गजल–सन्दर्भ
नेपाली गजल लेखन परम्पराले बकाइदा छलाङ मारिसकेको छ । केही वर्ष अघिसम्म पनि गजल भनेको सिर्फ प्रणय–प्रसङ्ग, शृङ्गारभाव तथा प्रेम–विछोडको सेरोफेरोमा मात्रै केन्द्रित भएर लेखिने विधा हो भनिन्थ्यो । यस्तो मान्यताको साँध–सीमाना नाघेर अहिले नेपाली गजलले नदेखेको र नलेखेको विषयक्षेत्र खोजि पस्नुपर्ने विषय बनिसकेको छ । समसामयिक सन्दर्भ, विसङ्गत पर्यावरण, अभाव अनिकाल, नेता र नेतृत्व, राजनीतिक आघात–प्रतिघात, आर्थिक दूराचार–भ्रष्टाचार जस्ता विषयमा समेत लेख्न, छाप्न र गाउन थालिएपछि नै नेपाली गजल अहिले सर्वाधिक लोकप्रिय बन्न पुगेको हो भन्ने ठम्याइमा पुग्नैपर्ने भएको छ । लेख्दा निकै जटिल प्रविधि अपनाउनुपर्ने हास्यव्यङ्ग्य शैलीमा समेत हिजोआज गजल आउन थालेका छन् । दोहोरी–गजलमा छेडपेच आरम्भ भएको छ । यसरी जबरजस्त केही नयाँ प्रवृत्ति र प्रभावहरू गजलमा देखा पर्दैछन् । यसलाई सकारात्मक अर्थमा स्वीकर गर्नुपर्छ ।
धेरै नयाँ र पुराना गजलशिल्पीहरू गजलमा जमेका छन् । पुराना र नयाँका बीच गजलमार्फत सुमधुर सहसम्बन्ध हुर्किरहेको छ । अन्यान्य विधामा यस्तो सहसम्बन्ध उतिसाह्रो रुचाइएको देखिन्न । डाह, ईष्र्या र खट्टा तान्ने अथवा एकले अर्कोलाई गन्ती गर्न समेत नमान्ने प्रवृत्ति कमसेकम गजल–स्रष्टाहरूबीच झाँगिएको कमै देखिन्छ । नेपाली साहित्यमा यो पन्पिनुपर्ने, हुर्किनु र मौलाउनु पर्ने प्रवृत्ति हो भन्ने लाग्छ ।
समग्र साहित्यको राजधानी उपत्याकालाई मान्नेहरू धेरै छन् । यस्तो सोचलाई राजधानी र मोफसलबीच रहँदै आएको खाडल अझ गहिरो पार्ने अभद्र सोच हो भनिदिँए फरक नपर्ला । यद्यपि गजलका राजधानीहरू मोफसलतिरै विस्तारित भइरहेका छन् । राष्ट्रिय रूपमा निस्कने पत्रपत्रिकामा मात्र होइन अहिले स्थानीय स्तरमा निस्किरहेका प्राय सबैजसो पत्रपत्रिका समेत एउटा न एउटा गजल नबोकी प्रकाशित हुन छाडेका छन् । स्थानीय स्तरका एफएमहरूमा दिनहँुजसो गजल प्रस्तुतिका कार्यक्रम प्रशारण भइरहेका छन् । प्रविधिले सजिलो बनाउँदै लगेको छ । गजलशिल्पी आफ्नै घरको कोठाबाट रेडियो मार्फत एकैपटक स्रोतासमक्ष आफ्नो गजल आफनै आवाजमा सुनाउन सक्छ । हरेक दिन अनेकानेक ठाउँमा दर्जनौँ गजल प्रस्तुतिका मञ्चहरू आयोजित भइरहेका छन् । यसर्थ पनि अब भन्नै पर्ने भएको छ– गजल वर्तमानको सर्वाधिक लोकप्रिय विधा हो ।

