प्राण प्यारी ........

म तिम्रो भुँडे प्रेमी आशिकको लाखमरी र प्यारभरी तातोतातो लालमन तिमीलाई । प्रिय तिमीसँग भेट नभएको पनि धेरै भैसक्यो । तिमीलाई चार दिनमात्र नदेख्दा पनि चार वर्ष काटेजस्तो लाग्छ । कतै तिमीले माया त मारिनौ ? शङ्का पो लाग्छ, यो मोरो पापी मन् । आशा छ तिमीले मेरो माया मार्ने छैनौँ । हुन त माया मार्न पनि के बेर देशमै यत्रो ठूलो परिवर्तन आएको छ । हिजोका एकतन्त्रेहरू आज बेहाल भएकाछन् । त्यसो त लोकतन्त्र पनि व्यवस्थित भैसकेको छैन् तर यो सङ्क्रमणकाल झनै डरलाग्दो हुन्छ भन्छन् जानिफकारहरू । आखिर लोकतन्त्र त तिमीलाई पनि आएकै हाला ।

तिमी कति निठुरी बनेकी हँ, आजकाल त फोन पनि गर्दिनौ । कहिलेकाहीँ फोनको घण्टी बज्दा हतारहतार उठाएर हेलो भन्यो– कोही बोल्दैन । कतै तिमी नै त हैनौ ? आफ्नो चाहिँ स्वर नसुनाउने तर अर्काको स्वर चाहिँ सुन्ने रणनीति त लिएकी होइनौ ? त्यस्तो हो भने कृपया त्यस्तो नगर, मेरो विन्ति छ । कुरा भनेको दोहोरो नै सुन्ने र सुनाउने गर्नु राम्रो हुन्छ । फोनमै भए पनि यसो कहिलेकाहीँ तिम्रो कानैमा मुख राखेर खुसुरफुसुर गर्न पाइन्थ्यो ।

अँ, अर्को कुरा पनि सुन, तिमी त मेरो लागी सञ्जीवनी बुटीझै बनेकीछ्यौ । जबदेखी म तिम्रो समिप भएँ नि त्यसै बेलादेखि म भित्रको दुर्बलता बिस्तारै हराउँदै गयो । अब त आफूलाई स्वास्थ्यको दृष्टिकोणले निकै राम्रो र फुर्तिलो महसुस गरिहेको छु । तर यो भुँडी चाहिँ कहिल्यै घटेन र पो दुःख लागेको छ । पोहोर साल मात्र सार्वजनिक रूपमा रायसल्लाहा लिएर घटाउने कोशिस गरेको सँगैमा छिमेकीको मेरोजत्रै घ्याम्पे पेट सर्लक्कै घट्यो तर मेरो घटेन । प्रिय, तिम्रो सिलिम ज्यान देख्दा मेरो हृदयले चिलिम खान खोज्छ के गर्नु ? अर्काको डाढ गरेर नहुने । भुँडी घट्छ भनेर रामदेवको चेलो पनि भइटोपलेँ तर पछि रामदेवकै देखेर त्यति विश्वास लागेन र छाडिदिएँ ।

प्यारी, अन्तमा एउटा कुरा भन्छु त्यो के भने नि, आजभोलि तिम्रो छिमेकमा वर्षौँ हराएका, खाइलाग्दाहरू कोको हुन् आएका छन रे, कता बसेर के खान्थे कोनि चिल्लाचिल्ला गठिँला परेका छन् भन्छन् । त्यस्तासँग लहसिएर जाउली नि । त्यस्तो भुल चाहिँ नगर है ल ! मेरो यत्रो वर्षको तिमीलाई पाउन गरेको मेहनत खेर जाला । म जे जस्तो भए नि जतासुकै गए नि तिमीलाई औधी मायाँ गरिरहनेछु । आखिर मैले गर्ने भनेकै मायाँ मात्रै त हो नि ! त्यस्को मबाट निरन्तरता पाउनेछौ भन्ने विस्वास दिलाउन चाहन्छु । आजलाई यति नै । नमरी बाँचे दैवले साँचे छिटैनै भेटौँला ।

उही तिम्रो भुँडे प्रेमी
आशिक