भोजेको बानीनै थियो मालिकले राखेको ह्वीस्की दुई चार पेग मादिर्ने । अनि त्यसमा पानी थपेर बराबर बनाएर राखिदिने । यो क्रम चलिरहेको थियो ।
मालिकलाई शङ्का लाग्यो भोजेप्रति । अति भएपछि एकदिन मालिकले भोजेलाइ बोलाएछ ।
मालिक– “भोजे !”
भोजे (भान्छाबाट)– “हजुर मालिक !”
मालिक– “ल भन्, कसले मेरो ह्वीस्की खाँदै त्यसमा पानी थप्दै राखिदिन्छ ?”
भान्छाबाट केही जवाफ आउँदैन ।

फेरि,
मालिक– “भोजे !”
भोजे (भान्छाबाट)– “हजुर मालिक !”
मालिक– “ल भन, कसले मेरो ह्वीस्की खाँदै त्यसमा पानी थप्दै राखिदिन्छ ?”
भान्छाबाट फेरि पनि केही जवाफ आउँदैन ।

मालिक रिसाएर भान्छातिर जान्छ र भोजेलाई मार गाली गर्छ ।
मालिक– “के पारा हो तेरो ? नाम लिँदा हजुर मालिक भन्छस्, अनि मैले सोधेको प्रश्नको जवाफ चै दिँदैनस् ?”
भोजे– “मालिक यो ठाउँ नै यस्तै छ, आफ्नो नाम मात्र सुनिन्छ । पछि भनेको कुरा केही सुनिँदैन... मरी जाऊँ !”
मालिक– “धत मुला, नचाहिने कुरा गर्छस् ?”
भोजे– “साँचिकै हो मालिक !”
मालिक ट्वाँ पर्छ ।

एक छिन सोचेर
मालिक– “तेरो कुरा अहिलेनै दुधको दुध पानीको पानी पार्छु । तँ मलिक्नीसँग हलमा बस, म भान्छामा जान्छु अनि तँ मलाई प्रश्न गर ।”
भोजे– “हुन्छ मालिक ।”
मालिक भान्छामा जान्छ । भोजे मालिक्नीसँग हलमा बस्छ । अनि–
भोजे– “मालिक साब !”
मालिक– “अँ भोजे !”
भोजे– “ल भन्नुस् त लुगा धुन आउने केटीलाई कसले भुँडी बोकायो ?”
भान्छाबाट केही जवाफ आएन ।
भोजे– “मालिक साब !”
मालिक– “अँ भोजे !”
भोजे– “अनि उसको गर्भपतनको व्यवस्था कसले गरिदियो ?”
फेरि पनि भान्छाबाट केही जवाफ आएन ।
अनुहार रातो पार्दै मालिक भान्छाबाट दौडिँदै आउँछ ।
मालिक– “हो यार भोजे, कस्सम.... सुरुको नाम बाहेक केही सुनिँदो रहेनछ । तैले सही भनिस्.... साला भान्छा त गज्जब को ठाउँ रहेछ ।”

–मिलनबहादुर बस्नेत