गजलशिल्पी मधु पोखरेल
झण्डै आधा दर्जन काव्यकृतिका स्रष्टा मधु पोखरेल सिलीगुडीबाट प्रकाशित हुने ‘बाडुली’ नामक पत्रिकामा २०२५ सालतिरै ‘मेरो देश’ शीर्षकको कविता मार्फत पहिलोपटक देखा परेका हुन् । लामो समयदेखि सरकारी सेवामा संलग्न पोखरेल ३ ओटा कवितासङ्ग्रह र १ खण्डकाव्य पछि ‘तिमी आइनौ’ (२०६७) गजलसङ्ग्रह लिएर उपस्थित भएका छन् । पूर्वाञ्चलमा आयोजना हुने साहित्यिक समारोहहरूमा सस्वर आफ्ना गजल सिर्जनासँगै निरन्तर र सार्थक उपस्थिति जनाउँदै आएका पोखरेलका गजल–फाँकीहरू विभिन्न पत्रपत्रिकामा बाक्लै प्रकाशित हुँदैआएका थिए । फुटकर गजल–स्रष्टाका रूपमा स्थपित भइसकेर मात्रै आफ्ना प्रियपाठक बीच गजलसङ्ग्रह प्रस्तुत गर्ने जाँगर देखाएका छन् पोखरेलले ।
नयाँ भावनाले र नौलो विचारले
कुसंस्कारलाई छिले पो गजल् भो ।
(पृ. ६०)
गजलसम्बन्धी यस्तो वैचारिक मान्यता सहित गजल लेखनमा सक्रिय गजलशिल्पी मधु पोखरेलको ‘तिमी आइनौ’ गजल सङ्ग्रहमा ७३ ओटा गजल सङ्गृहीत छन् । हरेक गजलको पहिलो पङ्क्तिका आरम्भका केही शब्दहरूलाई टिपेर गजलको शीर्षक जुराइएको छ । गजलको संरचना वा प्रविधिका बारेमा केही भन्ने हैसियत मेरो छैन । काफिया र रदिफ मिले नमिलेको, बहरहरूको संरचना उचित ढङ्गले भए नभएको केलाउने उद्देश्य पनि मेरो होइन । विषयको व्याप्तिसँगैँ मधु पोखेरलले आफ्ना गजलमार्फत अभिव्यक्त गरेको व्यङ्ग्य–विद्रोहलाई सरसरी तर सङ्क्षेपमा केलाउने प्रयत्न यस आलेखमा गर्न खोजिएको छ । भलै, यो पाठकीय प्रभाव मात्रै किन नठहरियोस् ।

‘तिमी आइनौ’ सङ्ग्रहको विषयक्षेत्र
मधु पोखरेलका गजलले ओगटेका विषयलाई पहिचान गर्दा तीनओटा मूलक्षेत्र देखा पर्दछन्– १) प्रणय–प्रसङ्ग, २) समसामयिक स्थितिको चित्रण, ३) विसङ्गत पर्यावरणाथि व्यङ्ग्य । प्रणय–प्रसङ्गलाई मूलआधार बनाएर रचना गरिएका गजलहरूमा पोखरेलले मिलन हुँदाका सम्मोहित क्षणहरू, आपसमा अनुरक्त र अविछिन्न अनुराग, रूप सौन्दर्य, आगत र विगत, हाँसो खुसी उमङ्गमा केन्द्रित ललित वर्णनको कलात्मक चित्रणमा समुचित ध्यान पु¥याएको देखिन्छ । विछोड हुँदा अथवा भेट नहुँदा वा भेटेर छुट्टिँदाका तड्पाइयुक्त वियोगजन्य सन्दर्भहरूलाई पनि उत्तिकै कलात्मक बान्कीमा बुनिएको छ । समसामयिक स्थितिको चित्रण गर्दा पोखरेललाई आफ्ना गजलमा मानवीय मूल्यको खोजी, नैतिकताक ह्रास हुँदै गएकोमा अग्घोर चिन्ता, श्रम र श्रमशील वर्गप्रति सहानुभूति, सङ्घर्षशील चेतना, सामाजिक परिवर्तनप्रति समर्पण, अग्रगति र प्रगतिको कामनाले संवेदित भएको भेटिन्छ । तेस्रो किसिमको विषय–क्षेत्र सङ्ग्रहका गजलको उल्लेख्य पक्ष हो– विसङ्गत पर्यावरणमाथि व्यङ्ग्य । यस सङ्ग्रहका गजल पढ्दै जाँदा गजलशिल्पी पोखरेललाई एउटा कुशल व्यङ्ग्यकारका रूपमा फेला पार्न सकिन्छ । सहज र स्वाभाविक सदर्भमै सोझो अर्थ दिँदाँदिँदै गजलका कतिपय फाँकीहरू परिस्थितिजन्य विसङ्गतिलाई प्रहार गर्न स्वतः बाङ्गिन पुगेका छन् । यो पोखरेलको अन्तरमनमा रहेको व्यङ्ग्य–चेतना हो । यस किसिमले स्वतः बाङ्गिन पुगेका केही फाँकी उदाहरणका रूपमा यसरी टिप्न सकिन्छ ः
शान्तिका नगरा ठोकी खबरदारी ग¥यौ भने–
मयलका गन्धका पोका कसैले धुन्छ कि अब ।
(पृ. २)

