‘साना बा, खाना खान आउँनुहोस्, मैले खाना तयार गरेँ ।’– भान्सा कोठाबाट छोरी कराई । बिहानको खाना खाने, छोरीको कलेज जाने र आफ्नो काममा जान बेला भएकाले मैले पल्टाइ रहेको किताब बन्द गरेर भान्साको भातखाने टेबलमा आसन जमाइ हालेँ ।

छोरीले खाना लगाई टेबलमा । गन्ध पनि मन नपर्ने तरकारी भान्सामा भेटिनु, अझ त्यसमाथि पनि दालको सट्टामा त्यसै तरकारीमा झोल हालेको र खाना पश्किएको समेत भए तपाईलाइ के हुन्थ्यो ? मलाई त भाउन्न भयो भान्साको दृश्यले तर के गर्नु र !

किन कि मेरी छोरी भएकी भए त हकार्थें पनि होला तर जेठीसासूकी छोरी परी कलेज पढ्न बसेकी । अझ त्यसमाथि पनि उसकी सानीमा माइती मोरङ गएकीले मलाई धन्न खाना बनाएर ख्वाउँदै थिई र आफ्नो कलेज पनि भ्याउँदै थिई ।

केही नबोली मुखमा गाँस हालेँ, जति रुच्छ त्यति खाउँला र उठेर जाउँला भनेर । भाग बस्ता सकारात्मक बिचार लिएर बसेको भए पो खानाको स्वाद पाइनु, भाग बस्ता नै नकारात्मक बिचार लिएर बसेको खोजेजस्तो स्वाद खानामा पाइने त कुरै भएन । तर अचम्मको कुरा मैले ठानेजति बेस्वादिलो पनि भएन र पहिलो पटक पस्किई दिए जति चैं खाएरै उठेँ ।

परिबन्दले मान्छे कसरी लाचार हुँदो रहेछ भनेर पनि थाहा पाइयो । तर त्यही तरकारी श्रीमतीले बनाएर दिएकी भए... ! पक्का पनि मेरो भद्रता, विद्वता, सहनशीलता आदि–आदिको आदर्शवादी मुखुण्डोले माटोको म्वाईं खाने थियो ।
भोलिपल्ट– त्यही तरकारी, त्यही झोल ।
पर्सिपल्ट– त्यही तरकारी, त्यही झोल ।
त्यसपछि मेरो हालत के भयो होला ? तपाईंले अनुमान लगाउँनुस् त ?
पक्का पनि तपाइले अनुमान लगाएको हुनुपर्छ, यसले भाँडभैलो मच्चायो होला भनेर । तर हैन ।

अनि त आफैं खोजी–खोजी ल्याउँने र झोल हालेर पकाउँने पो भएँ त उल्कै मिठो लागेर ।
र, त्यस तरकारीको नाउँनै राखिदिएँ– ‘शर्मिला करी ।’

तपाई अचम्म मानिरहनु भएको होला के रहेछ हँ त्यस्तो, करी ? भनेर । अचम्म मान्नु पर्दैन त्यो हो, ‘शर्मिला करी’ अर्थात भिण्डीमा झोल ।

जुरोपानी– ४, झापा हाल : काठमाडौं