युवाशक्ति बेचिएर कतार र खाडी
घोडाभेडा चराउँदै त्यतै मरून् झाडी
स्वरोज्गार चाहिँदैन शिर काट्नेलाई
लाज छैन कमिसनको तर चाट्नेलाई ।

ठेक्का पट्टा मात्रै पेसा आफ्नो बनाएर
भ्रष्टाचारको कुहिगन्धे नाली गनाएर
किनारामा उभिने त्यो को हो नाक थुनी
ती सबैले छिर्नुपर्छ मेरै टाङ मुनि ।

यो बाटो नै बिव्ल्याँटो छ जति हिँड उहीँ
घुमिफिरी रूम्जाटार जति घुम उहीँ
घिच्नेहरू घिचिरेछन् छाति ठोकी–ठोकी
विदेशीकै इसारामा भारी बोकी–बोकी ।

यो माटो नै बैगुनी छ किन पार्ने खुसी
नराखेर छोक्रा पनि भेट्नै चुसी–चुसी
आफ्नै डम्फू बजाउँदै अहंकार बोकी
पाउ मोली सिङ्गै देश जिम्मा दिने हो कि ।

संविधान जाबो कुरा किन लेख्नु प¥यो ?
पैले पनि छँदै थियो के चैं खालो स¥यो ?
सहमति सहमति मूलमन्त्र यही
छक्याउन पाए भयो अरू वर्ष केही ।

लाग्नुपर्छ घून बनी धमिरा र कीरा
हैन भने करौँतीले पार्दै चिरा–चिरा
कित्ताकाट गर्नैपर्छ लाउन भागबण्डा
के काम यो राष्ट्रियता पोले हुन्छ झण्डा ।

२१ असोज २०६९
कलङ्की, काठमाडौँ