यस्तै हो कि, सधैं यस्तै, माटो नै दोषी बन्छ र ?
सशक्त शक्तिका स्रोत पुरानै डालीमा देखेँ ।
(पृ. १०)

नजानिँदो त्यो धार छ
जताततै प्रहार छ
विषाक्त रङ्गमञ्चमा
निकृष्ट सूत्राधार छ ।
(पृ. १६)

छाती फुकाएर हिँड्न खै अझै सकिएन
हाम्रै ढाडमा खैनी मोल्दैछ खुसी नहुनोस् हजूर ।
(पृ.२२)

यसरी विषयलाई सोझो सन्दर्भमा अभिव्यक्त गर्दागर्दै गजलका थुप्रै शेरहरू बाङ्गिएर प्रस्तुतिलाई व्यङ्ग्यात्मक वाणि दिन सफल भएका छन् । यही सफलताले गजलकार मधु पोखरेललाई व्यङ्ग्यकारको कित्तामा पनि मज्जैसँग उभ्याएको छ भन्न सकिन्छ ।

गजलले ओकलेको विसङ्गत सन्दर्भ
र पोखरेलको व्यङ्ग्य चेतना
परिवर्तनप्रति समर्पित नेपाली जनताको बलिदानी सङ्घर्षकै परिणाम स्वरूप यो देशमा उल्लेखनीय राजनीतिक परिवर्तनहरू हुँदै आएका छन् । तथापि हरेक परिवर्तनपछि नेतृत्व तहले परिवर्तनलाई स्थायित्व दिन नसकेको, आफ्नै वैयक्तिक स्वार्थमा अलमलिएर जनताको साँचो अगुवाइ गर्न नसकेको, सत्ता स्वार्थलाई प्राथमिकता दिँदै आम जनताको आकाङ्क्षामाथि तुषारापात गरिरहेको विसङ्गत वर्तमानप्रति पोखरेल एकदमै असन्तुष्ट छन् । परिवर्तित परिस्थितिमा अगुवाई नेतृत्व तह भाषणमा नयाँ नेपालको रट त लगाउँछ, तर व्यवहारिक जीवनमा ऊ पुरानै जडाउरी, पुरानो संस्कार, पुराना मत र मान्यतामा जुकोझैँ टाँस्सिएको टाँस्सियै छ । पोखरेल यस्तो नेतृत्वलाई आफ्ना गजलमा नयाँ जोगी र नयाँ बोतलका रूपमा प्रतीकीकरण गर्दै व्यङ्ग्य गर्छन् ।
फेरिए जोगीका चाल, नयाँ नेपाल बन्छ कि
पीडा ती जनका देखी पत्थर नै रुन्छ कि अब ।
(पृ. २)

