गैराबारे कान्छो

यसपाली
सभासद भएको खबर
स्थानीय रेडियोले फुकेपछि
कान्छाका बाले निधारमा
रातो टिका लगाइदिँदै भने–
हेर कान्छा
तैँले हलो जोत्दा
विकासे धान फलेकै थियो
जसोतसो भए पनि
घरको काम चलेकै थियो
अब सभासद भइस् रे
संविधान बनाउन जान लागिस् रे
यो संविधान भनेको कस्तो धान रहेछ ?
बास्मती धान
तिल्की धान
मन्सुली धान त
यहीँ पनि बनाउन सक्थिस्
ठूला बडाले बनाउन नसकेको धान
तँ कसरी बनाउलास् ?
होस गरेस् है कान्छा
हामी गरिबलाई फसाउलान्
सभासद भनेर
जिन्दगीभरि हली बसाउलान्
हामीलाई मुखियाले झैं
फेरि मुगलान पसाउलान् ।

अस्ती रेडियोमा मात्र सुनेको
विदेशीले दिएको
कुन मकैको बिउ फलेन रे
कुन धान रोपेको झुलेन रे
नयाँ धान बनाउने भन्दै
नक्कली बिउ भिराउलान्
खाने एउटाले
हामी गरिबलाई तिराउलान्
त अनपढलाई छक्काउँदै
नक्कली धान देशमा छिराउलान्
राम्रो गौशाला नभएको देशलाई
अनेक प्रयोगशाला बनाउलान् ।

कान्छोले झोला बोक्दै भन्यो–
पिर नगर्नुस् बा
म पनि कम बाठो छैन
हाम्रो नेताले नभनेसम्म
एउटा पनि ल्याप्चे लाउँदैन
राम्रो धान नपाएसम्म गाउँमै आउँदैन ।