सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बागीहरूलाई बधाई

Nepal Telecom ad

तीस वर्ष पञ्चायतसँग द्रोह गर्दाको विद्रोही बानी उहाँसँग ज्यूँकात्युँ छ भन्ने कुराको साह्रै राम्रो उदाहरण हो यो । विद्रोह गर्नु आदर्श परम्परा हो, उच्च नैतिकता, साहस र पराक्रमको प्रस्फुटन हो । उहाँ अहिले जे गरिरहनु भएको छ त्यो विद्रोहको पर्याय मात्र होइन खुद विद्रोह हो र उहाँ यसो गरेर प्रशंसायोग्य पात्रको रुपमा प्रस्तुत हुनु भएको छ । लारेलुरे मनुवा वा काँतर र सोझो लठुवाले विद्रोह गर्नु त परै जाओस् विद्रोह बोल्न र विद्रोह सोच्न पनि सक्दैन । वीरहरू नै विद्रोह गर्छन्, वीरहरू नै विद्रोहको अगुवाई र नेतृत्व गर्छन् । वीरहरूले गर्ने काम चानचुने हुँदैहुन्न । विद्रोह वीरहरूको वीरतापूर्ण खेल हो । उहाँ अहिले त्यही खेल खेलिरहनु भएको छ । यस्ता बहादुर विद्रोहीहरूलाई बधाई दिन छोडेर गाली गर्नु, बदमास् हो भन्नु, बागी, द्रोही र अन्तर्घातीको आरोप लगाउनु मनासिव होइन । विद्रोह उहाँको नशानशामा छ । बोली उहाँको गोली हो । बोलीको गोली पड्किएपछि कहाँ, कता र कस्लाई लाग्छ त्यसको छ्यानबिचार गर्ने फुर्सद पनि कहाँ छ र उहाँलाई ? गोली जो पड्किई सक्यो । जस्ले जे भन्यो लुरुलुरु त्यही गरिरहने लुरे मान्छे उहाँ होइन । उहाँको बागी बिचारले बोलाबेला बेमत्लबमा बबण्डर खडा गर्छ । त्यो बबण्डर नै विद्रोह हो । उहॉ विनोदप्रियतालाई ठ्याम्मै मन पराउनु हुन्न । विद्रोह उहाँको ज्यान हो, प्राण हो । उहाँ अहिले त्यसैको प्राण–प्रतिष्ठा गरेर वाग्वाण छोडिरहनु भएको छ ।
नेपाली भाषाको एउटा सर्वमान्य मानिएको ठूलो पोथा छ– ‘वृहत् नेपाली शव्दकोश’ । यसमा भएका अरु कुनै कुरामा मतविरोध जाहेर गरिरहनुको औचित्य छैन सायद । तर बागी भन्ने शव्दको अर्थ जो दिइएको छ त्यो वृहत् पोथामा– त्यसमाथि भने गम्भीर असहमति दर्ज गर्नु पर्ने भएको छ । “बागी– वि. (अ.) देश वा राज्यका विरुद्ध द्रोह गर्ने, विद्रोह गर्ने, विप्लवी ।” उक्त पोथामा प्रस्तुत गरिएको बागीको अर्थ यही हो । अर्थका नाममा यसरी अनर्थ लगाइएपछि धेरै कुरा बेअर्थका बन्न पुग्छन् । यसरी बन्न पुगेका बेअर्थका कुराको अर्थ खोज्नुमा कुनै गुढार्थ बा“की रहन्न । विद्रोह गर्नुको अर्थ बागी हुनु हो । तर उहाँ देश वा राज्यका विरुद्ध द्रोह गरिरहनु भएको छैन । उहाँ त विद्रोह गरिरहनु भएको छ आफ्नै दलका पनि आफ्नै नेताहरूले गर्नु भएको आफ्नै निर्णयको विरुद्धमा । साँच्चै भन्ने हो भने यो विद्रोह उहाँको आफैंमाथिको विद्रोह पनि हो । उहाँ भनेको व्यक्ति विशेष हो, अनि व्यक्ति विशेषमाथि गरिएको एउटा विद्रोह राज्य र देश विरुद्ध हुन सक्छ त ? निश्चय पनि सक्दैन । जाबो एउटा चुनावी टिकट आफूले नपाएपछि एउटा व्यक्ति विशेषले आफ्नो एउटा दलको नाथे एउटा नेतास“ग आफू एउटा बागी उम्मेद्वार बन्ने घोषणाका साथ गरिएको एउटा बोली–विद्रोह राज्य विरुद्धको विप्लव त होइन नि ! त्यसैकारण बृहत् नेपाली शव्दकोशले खुट्याएको बागीको अर्थ स्वयम् बागी बन्न पुगेको छ ।
निस्वार्थी र त्यागी पुरुष नै बागी बनिदिएपछि चुनावका लागि गम्भीर प्रभाव त पर्ने नै भयो । चुनावमै प्रभाव परेपछि परिणाम अप्रभावी नहुने ठाउँ पनि त रहेन नि ! अब बुझ्नोस् बागीहरूको बल र बुता । कुरो बल र बुतामा मात्र सिमीत छैन, बागीबागी बीचको एकताको पनि कुरो चैते हुरी जस्तो हुइँकी रहेको छ । यदि त्यस्तै भयो भने यस्को दुस्प्रभाव चिताइ नसक्नुको हुने निश्चित छ । तपाईं नै भन्नोस् त स्थितिको यो गम्भीरताले बागी र विद्रोहीहरूको वीरता र बहादुरी बमन गरिरहेको छैन ? स्थिति जति गम्भीर भए पनि तरल नै छ । ठोस बनिसकेको छैन । जब ठोस बन्छ, धेरैको होसले ठाउँ छोड्छ । होसले ठाउँ छोडेपछि जोस पनि सोत्र्यान्त पर्छ (होस विनाको जोस आखिर के कामको नै हुन्छ र !) अनि दोषादोष शुरु हुन्छ, ठोसाठोस् दोहोरिन्छ र आफैंभित्र आक्रोशको आगो सल्किन्छ । यही स्थितिको आकलन गरेर केही बुज्रुक र उपबुज्रुकहरू बागी विद्रोहीहरूलाई भष्मासुरको संज्ञा दिइरहेका छन् । मलाई लाग्दछ यो बुज्रुकहरूको उपबुज्रुक्याईं मात्रै हो ।