जोगी नयाँ फेरिए नि मादल बज्छ उस्तै उस्तै
नयाँ बोतल नशा उस्तै अहंकारले गर्छ रजाइँ ।
(पृ. ९)

धून फेरियो, जोगी उनै छन् हेर
उज्यालो खोज्दै कहाँ जान्छौ कान्छा ।

नयाँ बोतलले पीडा कम हुन्छ र ?
पुरानै छ मदिरा कति तान्छौ कान्छा ।
(पृ.३२)

के शासन सत्ता प्राप्तिलाई मूलमन्त्र बनाउनु नै लोकतन्त्र हो ? आफूले बोलेको कुरा मात्रै सर्वसत्य हो, अरूका सबै कुरा झूठ हुन् ? आफू मात्रै दूधले नुहाएको अरू सबै फोहर नालीमा डुबेका छन् ? यस्ता प्रश्नहरूमा पोखरेलको मस्तिष्क ज्याद्रो पाराले घोत्लिने गरेको छ । रगतको मूल्य चुकाएर नेपाली जनताले प्राप्त गरेको लोकतन्त्रलाई बदनाम गर्न र परिभाषा नै बिगार्नतिर धुत्त भएकाहरूलाई गजल मार्फत् पाखरेलले यसरी थप्पड हानेका छन् ः
कसरी भनौँ लोकतन्त्रै छ प्यारो
कि सत्ता अझै पाखुरा हो कि साथी ।
(पृ. ६२)

छ कुर्सी उज्यालो र देशै अँध्यारो
सहारा हरायो र बद्नाम पायौ ।
पृ. ६३

कुर्सी अर्थात् सत्ता प्राप्तिको निर्लज्ज खेलमा सरिक भएर यसरी लोकतन्त्रलाई बदनाम गर्नेहरूले लोकतन्त्रसँगै आफू बद्नाम भएको भेउ पाएका छैनन् । उनीहरू कुर्सीको उज्यालोमा रमाइरहँदा देश अँध्यारो गर्तमा भाँसिदै गएको बोध भने स्रष्टा पोखरेललाई राम्रोसँग भएको छ भन्ने कुराका दसी हो उपर्युक्त फाँकी ।
राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने सङ्गीन समयतिर ध्यानै नदिई सत्ताको खिचातानीमा नराम्रोसँग फसेका अगुवाहरूको घृणित मनो–व्यापारले हाम्रा प्रिय सहिदलाई पनि आफू सत्तामा उक्लने भ¥याङ्मात्र बनाएको सत्य प्रकट गर्छन् पोखरेल । केन्द्रमा व्यङ्ग्य भाव भरिएका मर्मान्तक केही फाँकी यस्ता छन् ः
सहिदका भ¥याङ चढेका ती खै कता भुलिए ?
टुहुरा र विधवाका शोकहरूलाई सलाम छ ।
(पृ. १२)

सहिदका सपना बर्सेनि चढाएको माला नै काफी छ
नेता बन्न त्याग र साइत चाहिन्न, दल फेरे पुग्छ ।
(पृ. १७)

समय–सन्दर्भमा देखा परेका विकृतिलाई पहिचान गर्ने सूक्ष्म चेतनाले पूर्ण सचेत देखिन्छन् गजलकार पोखरेल । यो सचेतना विना व्यङ्ग्य प्रहार यसरी कहाँ सशक्त हुन सक्छ र ?
तिमीले भुल्यायौ र पो देश दुख्छ
स्वयम् मुस्कुरायौ र पो देश दुख्छ ।
(पृ. १९)

