प्रत्येक लेखकसँग आफ्नो एउटा लेखन शैली हुन्छ । मूलपहिचान दिने त्यो शैली नै उसको शब्दकला हो । शब्दकला साहित्यको महत्वपूर्ण तत्व मानिंदै आएको छ । शब्दकै श्रृङ्खलाबद्ध संयोजनबाट भाव आदि व्यक्त हुन्छ । भावको भकारीमा उभिएर नै भावकहरूले सन्देश ग्रहण गर्दछन् । कलाको सन्देश संप्रेषित हुन्छ । स्रष्टाको सोच भोक्ताको भोगमा परिणत हुन्छ । शिल्पले सिंगारिएको भाव नै सिर्जनाको मष्तिष्क हो । हृदयको स्पन्दनलाई झङ्कृत गर्ने खूबी लेखन शैली र भावको सुन्दर मेलबाटै पैदा हुन्छ । छन्द र लय, भाव र शिल्प, रस र अलङ्कार जस्ता विशिष्ट गुणहरूले नै साहित्यलाई सुललित बनाउँदै आएका छन् । अनुभूतिका अमूर्त भावहरूलाई अभिव्यञ्जनाका मूर्त प्रभावमा बदल्ने क्षमता शैलीगत चातुर्यद्वारा नै निर्माण भएको हुन्छ । शैली एउटा कटाक्ष अथवा छेपन पनि हो, जसले मान्छेको अन्तरमनलाई उद्दीप्त पार्दै भावको प्रभावमा प्रवाहित गर्दछ । त्यसो भएकाले जुनसुकै लेखकद्वारा सिर्जित सिर्जनाले एक वा अनेक शैलीगत विशिष्टतालाई आफूमा समाहित गर्ने प्रयत्न गरेको हुन्छ । उपन्यास वा महाकाव्यमा झैं अनेकौं विशिष्टता कथा वा कविताहरूको साना र छोटा रचनामा समावेश गर्न सकिंदैन । तैपनि विधागत रूपहरू भित्र अलग–अलग ढङ्गले ती विशिष्टतालाई प्रयोग गरिएको हुन्छ । रचना–पद्दतिको अर्थमा शैली भाषिक चमत्कारको कुशलता हो भने कृति विश्लेषणका सन्दर्भमा रूपको मोहनी मानिन्छ । शब्दको शक्ति विचारको भक्तिसँग सम्बन्धित छ । सरल र सहज भावमा बोलिएका कुरा भन्दा असहज र वक्रतापूर्ण बोलीद्वारा विशिष्ट अर्थमा अभिव्यक्त हुने कुराले मान्छेलाई बढी छुन्छ । तुलनीय तरीकामा होस् वा गुणदर्शी भावमा होस् आलङ्कारिक भाषामा भावनाले ब्यूँझाउने बोध अर्थपूर्ण हुन्छ, थोरैमा धेरै भन्न सकिने हुन्छ र भनाइमा मिठास रहन्छ । त्यसकारण व्यङ्ग्यात्मक शैलीलाई धेरै स्रष्टाहरूले कठिन साधनाको क्षेत्र मानेका हुन् । हास्यव्यङ्ग्य शैलीले आनन्द र आकांक्षालाई जोड्छ । ‘कु’ छाडेर ‘सु’ तर्फ अग्रसर गराउँछ र भावको सघनतालाई समेत रसिकता पूर्ण बनाउँछ । वक्रोक्तिको श्रृङ्खलामा कलावादी रुझान देखा पर्न सक्छ तर उक्ति जो छ त्यो सूक्तिमय भावको प्रतिनिधि बन्ने हुँदा विचारहीन व्यङ्ग्य र प्रयोजनहीन हास्य निरर्थक बन्न पुग्दछ । व्यङ्ग्यरचनालाई काँडा र फूलको संगम रचना मान्नुको तात्पर्य विचार र कलाको सुन्दर मिलनको माग पनि हो । हास्यव्यङ्ग्य विचारमा होइन, कलामा टल्कन्छ भने पनि भैरव अर्याल स्वीकार्छन्– “हास्यव्यङ्ग्यमा चिन्तनपक्ष हुँदैन भन्नु संस्कृत पढ्नेले दुनियाँ बुझ्दैनन् भने जस्तै थोत्रो र सङ्कीर्ण विचार हो ।” 
