जब जब फूलहरू किचिमिची पारिन्छन्,
आफ्नै श्रृजनामाथि बमका गोला र वारुद बर्साइन्छन्,
तब तब म आफैँसित प्रश्न गर्छु
‘मानवता’ के हो ?
यो कहाँ छ ?
केवल शब्दकोशका पन्नाहरूमा ?
या सभ्य र सुसंस्कृत भनिनेहरूको मुखौटामा ?
जसको कुनै औचित्य छैन !
मेरो गुनासो बनावटी होइन,
मेरो आरोप तर्कहीन छैन
मैले खुबै खोजेँ,
उनीहरूको आँखामा हेरेँ,
मनभित्र खोस्रिएँ,
विचारमा विचरण गरेँ !
अहँ कतै पाइन,
पाउँदै पाइन !
मलाई थाहै थिएन,
‘मानवता’ को मैझारो भइसकेछ !
सायद, संवेदना विहीन भैसकेको यो संसारमा
मानवताको कुनै अर्थ रहेन
बम र वारुदको विकल्प भएर
उसलाई बाँच्ने ईच्छा भएन !
असह्य पीडाले छटपटाउँदै,
मानवताको भिख माग्दै,
मैझारो भैसकेको मानवतालाई
म खोजिरहेछु,
खोजिरहेछु !
मेरो विडम्वना !!
‘मानवता’ को मैझारो भैसकेछ !
काठमाडौं