पोखरेल भन्छन्– तिमीले हामीलाई अलमल्यायौ, तिम्रो अलमलले हामीलाई पीडा मात्र दिँदै छ । गन्तव्य स्पष्ट हुँदाहुँदै पनि हामीलाई अलमल्याएर तिमी चाहिँ सत्तासुखमा मुस्कुराइरहेका छौ । तिम्रो खुसीमा त हामी पनि खुसी हुनुपर्ने हो तर हामी भने आफ्नो भविष्य अन्योलपूर्ण र अन्धकार देखेर रोइरहेका छौँ । हामी जनता हौँ । तिमी शासक भयौ । हामी दुखी हुनु भनेको देश दुख्नु हो । तिम आफू हाँस्छौँ र हामीलाई रुवाउँछौँ । पोखरेलको मनोचेतनामा वर्तमान यसरी अत्याधुनिक डिजिटल क्यामरेलाले खिचेको तस्विर जस्तै भएर अभिव्यक्त भएको छ । यस्ता अभिव्यक्तिहरू सङ्ग्रहका गजलहरूमा यत्रतत्र फेला पर्छन् ।
शासन, राजनीति, अर्थतन्त्र आदि सबैको केन्द्र रहेको राजधानी काठमाडौँलाई प्रतीकीकरण गर्दै सशक्त व्यङ्ग्य गरिएको एउटा सिङ्गै गजल छ सङ्ग्रहभित्र । व्यङ्ग्य चेतनाका सन्दर्भमा यो धेरै शक्तिशाली गजल हो । अभिव्यक्तिको विद्रूपीकरण गर्ने क्रममा गजलकारले काठमाडौँलाई मोफसलको कमाइ हसुर्ने स्वाँठ, विकृति र विसङ्गति भरिएको गहिरो खाडल, कथित सभ्यताका नाममा क्रंक्रिटको जङ्गल उमारेर मोफसलमाथि धाक जमाउने सामन्त, आफू व्यभिचार र अत्याचारको केन्द्रिय थलो बनेको छ तर यसको दोष चाहिँ गाउँलाई थोपर्ने नकच्चरो र बेअर्थमा टर्टराइरहने कुवाको फोहरी भ्यागुताको रूपमा चित्रण गरेका छन् । मोफसलमा रहेका जिल्लाहरूले रासनपानी नपठाइदिए काठमाडौँको बाँच्ने आधार बाँकी रहने थिएन । तथपि म देश हाँकिरेको छु भन्दै धाक लगाउने काठमाडौलाई स्वादिलो दनक दिएको छ यस गजलले :
मोफसलको कमाइ खाँदै बसेको छ काठमाडौँ
एक्लै देश हाँक्छु भन्दै कस्सेको छ काठमाण्डौ ।
(पृ. ५२)

गजलशिल्पी मधु पोखरेलको व्यङ्ग्य प्रहारको निसाना स्वयं गजलकारहरू पनि बनेका छन् यहाँ । गजल संरचनाको मर्म नबुझी, यसका निर्धारित नियमहरूको पालना नगरी, रदिफ काफियाका बीच आवश्यक सन्तुलन नमिलाई गजल रचना गर्नेहरूप्रति मीठो प्रहार गरेका छन् पोखरेलले : 
नदी बग्नुपर्ने भयो बाढ जस्तो
कसिङ्गर सबै त्यो मिलाए गजल्मा ।
(पृ. ७०)