शैली धेरै किसिमका हुन सक्छन् । रचनाकारको सिर्जनात्मक विशिष्टता बनेर रहने हुँदा यस्तो अवस्था पैदा हुन्छ । परन्तु मुख्यतया अर्थ प्रयोग तथा वाक्य रचनामा नै शैलीको मूल आधार रहन्छ । सरल शैली र जटिल शैलीका विशिष्टतामा सहज र बक्र–वाणी बनेर रहने यिनै हाँगामा अनेक प्रयोगहरू घुम्दछन् । भाषाका दुई विशिष्टता– साहित्यिक र असाहित्यिक जस्तै शैलीका दुई विशिष्टता निर्माण हुन्छन् । शिष्ट वा अशिष्टको विशिष्टतामा अभिव्यक्तिहरू बाँडिन्छन् । बोलचालको भाषामा पनि यस्ता शैलीहरू रहिआएका छन् । सर्वसाधारण जनताको भाषामा पनि मानक एवं परिस्कृत रूप पाइन्छ । त्यो मानक रूप हाम्रो साहित्यको सरल र सहज अभिव्यक्ति बनेर सिर्जनामा प्रयोग भई आएको छ । लेख्य र कथ्य भाषाका लिखित र मौखिक रूपहरूमा बोलीचालीको आफ्नै स्थान, जाति र कालगत विशेषता व्यक्त हुन्छ । शैली निर्माणमा प्राय भाषाकै चमत्कार प्रमुख रूपमा रहेको हुन्छ । कुनै कुनै लेखकले प्रस्तुतीकरणका अन्य पक्षहरू– कथानक सुगठन, विम्ब प्रयोग, सर्ग वा अध्यायहरूको संरचना, वाक्पद्दति र तुक्काको प्रयोग, मिथक मिसावट र अभिप्रायको संयोजनद्वारा समेत आफ्नो रचनात्मक विशिष्टता निर्माण गर्दछन् । शब्दकलाको आधार शब्दशक्तिमा र शब्दशक्तिको कार्यव्यापार सिर्जनात्मक विधाअनुरूप हुने गर्दछ । त्यसकारण समाचारपत्रको भाषा र साहित्यिक रचनाको भाषामा भिन्नता पैदा हुन्छ । साहित्यमा शब्द बाहुल्य, घुमाउरो वाक्य बनौटलाई समेत स्वीकार गरिन्छ तर अखबारमा त्यो अस्वीकार्य हुन्छ । यसको अर्थ वैचारिक सार–सन्देशको संप्रेषण र सङ्क्षिप्ततालाई साहित्यमा स्थान छैन भन्ने कदापि होइन । शैलीका दुई मुख्य हाँगा जस्तै सिर्जनात्मक कृति पनि सामान्य र असामान्य स्तरका हुने गर्दछन् । भाषा– कलाको प्रयोग यी दुईमा भिन्न–भिन्न हुन्छन् । शैली र भाषाको अटुट सम्बन्धमा स्रष्टाले आफ्नो गन्तव्यको दिशानिर्देश गर्दछ । त्यसैले गर्दा समीक्षकहरू भाषाशैली नियालेर कृतिको विवेचना र मूल्याङ्कन अघि सार्दछन् । यस अर्थमा नै हास्यव्यङ्ग्यको भाषा पनि शालीन, स्तरीय र विशिष्ट हुनुपर्ने माग रहेको हो ।
हास्यव्यङ्ग्य विधा होइन, शैली हो भन्ने कुरामा दोमन गर्नु पर्दैन । त्यसो त हास्यव्यङ्ग्य सिर्जनालाई विशिष्ट अभिव्यक्ति–पद्दतिका रूपमा चर्चा गरेको पनि पाईन्छ । परन्तु यो कला, साहित्य, सङ्गीत र अभिनयका क्षेत्रमा समेत विस्तारित छ । साहित्यका सबै विधामा यसको प्रयोग भएको छ । यसलाई श्रव्य–दृष्य क्षेत्रमा प्रयोग गर्दाको विशिष्टता र साहित्यमा प्रयोग गर्दा– खासगरेर पाठ्य रूपमा, बेग्ला– बेग्लै रचना– पद्दतिभित्र अभिव्यक्तिको अङ्कन गर्ने गरिएको यथार्थ हामीसँग छ । चित्रकारितामा यो मmन् अलग ढङ्गले प्रस्तुत हुँदै आएको छ । हास्यव्यङ्ग्यलाई साहित्यको स्वतन्त्र विधा मान्न सकिंदैन । चित्रकारितामा पनि यो विशिष्ट