गुण्डा चिन्ने चस्मा
रत्नपार्कको छेउमा अनौठो चश्मा बेच्ने विदेशी चिच्याउँदै थियो ‘पच्चीस रुपियाँमा गुण्डा चिन्ने चश्मा किन्नुस् ! यो लगाएपछि सक्कली गुण्डा चिन्न सक्नुहुन्छ । फरक परे पैसा फिर्ता !’
मन्त्रीज्यूको दश वर्षे पुत्रले निकै जिद्दी ग¥यो । मन्त्रीज्यूले पनि त्यो अनौठो वैज्ञानिक कम्प्युटराइज्ड चश्मा किनिदिए । त्यस बाल खेलौनाको विशेषता के थियो भने, वास्तविक गुण्डा देख्नासाथ चश्माको रंग स्वतः रातो हुन्थ्यो ।
चश्मा किनेपछि मन्त्री पुत्रले चश्मा भिरेर चारैतिर पल्याकपुलुक गर्न थाल्यो । गुण्डा जस्तो देखिने जुनसुकै व्यक्तिलाई पनि मन्त्रीपुत्रले बाल सुलभ चञ्चलताले गर्दा निकै नियाल्न थाल्थ्यो । तर जति गर्दा पनि उसको चश्माले वास्तविक गुण्डालाई ठम्याउन सकेन । कत्रो उत्साहले किनेको चश्मा कामै नलाग्ने ठाँडो सावित भयो । मन्त्रीले भन्ठाने, ‘हुनै नसक्ने कुरो पनि चश्मा लाउँदैमा हुन्छ र ! वाहियात ! सब साले ठग हुन् !!’
छोरोले चश्मा बिग्रियो भनी कचकच गर्न थाल्यो । छोरोले जानेन क्यारे भन्ठानेर मन्त्रीज्यूले स्वयम् त्यो चश्मालाई राम्ररी मिलाएर छोरालाई लाउन भनी दिए । छोरोले पनि चश्मा भिर्यो । बालकले पहिले आफ्नै बुवालाई हेर्यो । लौ खा ! कम्प्युटराइज्ड वैज्ञानिक चश्माले त मन्त्रीज्यूलाई नै सबभन्दा ठूलो गुण्डा भन्ने पो देखायो ।
‘डेडी नै सक्कली गुण्डा ! हा.. ! हा.. !!’ भन्दै बालक त उफ्रन थाल्यो । मन्त्रीले चश्मा खोसेर बाहिर सडकमा हुर्र हुर्याई दिए ।