हास्यव्यङ्ग्यात्मक अभिव्यक्तिलाई सशक्त र बलशाली बनाउने काम हाम्रो लोकजीवनमा रहेका उखानटुक्का तथा र लोकोक्तिहरूले गर्दछन् । अधिकांश नेपाली हास्यव्यङ्ग्य स्रष्टाहरूले आफ्ना सिर्जनामा यी उखानटुक्काहरूलाई व्यापक ढङ्गले प्रयोग गरेको पाइन्छ । ‘तिमी आइनौँ’ गजलसङ्ग्रहमा सङ्गृहीत व्यङ्ग्यार्थ भाव बोकेका गजलहरूमा पनि लोकप्रचलित उखानटुक्काहरूको समुचित प्रयोग गरिएको छ । ‘नयाँ बोतलमा पुरानै रक्सी’, ‘जुन जोगी आए पनि कानै चिरेका’, ‘कहीँ नभएको जात्रा’, ‘अचानोको चोट खुकुरीलाई...’, ‘नपाउनेले केरा पायो....’, ‘पानी बिनाको माछो’, ‘नमच्चिने पीङका सय झड्का’, ‘आगोसँग न जिस्किनु’, ‘सतीको सराप’, ‘सतीसाल झै उभिनु’ जस्ता उखान टुक्काको प्रयोगद्वारा गजलमा व्यक्त व्यङ्ग्यभावलाई अझ गम्भीर, सशक्त र प्रभावपूर्ण बनाइएको छ ।
सङ्ग्रहका गजलले पर्गेलेको विसङ्गत पर्यावरणका केही प्रतिनिधि सन्दर्भहरूको छोटोमोटो चर्चा यहाँ गरियो अथवा भनौँ सङ्केतसम्म गरियो । समग्रमा भन्नुपर्दा विसङ्गतिपूर्ण परिघटनाहरूको पर्याय बनिरहेको छ हाम्रो वर्तमान । यस सङ्ग्रहका अधिकतम् गजलहरूले तिनै विसङ्गत परिघटनामाथि हारपरिहास गरेका छन्, व्यङ्ग्य प्रहार गरेका छन् । केही सिङ्गै गजल व्ययङ्ग्यात्मक छन् भने केही गजलका फाँकीहरूमा प्रकारान्तरले व्यङ्ग्य–विद्रोह गरिएको छ । नेपाली गजल लेखनमा व्यङ्ग्यात्मक शैलीको न्यूनता रहिरहेको पृष्ठभूमिमा मधु पोखरेलको यस कृतिले गजलमा व्यङ्ग्यात्मकताको तिर्खा मेटाउन एक हदसम्म सफलता हासिल गरेको छ । व्यङ्ग्यात्मकता पोखरेलका गजलहरूको मूल प्रवृतिकै रूपमा प्रकट भएको छ । सङ्ग्रहका धेरै गजल फाँकीले यो कुराको पुष्टि गरेका छन् । आगामी दिनमा पोखरेल जस्ता गजलशिल्पीबाट सिङ्गै व्यङ्ग्यात्मक गजलसङ्ग्रहको अपेक्षा र आशा किन नगर्ने ? यसतर्फ स्रष्टा पोखरेलको ध्यानाकृष्ट होस् भनी आग्रह गर्नु अन्यथा हुने छैन ।

अन्त्यमा सङ्ग्रहभित्रका केही व्यङ्ग्यात्मक भाव सम्प्रेषण गर्ने गजल फाँकीहरू उठाउँदै यो चर्चाको बिट मार्न चाहन्छु :
स्वच्छ सफा स्निग्ध नदी बग्नुपर्ने बेला
फोहर बोकी ढलतिरै बहेको छ आज
(पृ.५८)

कोइलीको धून सुन्न पाइन्नन क्यार मधु
काग अझै ओठ खोल्दैछ, खुसी नहुनोस् हजूर ।
(पृ.२२)

कोहनुर आज यहाँ नटल्कने फाली भयो
नसोचेको मान्छे आज बगैँचाको माली भयो

कालोलाई कालो भन्ने दिन सकिएछ क्यार
विवशताको थपडी नै कसैलाई ताली भयो ।
(पृ. ४३)

अहो मिष्ट बोली कुरा हो कि साथी
कतै त्यो कुहेको सुरा हो कि साथी
(पृ. ६२)

विकृति र विसङ्गति बोकेको छ चारैतिर
अरूलाई गवाँर ठानी ठस्केको छ काठमाडौँ ।
(पृ.४७)

पाटे चप्पल, झुपडीले नयाँबाटो रोजे
आशामुखी जनतामा छोक्रा पर्यो हजूर ।
(पृ. ५२)

कलङ्की, काठमाडौँ