शैली बनेर नै कार्टुन–कला भएको छ भने हास्यलाई रस मानेर हेर्दा साहित्य सिर्जनाको शिल्पकारिताका रूपमा यसको उपस्थिति पाइन्छ । व्यङ्ग्यलाई विशिष्ट शैली र हास्यलाई रस मान्ने, हास्यव्यङ्ग्यलाई विशिष्ट शैली मान्ने र हास्यव्यङ्ग्यलाई ‘विधा मान्दा फरक पर्दैैन मानिदिए हुन्छ’ भन्नेहरू माझ हाम्रो सिर्जना हिंडिरहेको छ । व्यङ्ग्य लेखन अरु सबै सिर्जनाहरू भन्दा बढी योजनाबद्ध र प्रयोजनपरक हुन्छ र यसको प्रस्तुतिले प्रभावकारितामा जोड दिन्छ । त्यसो भएर धेरै लेखकहरूले हास्यव्यङ्ग्यात्मक रचना–शिल्पलाई निकै कठिन मानेका हुन् । यथार्थका विसङ्गति–हरू, मनोभावनाका छूद्रताहरू, समाजभाँडा दुष्टहरूप्रति लक्षित हुने हास्यव्यङ्ग्यले शैलीगत चमत्कारलाई साधन मात्र बनाएको हुन्छ साध्य होइन । त्यसैले कहिलेकाहीँ भद्रताको सीमा मिच्ने कामसमेत यसमा हुने गर्दछ । शिष्टताको चर्को माग गर्नेहरू व्यङ्ग्यको प्रहारबाट बच्न चाहेका पनि हुन सक्छन् । तर यसको अर्थ हास्यव्यङ्ग्य शैली जो छ त्यो छिचरो, अश्लिल र असामाजिक हुन्छ भन्ने कदापि होइन । प्रकृति र समाजका विसङ्गति बीच मानवीय दूर्गुणको भूमिकालाई ध्यानमा राखेर नै व्यङ्ग्य प्रहार गरिन्छ र त्यसको मुख्य अभिप्राय सुधारको सम्मति दिनु हो । विवेकप्रतिको प्रतिबद्धताले नै कुनै पनि विधाका व्यङ्ग्य–स्रष्टाहरूलाई आलम्बन प्रदान गर्दछ । कार्टूनमार्फत् संप्रेषण गरिने सन्देशले सामाजिक जीवनको समीक्षा गर्न मानव–संवेदनालाई चिमोट्छ । अभिनयमा नक्कलको स्थान अत्यन्त सामान्य मानिन्छ भने सङ्गीतमा त्यो शाब्दिक फेरबदल मात्र बनेको पाइन्छ । हास्यप्रधानताको पक्षमा अभिनित हुने वा गाउने गरेका त्यस्ता रचनाले मनोरञ्जनलाई आफ्नो मूलप्रयोजन बनाए पनि व्यङ्ग्यको सार्थक उपस्थितिले त्यसलाई ओजपूर्ण बनाउँछ । व्यक्तिगत कुण्ठा र विद्रोहलाई हास्यव्यङ्ग्यले उपचार गर्छ । जिन्दगीका कुनै पनि अस्वाभाविकताप्रति व्यङ्ग्य हुनसक्छ तर त्यसमा हास्यको पुट भने साधना र सिपको कुशलताद्वारा मात्र समावेश गर्न सकिन्छ । हास्य बढी श्रृङ्गारिकतातर्फ जान्छ यो मानवीय गुणभन्दा जैविक अनुरागको अल्हादमा दगुर्छ । स्वस्थ हाँसो उत्पन्न गर्नका लागि त्यस प्रवृतिमाथि सामाजिक जीवनको शालीनता र सीमाबोध हुनु जरुरी हुन्छ ।
व्यङ्ग्य चित्रका हरेक रेखाहरू अभिप्रायका आलम्बनमा अडिए जस्तै व्यङ्ग्य कथा, व्यङ्ग्य कविता र व्यङ्ग्य अभिनयमा पनि प्रयोजन रहेको हुन्छ । काव्य र समीक्षाको क्षेत्रमा हाम्रो हास्यव्यङ्ग्य सिर्जना केही कमजोर अवस्थामै छ । हास्य नाटक तथा हास्यव्यङ्ग्यात्मक निबन्धमा सबलता प्राप्त भएको स्थिति त होइन तर पनि मात्रात्मक स्थिति अरु विधामा भन्दा केही बलियो देखिन्छ । वैचारिकताका ध्रुवहरू भावगत भए पनि शैलीगत