सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

गायत्री लम्सालको बोकापालन

Nepal Telecom ad

नेपाली हास्यव्यङ्ग्य निबन्ध परम्परामा त के निबन्धपरम्परा भै नारी हस्ताक्षरहरू न्युन छन् । एक दुई जना नारीप्रतिभाले व्यङ्ग्य निबन्धलेखनमा हात हालेका छन् । तीमध्ये एक हुन्– गायत्री लम्साल वा गायत्री परिरोशनी । चिन्नेवास–२ स्याङ्जास्थित नुवादत्त लम्साल र टीकामाया लम्सालको परिवारमा २०३६ साल असार २२ गते जन्मिएकी गायत्री लम्सालले २०६० सालमा ‘झटारो’ हास्यव्यङ्ग्य कविता सङ्ग्रह प्रकाशन गरी यस क्षेत्रमा प्रवेश गरेकी छन् । दुई वर्षपछि हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह ‘बोकापालान’ (२०६२) लिएर आएकी छन् । स्याङ्जा क्षेत्रका गण्डकी साहित्य परिषद्, आँधीखोला साहित्य सदन, धवलागिरी साहित्य प्रतिष्ठान, गोरखा साहित्यिक मञ्च, लक्ष्मीस्मृति सामुदायिक पुस्तकालय, स्याङ्जा साहित्य प्रतिष्ठान जस्ता साहित्यिक संस्थाहरूसँग संलग्न रहँदै आएकी यी प्रतिभाले सगुन र नवअभियान जस्ता साहित्यिक र साप्ताहिक पत्रपत्रिकाको सम्पादन पनि गर्दै आएकी छन् । संस्मरण, कथा, कविता, एकाङ्की र लेखहरूमा समेत कलम चलाइरहेकी गायत्रीको मूल सिर्जनविधा भने निबन्ध बनेको देखिन्छ । उनका अर्को सङ्ग्रह पुग्ने गरी निबन्धहरू पत्रपत्रिकामा छरिएर रहेका छन् । उनले स्याङ्जाबाट ‘लिलाकुमारी साहित्य पुरस्कार (२०६०) पनि पाइकेकी छन् । अर्थशास्त्र विषयमा उच्च शिक्षा लिइरहेकी गायत्रीको साहित्यप्रतिको समर्पण र साधना निकै प्रशंसायोग्य देखिएको छ ।
‘बोकापालन’ गायत्री लम्सालको साहित्ययात्राको दोस्रो र निबन्धतर्फको पहिलो कृति हो । शीर्षक नै निकै व्यङ्ग्यात्मक देखिएको प्रस्तुत सङ्ग्रहमा सङ्गृहीत ‘आजका पुरुष र भविष्य’, ‘सासू’, ‘मतन्त्र’, ‘विद्यार्थी’, ‘जमाना’, ‘लभलेटर’, ‘माइती’, ‘फुर्सदको खेती’, ‘करेण्ट पैसाको’, ‘लोग्ने’, ‘उपहार’, ‘लाइसेन्स’ आदि शीर्षकका निबन्धले विषयवस्तुको व्यापकतालाई सोझै सङ्केत गरेका छन् । ‘बोकापालन’ पनि एउटा निबन्ध हो, यसै नाममा १३ ओटा निबन्धलाई शीर्षकीकरण गरी सङ्ग्रहका रूपमा प्रस्तुत गरिएको छ । छोटा मझौला आकारका प्रस्तुत निबन्धहरू व्यङ्ग्यात्मक मात्र नभएर निकै हाँसोपूर्ण पनि छन् ।
प्रस्तुत निबन्धहरू हास्यव्यङ्ग्यात्मक मात्रै नभएर निकै चेतनामूलक देखिएका छन् । नेपाली समाजले विगत र वर्तमानसँग निबन्धकार निकै रुझेभिजेको देखिन्छ । निबन्धकारले विशेषतः नेपाली समाजको समाजिक विभेद र विसङ्गतिमाथि व्यङ्ग्य प्रहार सँगसँगै हाँसो उब्जाउने कलामा आफूलाई सफल देखाएकी छन् । प्रस्तुत निबन्धमध्ये ‘आजका पुरुष र भविष्य’, ‘बोकापालन’ र ‘लोग्ने’ले पुरुषप्रधान समाजका विषङ्गतिहरूलाई नङ्ग्याउने काम गरेका छन् भने ‘सासू’ र ‘माइती’ जस्ता निबन्धले नेपाली