सुरभि साहित्य प्रतिष्ठानको आठौँ वार्षिक कार्यक्रम २०७२ साल माघ १६ गते शनिबार सम्पन्न भएको छ । सुलेख मासिकका संरक्षक एवम् प्रतिष्ठानका सल्लाहकार विजय चालिसेको सभापतित्वमा सम्पन्न यस कार्यक्रममा प्रमुख अतिथि कोशकार वसन्तकुमार शम्र्मा नेपाल हुनुहुन्थ्यो भने विशिष्ट अतिथि इतिहासविद् दिनेशराज पन्त हुनुहुन्थ्यो । त्यस्तै अतिथिहरूमा रमेश खकुरेल, नरेन्द्रराज पौडेल, शान्ता श्रेष्ठ, बाबुराम लामिछाने, डा. रामप्रसाद ज्ञवाली, गोविन्द घिमिरे वेदमणि, श्रीहरि फुयाँल, रामप्रसाद पन्त र युवराज मैनाली हुनुहुन्थ्यो । प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलले स्वागत गर्नुभएका यो कार्यक्रम पुरस्कार वितरण, पुस्कृत व्यक्तित्वका कथा वाचन र पुस्तक लोकार्पण गरी तिन खण्डमा विभाजित थियो ।

विजय चालिसेको संयोजकत्वमा युवराज मैनाली र सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष परशुराम पराजुली ‘पराशर’समेत तीन जनाको स्रष्टा चयन कमिटीले पुरस्कृत स्रष्टा तथा कथा छनौट गरी सिफारिस गरेबमोजिम यस वर्षको सुरभि आख्यान पुरस्कार २०७१ वरिष्ठ कथाकार मनु ब्राजाकीलाई र सुलेख आख्यान पुरस्कार २०७१ लव गाउँलेको ‘नौ करोड’ कथालाई प्रदान गरिएको थियो । समालोचक युवराज मैनालीले पुरस्कृत व्यक्तित्व द्वयको परिचय र कथाप्रवृत्तिलाई प्रकाश पार्नुभएको थियो । कथा वाचनमा मनु ब्राजाकीको कथा परशुराम पराशरले वाचन गर्नुभयो भने लव गाउँलेले आफ्नो कथा आफैँ वाचन गर्नुभएको थियो ।

तेस्रो खण्डको पुस्तक लोकार्पण कार्यक्रममा सुनिता भट्टराईको खोजमूलक कृति ‘पूर्वी नेपालका लोकगीतहरू’ र अच्युत घिमिरेको लघुकथा सङ्ग्रह ‘भुइँचालोको डर’ लोकार्पण भएको थियो । लोकार्पित कृतिहरूको समीक्षा डा. रामप्रसाद ज्ञवाली र समालोचक गोपी मैनालीले गर्नुभयो भने अतिथिहरूले बधाई एवम् शुभकामना मन्तव्य दिनुभएको थियो । साहित्य सदन नेपाल, रामहिटीमा सम्पन्न यस कार्यक्रमको सञ्चालन राजन न्यौपानेले गर्नुभएको थियो भने धन्यवाद मन्तव्य सचिव अच्युत घिमिरेले गर्नुभएको थियो ।