समताले तिनीहरूलाई निकटमा राखेको हुँदा हाम्रो हास्यव्यङ्ग्य शैलीमा नेपालीपन हुर्किरहेको छ । अन्तरजातीय विसङ्गति, सांस्कृतिक पाखण्ड, अन्धविश्वास र सरकारी भ्रष्टाचारको विरुद्धमा सवै समान ढङ्गले आ–आफ्ना शैलीमा खनिएका छन् । सामाजिक मूर्खता व्यक्ति विशेषका माध्यमबाट पनि यदाकदा प्रकट हुन्छ र त्यसलाई खिस्याउनु वा घिस्याउनु हास्यव्यङ्ग्यको कर्म बन्दछ । शैलीहरूको संगमका रूपमा अर्थ, ध्वनि, अलङ्कार, छेपन जस्ता प्रयोगले साहित्यमा, आङ्गिक हावभावमा रूप–कुरूप संयोजन उक्ति– सूक्तिको चमत्कार अनेकार्थी बोली जस्ता प्रयोगले अभिनयमा हास्यव्यङ्ग्य शैलीलाई व्यापक र लोकप्रिय बनाएको छ । त्यसैले हास्यव्यङ्ग्य भावाभिव्यक्तिको एउटा विशिष्ट कला र सिर्जनाको लोकप्रिय शैली बन्न पुगेको छ ।
हास्यव्यङग्य–शैलीको प्रयोग साहित्य, सङ्गीत, कला र अभिनयमा मात्र भइरहेको छैन । राजनीतिका फाँटमा समेत यो शैलीको प्रयोग गर्दै नेताहरू संसदमा जुहारी खेल्ने गरेका छन् । डबलीहरूमा भाषण गर्दा परस्पर कटाक्षको प्रयोग, प्रतिवेदन र राजनैतिक दस्तवेजमा समेत, सैद्धान्तिक बहसहरूमा समेत व्यङ्ग्यको प्रयोग प्रशस्तै भइआएको छ । हास्यव्यङ्ग्य शैलीका माध्यमबाट भनिने कुराकानीले अखवारहरू भरिने गरेका छन् । प्रत्येक खबरकागजमा केही हास्य–व्यङ्ग्य चुट्किला र कार्टूनहरू प्राय सामाजिक सन्देश बोकेका सिनेमाहरूमा हास्यव्ङ्ग्य–अभिनयको समावेशले यसको व्यापकतालाई दर्शाउँछ । आधुनिकतावादी हुन् वा पुरातनपन्थी, प्रगतिशील हुन् अथवा प्रगतिवादी सबैले आफ्नो सिर्जनामा हास्यव्यङ्ग्य शैलीको प्रयोग गर्ने गरेका छन् । वैचारिकताको समानान्तर धारामा कलात्मकताको समरूपता सँगसँगै हिंडेका सिर्जनाहरू हाम्रो नेपाली साहित्य, सङ्गीत, कला तथा अभिनयमा अङ्कित छ । आफ्नै परम्पराको सकारात्मक प्रभाव र बाह्य सम्पर्कबाट ग्रहण गरिएका प्रभावहरू बीच हास्य–व्यङ्ग्य लेखक, गायक, चित्रकार र अभिनेताहरूको पङ्क्ति पनि क्रमश विस्तारित भइरहेको छ । जसरी हँसाइबाट हाम्रो मन हलुङ्गो हुन्छ त्यसरी नै व्यङ्ग्यवाणको पीडाबाट हुने आत्मबोधको रुवाइले हामीलाई आत्मसमीक्षक बन्न र सुध्रन मद्दत पु¥याउँछ । मनको चञ्चलता र गम्भीरता बीच हास्यव्यङ्ग्य झुल्दछ । मानसिक वृत्तिको तरलतामा हास्यव्ङ्ग्य चम्किन्छ, बौद्धिकता गम्किन्छ र मान्छे आफ्नो कर्तव्य पथमा लम्किन्छ । उद्देश्यपूर्ण हँसाइले व्यङ्ग्यबोध गराउँछ भने प्रवृत्तिमाथिको व्यङ्ग्यले हाँसो पैदा गर्दछ । त्यसकारण शैलीगत कुशलताद्वारा हास्यव्यङ्ग्यले गम्भीरतम विषयलाई पनि सतहमा ल्याएर सहजबोधतर्फ अग्रसर गराउँछ । यिनै खूबी र कुशलताले गर्दा हास्यव्यङ्ग्य शैली रचना–शिल्पको विशिष्टतामा सर्वाधिक लोकप्रिय बन्न पुगेको छ ।
पुतली सडक, काठमाडौं