तास अर्थात सिधा अर्थमा धेरैले भन्ने गर्छन् टाइम पास । तासको ससारमा डुबल्की मार्दा खास केहीको पनि चिन्ता नहुने, घरको मान्छे लासै भए पनि मनमा कुनै पीर मर्काको आभास नहुने भएकोले यसलाई जादुमय श्वास फेर्ने फस्ट क्लासको खेल भन्नेहरू पनि भेटिन्छन् । भन्नुको मतलव जब तासको खालमा डुब्यो कि उसले ससार बिर्सन्छ रे । उसले सम्झन्छ खालि पैसा, जोश र सपत्ति उडाउने आँट । कि त आँटमै कि त ढाँटमै अल्झिन्छ रे सधै ! जेहोस् जब मान्छेले तासलाई टयाम् पासको सूत्र बनाउँछ, तब यही मुस्कानले उसलाइ उडाउँछ । टाइम पास मान्छेले गर्छ कि समयले ? हामीले समय पास गरीराख्या छौँ कि समयले हामीलाई पास गरीराख्या छ ? अलिकति बिचारौँ त । निमेष, निमेषमा हामी लासको रुपमा परिवर्तन हुँदैछौँ, खस्दैछौ, झर्दैछौ, मर्दैछौँ अनि भन्छौँ लाजै नमानेर तास अर्थात टाइम पास ! कठै, बराठ गर्दै जाऊँ टाइमपास !

हामी टाइम पास भन्छौँ, क्यासिनोमा छिर्छौं, टाइम पास भन्छौँ, सारा तलब कल ब्रेक र म्यारीजमा उडाउँछौ, टाइम पास भन्छौँ । स्वास्नी र छोराछोरीको बिचल्ली बनाउछौँ, टाइम पास भन्छौँ जुवाको खालमा सारा सम्पतिको हानथाप गर्छौं र एक रातमा जायजेथा उडाउँछौ । अझ फेरि भन्छौँ तास अर्थात टाइम पास !

पढेलेखेका बरिष्ठहरूले कौरव र पाँच पाण्डवको उदाहरण दिन्छन् ,शकुनीको पासाले पाण्डवहरूलाई पाखा लगाएको ब्याख्यान् छाँटछन्् । महादेव र पार्वतीको जुवाडे प्रेमलीलाले ससार रोकिएको उदाहरण दिँदै यम्मानको छडके आँखा देखाउँदै विद्वता देखाउँछन्, जीवनको पूर्वाद्र्धतिर बाह्रमासे जुवाडे जग बहादुरले आफ्नी सुत्केरी पत्नीलाई छोडेर तासमा चुर्लुम्म डुब्दा कालले ताल पारेको इतिहास सुनाउँछन् । तर साँझ नहुँदै तासको माला लगाएर खाल खोज्दै हिँडछन् भने कालो अक्षर भैँसी बराबर देख्नेहरूले तासको आस गरेर मन्टो तान्दै जुवाडेहरूलाई स्यावास् भन्नुमा के अनौठो भो र ?

अबोध बच्चाहरूलाई नैतिक कथा कुथुङ्ग्रीह्रू सुनाउँदै र जुवा, रक्सी र तासको धज्जी उडाउने तर आफू चाहिँ भव्य तासको थुप्रो खोज्दै हिँडने हो भने हामी जस्ता सज्जन बडेमान महा मानवहरूले तास अर्थात टाइम पास विश्वबिद्यालय खोले कसो होला ? अनुसन्धान केन्द्र र कलेज खोले कसो होला ? भी सि, रेक्टर र लेक्चरको भर्ति केन्द्र खोले कसो होला ? विद्यार्थीको भर्ना खोले कसो होला ? त्यसपछि रोजगारै रोजगार । लाखौँ नेपालीहरू विदेशतिर ओइरनु पर्ने छैन । बस् के चाहियो ? तासका टल्किने झल्किने सानदार रङ्गीन सर्टिफिकेटले समाज बदलिनेछ । त्यसो त अव अरु काम केही नगरौँ, चौविसै घण्टा मज्जाले तासैतास खेलौँ ।

