मास्टर साहेबको छोरीको पढाइ आइएसम्म सकिएको थियो । उनी आफैं पनि निमाविका शिक्षक थिए र बडा मुश्किलले जीवनयापन गर्दै आएका थिए तर उनको हृदय अति विशाल थियो । आफ्नो घरको दुई कठ्ठा जग्गामध्ये पनि आधा कठ्ठा जति जग्गा साहित्यिक संस्थालाई दान दिएर मागजोग गरेर त्यहाँ यौटा भवन बनाइदिएका थिए । आफू पनि सृजनशील साहित्यकार भएकाले निरन्तर सृजना गर्दै पनि आइरहेका थिए । साथै साहित्यिक पत्रिका पनि चलाउँदै थिए । उनले यौटा निम्न आर्थिक स्तरको परिवारको केटालाई कर गरेर विद्यालयमा हाली शुल्क माफ गराएर पढाउन लगाएका पनि थिए ।

अहिले त्यो चेला करोडौंको हालीमुहालीमा रहेको हुनाले र उसको ठूलै पहुँच पनि भएकाले छोरीलाई कुनै काममा लगाइदेला कि भन्ने आशले उनी उसको महलमा पुगे । सर्वप्रथम त साहुनीसित (चेलाकी श्रीमती) भेट भयो । उनीले पनि गुरु आएको देखेर हत्तपत्त बैठक कोठामा लगेर विराजमान गराइन् र चिया टक्र्याइन् र श्रीमानलाई खबर गरिन् । काठमाडौंको जाडोको महिनामा पनि बैठक कोठा निकै न्यानो थियो र सोफामुनि बाक्लै कार्पेट बिच्छ्याएको थियो ।

एकै छिनपछि चेला पनि अगाडि आए र गुरुलाई नम्रतापूर्वक नमस्कार गरेर सँगै बसे । शिष्टाचारका कुरापछि गुरुले आफ्नो मनको कुरा चेलासमक्ष राखे । चेलाले तुरुन्तै यौटा काम गर्नेलाई बोलाएर गुरुको खुट्टामुनि अर्को गलैंचा थप्न लगाए । गुरुले भैगो भन्दा भन्दै पनि चेलाले मानेनन् र गलैंचा थप गराएरै छाडे । काम गर्ने गइसकेपछि चेलाले गुरुलाई भने– ‘थाहा छ सर, यो गलैंचा बिच्छ्याउने मानिसले एमए पास गरेको छ तर मकहाँ यस्ता काम पनि गरेर बसिरहेको छ । हजुरकी छोरीले भर्खर आईए मात्र पास गरेकी छिन् अनि म उनीलाई के काम दिलाउन सकुँला र !’

गुरुको दिमाग झन्न भयो र उनले पनि रोबसाथ भने– ‘सम्झना छ, ती दिनहरू जब तिमीलाई मैले कर गरेर विद्यालयमा भर्ना गराएर शुल्क माफी पनि गराएको थिएँ । आज तिमी मलाई यस्ता कुरा गरेर टार्न खोज्छौ ?’ चेलाले निकै बेर सोचे अनि गुरुलाई नरिसाउन अनुनय गर्दै यौटा मानिसको नाम लिएर उसकहाँ जान भने । नभन्दै त्यस मानिसकहाँ जानासाथ उनकी छोरीको राम्रै ठाउँमा राम्रै जागीर लागी पनि हाल्यो । मानिसको नाम किन भन्नु, यो सबै सत्य कुरा हो ।
कमलपोखरी, काठमाडौं