नारीहरूको चेतनास्तर र व्यवहारजन्य विकृतिहरूलाई नङ्ग्याएका छन् । ‘मतन्त्र’, ‘विद्यार्थी’, ‘जमाना’, ‘लभलेटर’, ‘करेण्ट पैसाको’, ‘उपहार’ र ‘लाइसेन्स’ जस्ता निबन्धहरूले सदावहार विसङ्गतिहरूलाई समाएर ठट्यौलो शैलीमा लाजमर्दो बनाउदै सुधारको अपेक्षा राखेका छन् । ‘फुर्सदको खेती’ निबन्ध भने मेहनतको कदर नहुने नेपाली संस्कृतिमाथिको गहिरो प्रहार हो । यसले विशेषतः साहित्यकारको कथाव्यथालाई औँल्याएको छ ।
गायत्री एक सचेत निबन्धकार हुन् । उनले न पुरुषलाई बाँकी राखेकी छन् न त महिलालाई । उनका निबन्ध मार्फत जति व्यङ्ग्य पुरुषवर्गलाई गरिएको छ त्यतिनै महिलालाई पनि गरिएको छ । दाइजो प्रथा र सम्पत्तिका नाममा शिक्षालाई गरिने बेवास्ताको परम्परा, महिलाको सत्रु महिला नै हुने तीतो यथार्थ, धनी भए माइती र गरिब भए पराई जस्तो ठान्ने अशिक्षित नेपाली चेलीहरूको मानसिकता, छोरो पाउने रहरमा भ्रूणहत्यासम्म हुने गरेका प्रसङ्ग आदि मात्र नभएर यन्त्रवत् जीवन बाँचेको आजको मान्छेलाई आडम्बरी र खोक्रो देखाइएको छ । यी निबन्धहरूले भ्रष्टाचार, दूराचार, अन्याय र अत्याचारजस्ता पक्षलाई केलाउने क्रममा राजनीति, शिक्षा, अर्थतन्त्र, धर्म, संस्कार र संस्कृति, इतिहास, साहित्य, सङ्गीत जस्ता सबै पक्षतिरका विसङ्गतिलाई छामेका छन् । गायत्रीको दृष्टिमा नेपाली महिला पछिपर्नुमा पुरुषभन्दा महिला बढी जिम्मेवार छन् । आपसमा खुट्टा तानातान गरेर उनीहरू तल परेका र पुरुषहरूले त्यसको फाइदा उपभोग गरिरहेको यथार्थलाई लम्सालले आत्मसात गरेकी छन् ।
हरेक निबन्धमा विभिन्न दृष्टान्तको प्रयोगले निबन्ध सरल र सहज बनेका छन् । विभिन्न उखानटुक्काको प्रयोग सहितका ठेट शब्दावलीले झन रोचकता थपेको देखिन्छ । ‘उपहार’ र ‘लाइसेन्स’ जस्ता निबन्धले नेपाली समाजमा योग्यता र गुणस्तरको मूल्य ह्रास भएको सङ्केत गरेका छन् । यी निबन्धहरू वर्तमानका चोटिला व्यङ्ग्यहरू हुन् । उनका हरेक निबन्धले समाजका खराब पक्षलाई नङ्ग्याउनु मात्र नभएर तिनीहरूलाई कायल पार्दै सुधारको अपेक्षा समेत राखेका छन् ।
समग्रमा गायत्री लम्सालको ‘बोकापालन’ नेपाली निबन्धपरम्परामा देखापरेको निकै सफल निबन्ध सङ्ग्रह हो । हास्यव्यङ्ग्य निबन्ध अझै नारी हस्ताक्षरको सङ्ग्रहको रूपमा यस सङ्ग्रहले विशेष महत्व बोकेको छ ।
कृति : बोकापालन (हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह)/निबन्धकार : गायत्री लम्साल/प्रकाशक : आँधीखोला साहित्यसदन, वालिङ स्याङ्जा/प्रकाशन : २०६२/मूल्य १००।–/पृ. २२ + ५८ = ९० ।

 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जय वासुदेव बाजे

जय वासुदेव बाजे

डा. रमेश शुभेच्छु
घिराैँलाे

घिराैँलाे

डा. रमेश शुभेच्छु
तीन टुक्रे कविता

तीन टुक्रे कविता

डा. रमेश शुभेच्छु
चार ठोकान

चार ठोकान

डा. रमेश शुभेच्छु