ट भयो भन्ने सुने लगतै यतिजनाले आत्महत्या गरेर मरे रे भन्ने पनि सँगसँगै सुनिन थाल्या छ । जता पनि आमाबाबुलाई नै घाटा एस.एल.सी. पास गरे क्याम्पसले ढाड सेकाउने, फेल गरे भने कतिपय छोराछोरीले मरेर ज्यान सुकाइदिने ।

देशभरिका उच्च शिक्षादाता भनाउँदा कलेजहरू विद्यार्थीले एस.एल.सी.को उत्तरकपी लेख्न थाल्दैदेखि मुखमा र्याल काड्दै आषाढ कुर्न थालेका हुन्छन् । जेष्ठको अन्त्यसँगै उनीहरूको दशैं शुरु हुन्छ । कलेजहरूले यो सिजनलाई महाकुम्भ मेला झैं गरी मनाउँछन् । हनुमान सीतालाई भेट्न श्रीलङ्का जाँदा बाटोमा मुख बाएर बसेको खै के पो नाम गर्या राक्षस जस्तै गरी कलेजहरू मुख बाएर उभिएका हुन्छन् । विद्यार्थीहरू लुरुलुरु गएर सुरु सुरु त्यही मुखभित्र छिर्छन् । तर हनुमान जस्तो कला उनीहरूमा कहाँ हुनु, हनुमान त उपाय गरेर निस्किएर गएथे तर विचरा विद्यार्थीहरू एकपल्ट मुखभित्र छिरिसकेपछि नपचेसम्म निस्कनु त के सास फेर्न पनि पाउँदैनन् ।

नानाथरिका रङ्गिन सपनाहरू देखाएर ईन्द्रजाल नै लगाईवरी रुपियाँको कुम्लोमा लाहाछाप लगाउँछन् । बस, दुई वर्षलाई चुप । एकमुष्ठ ट्युसन फि यति । सेक्युरिटि फि यति । लाईब्रेरी फि यति । ल्याबको चार्ज यति । प्राक्टिकलको यति । सबै बुझाई सकेपछि सेक्यो रोटी, लइबरी, ट्याब बनाउने हो केको सेक्युरिटी, केको लाईबेरी । अझ कतिपय कलेज ले त आजकाल विद्यार्थीसँग क्रेडिट कार्ड पनि पो बनाउन लगाउन थाल्याछन् रे । वा ! कति भरपर्दो शिक्षा दीक्षा !

वर्षामा लेकतिर लाग्ने जुकालाई त नुन वा सूर्तिको धुलो दलिदियो भने झर्छ तर यी जुका एकपल्ट टाँसिएपछि पेट फुलुन्जेल नचुसेसम्म जे दलिदिए नि झर्दैनन् । बरु झन स्वादिलो मानेर पो रगत पसिना पिउँछन् त । जय होस् बर्षे जुकाहरूको ।

गल्कोपाखा, काठमाडौं