“बोल्नुभो ! बोल्नुभो ! बोल्नुभो ! प्रधानमन्त्रीले मुख खोल्नुभो ! आजको ताजा खबर !” एकाबिहानै पत्रिका बेच्ने भाइले कराएको सुनेर म झटपट उठेँ । हत्तपत्त पत्रिका ल्याएर त्यो सनसनीपूर्ण समाचार पढेँ । समाचार पढेपछि मलाई स्कुल पढ्दाका दुई जना साथीको याद आयो ।

एउटा साथी थियो, भक्त । भक्तको रोग थियो, कुरा अड्किने । सरले उसको रोल नम्बर २१ बोलाउँदा ऊ उठ्थ्यो र रोल नम्बर २७ बोलाउँदा ‘यस सर’ भन्थ्यो । २१ नम्बर आउँदा बाएको मुखले २७ नम्बर आएपछि मात्रै आवाज निकाल्थ्यो ।

छत्रपति त्यस्तै अनौठो थियो । ‘एसियाकै अल्छी’ भनेर ऊ स्कुलमै चर्चित थियो । साथीहरू के भन्थे भने छत्रेका तिघ्रामा आगोको फिलुङ्गो राख्यो भने पनि उसले ‘आत्था’ भन्न हतार गर्दैन, लेघ्रो तानेर ‘आऽऽऽथाऽऽऽ’ भन्छ । त्यस्तो लोसो ।

देशमा बाढी–पहिरोले विनाश गर्न थालेको एक महिना हुन लाग्यो । सुरुमा सुनकोसी थुनिएर हाहाकार भयो । विपत्तिको त्यो समाचार सहयोगीहरूले प्रधानमन्त्रीलाई उत्तिखेरै दिए । तर, उनले त्यो कुरा केही दिनपछि मात्र थाहा पाए । थाहा पाएको केही दिनपछि उनलाई त्यस विषयमा केही बोल्नुपर्छ भन्ने अनुभूति भयो र बोल्ने प्रयास गर्न थाले ।

प्रधानमन्त्रीको बोली नफुट्दै देशका विभिन्न ठाउँमा पहिरो र बाढीले धनजनको ठूलो क्षति ग¥यो । सुर्खेत, दाङ, रौतहट, धनुषा, सुनसरी, उदयपुर, बर्दिया हुँदै प्रधानमन्त्रीको गृहनगर नेपालगन्जलाई पनि बाढीले डुबायो । सयौँ जनताको ज्यान गयो, सयौँ बेपत्ता भए र हजारौँको उठीबास भयो । समाचार सुनेर प्रधानमन्त्री स्तब्ध भए । जनता बाढी र पहिरोमा डुबे, प्रधानमन्त्री शोकमा डुबे । उनी बालुवाटारबाट बाहिर निस्कनै सकेनन् । ओछयानमै हराए ।

प्रधानमन्त्री हराएकामा संसद्मा हङ्गामा भयो । उनकै दलका सभासद्हरूले प्रधानमन्त्रीको अनुहार हेर्न पाउनैपर्छ भन्ने माग गरे । त्यो कुरा थाहा पाएपछि उनी अलिअलि हल्लिए । उनले आफू सदनमा जानुपर्ने कुरा महसुस गरे । त्यसको केही दिनपछि उनी उठे र त्यसको केही दिनपछि संसद्को बैठकमा पुगे । प्रधानमन्त्रीलाई संसद्मा देखेर खुसी र आश्चर्यले सबै गद्गद् भए । तर, उनले संसद्मा बोल्ने कुरा मुखबाट निस्कने बेला भएकै थिएन । उनी नबोली फर्किए ।

बालुवाटार फर्केपछि विज्ञप्ति मार्फत अचानक उनको बोली फुट्यो । विज्ञप्तिमा उनले राष्ट्रिय विपत्तिको यस घडीमा आफू ज्यादै चिन्तित भएको कुरा व्यक्त गर्दै सम्बन्धित सबैलाई युद्धस्तरमा बाढी प्रभावित क्षेत्रमा काम गर्न निर्देशन दिए । यसरी प्रधानमन्त्रीको बोली फुटेको कुरा पत्रिकाले छापेको रहेछ । प्रधानमन्त्रीले रोल नम्बर १ भन्दा नबोले पनि रोल नम्बर ११ भन्दा बोलेका रहेछन् ।

जनताका लागि खुसीको कुरा, प्रधानमन्त्रीले विज्ञप्तिमा उपयुक्त समयमा प्रकोप प्रभावित क्षेत्रमा भ्रमण गर्ने इच्छा व्यक्त गरेका छन् । यो बेला पहिरो र बाढीले गाउँहरू डुबेका छन् । चारैतिर हाहाकार छ, रुवाबासी छ, आतङ्क छ । पुल र सडकहरू ध्वस्त छन् । रोगव्याध फैलिएको छ । यस्तो दुःखका बेला प्रधानमन्त्रीले बालुवाटार छाड्न मिल्दैन । त्यसैले प्रकोप पीडित जनता ढुक्क हुनू, प्रधानमन्त्रीज्यू उपयुक्त समय आएपछि कुनै न कुनै दिन भ्रमणमा आउनुहुनेछ । तिमीहरूका लागि केही शब्द अवश्य बोल्नुहुनेछ ।

‘नेपाल’ अङ्क ६१०