त्यसपछि तास खेलेर यति सम्पति कमाएँ, उति सम्पति कमाएँ भनेर नाकको पोरा फुलाउँ, बडेमान महाशयहरू । एक दिन एक हजार कमाउँदा अर्को दिन चार हजार फालेको म्याक्कै बिर्सिहालौँ । मैले त बाँस लुर्काएँ आमा भनेर फिस्टोको बच्चाले भन्दा ओहो तेरो त खुट्टै देखेर पत्याएँ भन्थी रे । त टायम पासको नाममा सम्पति कमाएको कुरा पनि यही फिस्टाले बाँस नुगाएको कुरासँग र्याङको ठ्याङ कसो नमिल्ला र ? बरु टाइम पासको सट्टा जिउँदै कालको अगाडि चट्ट रास भएँ भनेको भए चिरिच्याँट्टको शब्द मिल्ने थियो कि ?

जेहोस् हामी महान् छौँ । बगरमय चिन्तनको सागरमा डुबुल्की मार्छाैं । उज्यालो पार्नुपर्ने मन मष्तिकलाई अझ सम्मगम्म औँसीको रातमा धकेलिदिन्छौँ । यसरी तासको कोल पेलेर ढोल बजाउँदै हिँड्दा क्या शान्दार हुन्छ जीबनको मोल ? त्यही त मान्छे््हरू भन्छन् जहाँ तास त्यहाँ सामन्तँी वास, जहाँ तास त्यहाँ सम्पतिको त्रास, जहाँ तास त्यहाँ सधैं बकवास, जहाँ तास त्यहाँ सत्यानाश र सर्वनाश, जहाँ तास त्यहाँ जिउँदा लाशैलाश । नपत्याए सुनिहाल्नुस् दुनियामा चलेको दृष्टान्त खास !

कलविरे काहिँलाको कान्छा छोरा कस्टे भएछ । आमाले आफ्नो बड्डोलाइ बोलाउन पठाइछे । तर ऊ तासको खालमा किच्च दाँत देखाउँदै, दही चिउरा चपाउँदै र ताससँग जुध्दै रहेछ । उसले घरमा यस्तो खवर पठाएछ, ‘धामी झाँक्री बोला या ख्वाइदे औषधीको गोला, मेरो त दाउ आउँदैछ, अहिले आउँदैन होला ।’ घन्टौँ वित्यो तर ऊ फर्केन । उसकी जोइले रोई रोई पोइको खोजीमा फेरि अर्को मान्छे पठाई । किन कि यतिखेर उसको बच्चा खसि सकेको थियो । बच्चा बितिसकेको खवर पाएपछि उसले यस्तो भनी पठाएछ ‘ठिकै छ मलाई घर सर जाने फुर्सद छैन, बरु मलामीलाई त्यही बाटो पठाइदिनू ।’

देख्नु भो, जुवा वीरहरूको चाल ! ठिकै छ सधै तासको गुन्यँु लगाएर उन्यूको बिउ खोज्दै अभिमन्युसँग तुलना गर्दै जानुस्, त्यसपछि अरुले घरवार बनाउँछन्, तपाईंले तासको भव्य बाउन्न तले गगनचुम्बी महल बनाउनुस् । कहिले चौका मार्नुस्, त कहिले सत्ता पल्टाउनुस् । एक्कादेखि बेगमसम्म भनौँ या जोक्करदेखि बास्सासम्म सबै तपाईंको नोक्कर हुनेछन् । त्यसपछि बाँसको भोक्कर फुक्दै, सधै देवाली मनाउनुस् ! बस, विश्वविद्यालयका चिल्ला चाप्ला सर्टिफिकेटका ठेली र नोक्करीका नियुक्त्ति भन्दा त बाउन्न पत्तिको जन्ती नै ठूलो ! यसरी तासैतासको रन्कोभित्र सधैं फन्को मार्न पाइन्छ भने त्यो भन्दा ठूलो मनको के हुन सक्छ यो दुनियाँमा, कि कसो ? अस्तु ।
रोल्पा