झापा, २०७२, माघ ८ । लेखनाथ पुस्तकालय चन्द्रगढीको आयोजना र नेपाल प्रज्ञा प्रतिष्ठानको सह आयोजनामा झापाको चन्द्रगढी स्थित कलबलगुडीमा पूर्वाञ्चल स्तरीय बृहत् साहित्यिक संगोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्य, वरिष्ठ प्रगतिवादी साहित्यकार डा.मोदनाथ प्रश्रित र आख्यानकार तथा कवि कविता पौडेलको विशेष आतिथ्य रहेको कार्यक्रममा दुईवटा कार्यपत्रहरू प्रस्तुत भएका थिए । पहिलो कार्यपत्र ‘पूर्वाञ्चलमा भानुभक्त सम्बन्धी साहित्यिक गतिविधि’ प्रस्तुत भएको थियो । उक्त कार्यपत्र लेखक मिश्र वैजन्तीले प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत कार्यपत्रमाथि डा.ठाकुर प्रसाद पोखरेलले टिप्पणी गर्नु भएको थियो ।

त्यसैगरी दोस्रो कार्यपत्र प्राध्यापक जीवनाथ सुवेदीले प्रस्तुत गर्नु भएको थियो । ‘पूर्वाञ्चलमा नेपाली महाकाव्यको अवस्था र लेखनाथको प्रभाव’ विषयक कार्यपत्रमाथि प्राध्यापक चुडामणि वाशिष्ठले टिप्पणी गर्नु भएको थियो । कार्यक्रममा विभिन्न ठूला तथा साना पर्दाका चलचित्र तथा टेलिभिजन सिरियलहरूमा निर्देशन तथा अभिनय गरेका सशक्त निर्देशक एवम् अभिनेता कृष्ण अनमोलको निर्देशन र लेखनमा कलाकारहरू राजन शंकर, प्रभात भण्डारी र प्रिया दासले अभिनय गरेको ‘नाकाबन्दी’ एकाङ्की नाटक प्रस्तुत गरिएको थियो । सोही कार्यक्रममा टोपलाल ज्ञवालीद्वारा लिखित ‘देश दर्शन’ कृतिको समेत लोकार्पण गरिएको थियो । लोकार्पित कृतिको समीक्षा प्राध्यापक तारा विविधले गर्नु भएको थियो । दुई दिवसीय कार्यक्रम अन्तर्गत २०७२, ९ र १० गते पूर्वाञ्चल स्तरीय कविता महोत्सवको कार्यक्रम रहेको छ ।

कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा मधु पोखरेल र डिल्लीरमण नेपालले गजल तथा गीत प्रस्तुत गर्नु भएको थियो भने स्वागत कविता कवि हरि प्रसाद न्यौपानेले वाचन गर्नु भएको थियो । पुस्तकालयका उपसभापति पुरुषोत्तम अधिकारीले स्वागत र संचालन कृष्ण सुवेदी ‘निराकार’ ले गर्नु भएको कार्यक्रमको सभापतित्व नवराज घिमिरेले गर्नु भएको थियो ।
–देवीचरण भण्डारी