बर्तमानका यी बागीहरूले हिजो पनि राष्ट्र र जनताका लागि विद्रोह गरेका थिए, आज पनि राष्ट्र र जनताका लागि विद्रोह गरिरहेका छन् । विद्रोह गर्नु उनीहरूको नैसर्गिक अधिकार हो । यो अधिकारको उपभोग उनीहरूले हिजोको निरङ्कुश पञ्चायती कालरात्रीको बेलामा पनि गरेका थिए । २०६२÷०६३ अघि पनि गरेका थिए । उनीहरूकै विद्रोहको परिणामस्वरुप आज हामीले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र पाएका छौं । प्रजातन्त्रमा पनि उनीहरूले विद्रोह गरे, लोबतन्त्र र गणतन्त्रमा पनि विद्रोह गरिरहेका छन् । तर उनीहरूको यो विद्रोह प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्रकाको विरुद्ध होइन । प्रजातन्त्रको जगेर्ना गर्न, प्रजातान्त्रिक आचरण र संस्कारको मूल्य स्थापित गर्न, सधैं शिशु रहेको गणतन्त्रलाई तरुण र युवा बनाउन उनीहरू बागी बनिरहेका छन् । उनीहरूको विद्रोही हुलभित्र उहाँ पनि हुनु हुन्छ । खुद उहाँको नेतृत्वमा विद्रोह मडारिइरहेको छ । विद्रोहको वीरतापूर्ण परम्परा कायम राख्ने यो मात्रै उत्तम उपाय हो । बागीहरू निरुपाय भएर बस्न रुचाउँदैनन् । बागीहरूको बिग्बिगी जति बढ्छ लोकतन्त्र उति अघि बढ्छ । बागी र विद्रोही विनाको लोकतन्त्र÷गणतन्त्र रसविनाको रसभरी वा रङ्गबिनाको इन्द्रेणी जस्तै हो । बागी भष्मासुर होइनन् र धुन्दुकारी पनि होइनन् । जो कोही मान्छे बागी बन्नै सक्दैन । बागी बन्न त त्यागी बन्न सक्नु पर्छ । बागीहरू धेरै कुरा त्याग्न तत्पर छन् । टिकटको मूल्यमा सर्वस्व त्याग्न तयार हुनु चान्चुने त्यागको कुरो हुँदै होइन । त्यसकारण त्यागी भनेकै बागी हो, अर्थात् बागी भनेकै त्यागी हो ।
सुनिदै छ बागीहरूलाई तह लगाउन पर्दाभित्र धेरै कुरा गरिदैछ । यस्तो दुष्प्रयत्न कसैले नगरे हुन्छ । हैन, खै कुरा बुझेको ? बागी भनेको कहिलै तह लाग्ने कुनै चौपाया हो र भन्या ? न त कुनै डोकाले छोप्ने दोपाय नै हो । प्रजातान्त्रिक वातावरणमा नैसर्गिक अधिकारको सदुपयोग गरिरहेका बागी विद्रोहीहरूलाई तह लगाउन खोज्ने काम निरङ्कुशताको पर्याय हो । यस्तो काम त हिटलरहरूले गर्थे । अनि यो राणाकालीन या पञ्चायतकालीन हिटलरहरूको जमाना हो र भन्या ! मुलुकव्यापी रूपमा दुई चारजना बागीहरूको बागी उम्मेद्वारीले कुनै पनि दलको त्यत्ति औधी हानिनोक्सानी गरेको छैन, बरू लोकतान्त्रिक प्रतिष्पर्धामा मद्दत नै पु¥याएको छ । अनि किन ठूलो ठूलो स्वरमा बागीमाथि कार्वाहीको हल्ला फैलाइँदै छ ? खबरदार, यस्तो दुष्कर्म लोकतान्त्रिक मुलुकका लोकतान्त्रिक दलहरूका लोकतान्त्रिक नेता वा लोकतान्त्रिक कमिटी वा समितिहरूबाट हुननपाओस् ।
म त तमाम बागी र विद्रोहीहरूलाई मुक्त मनले प्रशंसा गर्छु । उनीहरूको वीरता र बहादुरीपूर्ण विद्रोह र बागियान–कर्मको बखान गर्नु पवित्र धर्म सम्झन्छु । यो वीरतापूर्ण अभियानमा क्रियाशील समस्त विद्रोही र बागीहरूलाई हृदयदेखि नै बधाइ दिन चाहन्छु । यो मुलुकमा जे गर्छन् यस्तै त्यागी त्यागी बागीहरूले नै गर्छन् । बागीहरू मध्येको पनि बागी उहाँलाई मेरो पनि विशेष बधाई ।
कलङ्की काठमाडौं
(त्रिशुली छाल, अङ्क ६, २०७०, पुस)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad