क.
मालिक मानिस ! ही ही हः !
ही ही ह हः ! ही ही हः !

ख.
ईश्वरसँग के मैले मागेँ बुद्धिको निट्ठुर खर वरदान ?
बुद्धि जो गुन्दछ, बाँड्दछ, बुन्दछ
फेल्दछ, जेल्दछ, हान्दछ, ठेल्दछ,
फेरि रोप्दछ, फेरि उखेल्दछ ?
बुद्धिको बलियो कमजोरी, तपाईंहरूको बोक्रे शान ?
प्रकृति नउत्रने ठेलमठेला ठेली निकाल्नोस् पढ्नोस् ल,
संसार धुँधला छायामा,
क, ख, ग, घ, ट, ठ, ड, !
मालिक मानिस ! ही ही हः !
घाँस बनाउन घाँसको बीउ नै नभई, तपाईको शक्ति छ !
मालिक मानिस ! ही ही हः !

ग.
बुझ्नुभयो को गर्दछ के, के पर्दापछाडि, किन कसरी ?
यसमा मालिक क्या मसरी !
बुद्धिमत्ता व्यङ्ग्य भनीकन
बुझ्दछ पशुको जगत्, हरि !
कुन कविता हो हृदयस्पर्शी, गर्दभ–अवयव–हर्ष–लहर ?
छन्द–सिहर !
घँस्याइलो यो चउर हुँदामा, न्यानो घामले उज्ज्वल प्रहर ?
अथवा तपाईंको मसीको लहर ?
कृत्रिम बुट्टा कागजभर ?
कोखा कुत्कुती लाग्छ अँ !
मालिक मानिस ! ही ही हः !

घ.
काम–बुभुक्षा तत्व अगाडि चार वेदको के माने ?
जूनकीरीको पुच्छर ! झिल्को,
लोखर्केको सुपारी ।
यत्ति बुझे ता बुझियो सारा,
किन यी अडकन भकारी ?
तरङ्ग मेरा पनि छन् मालिक ! रङगी–बिरङ्गी भारी,
तर म बोल्दिनँ, लेख्दिनँ, पोख्दिनँ,
तपाईहरूझैं डकारी ।
हेर हेर ती कुरूप भयानक
मुण्ठमाला रे मूर्तिहरू !
जननी बालक रेट पिउँदी !
हात्तीदेवका सूँडहरू !
मेरो ईश्वर घाँस मुनाझैं दुधिलो कलिलो गुलियो छः
सर्वव्यापक कहिल्यै नमर्ने,
फेरि उम्रने बलियो छ !
तर रे तपाईको ! कछुवा, वराह, सिंह हेर ! जो मनमा छ !
उकुसमुकुस भो पेटको तह !
मालिक मानिस ! ही ही हः !
यौन–पूजामा, भू–पूजामा केही झल्केथ्यो, केही ल !
मालिक मानिस ! ही ही हः !


ज्ञानको तरुको निषिद्ध फल के काल–व्यालले चाख्न लगायो ?
बाबा आदम ! त्यसको कस्तो रस आयो ?
पृथ्वी–पतन औ भीषण श्राप ‘खाएस् भालको पसिनाले र !’
खच्चुङ ! जुृग जुग काँढा कुल्ची,
वाह ! हलीको ह, ह, ह !
जल्दा मगजले बिन बिन दाना–घोरिउ लाटो–कोसेरोझैं
हिसाब गरे सब के रैछ !
मेरो कहाँ गो ‘माले ह !’ ? ईश्वर ज्यापु, मालिक म !
अन्तःकरणको नाटीकुटीमा
धर्मले आफै उल्टी खस रे स्वभाव निर्मित निज रौरव !
ल ! ल ! ल !
ज्ञान अज्ञान कुन ठूलो हँ !
मालिक मानिस ! ही ही हः !

च.
नब्बे सालले के बतलायो, वास्तुकलाको देख्यौ धराप ?
वेदको पाले बाहुन राख्यौ, देख्यो समाजै सडेदो पाप ?
तासघरमा फू फू हावा, सड्दा, झूठा सब दावा
स्वर्ग कल्पियौ नरक बनायौ,
कमसेकम ता गर्दभ जाति बीच पृथिवीमा त छ !
अणुबम बनाई हामी बुज्रुग पशु पनि मार्ने सुर के छ ?
झूठा–शानी ए ज्याक्–ड ?
घाम र हावा कपडा हाम्रो, तिम्रो शरीरमा काँढा ल !
प्रकृतानन्दी तारस्वरमा, सच्चा कलाको मर्मज्ञ,
बोल्छु गधा म फुइँ नझिक ?
हामी गधाको बुद्धि सिक !
गिर्न उडेथ्यौ यसरी ल !
मालिक मानिस ! ही ! ही ! ह !
ही ही हः हः ! ही ही हः !