ज्ञात अज्ञात सम्पूर्ण महानुभावहरूप्रति हाम्रो पार्टीको तर्पmबाट जय सलाम ! लोकतन्त्रको उदयसँगै जन्मिएको यो पार्टीको बारेमा परिचय दिइराख्नु पर्दैन किनकि प्रत्येक नेपालीको जिब्रोमा नयाँ नेपाल भन्ने शब्द दिन दुगुणा रात चौगुणा झुण्डिदै आएको छ । नयाँ नेपाल बनाउने भन्ने पार्टी नै हाम्रो पार्टी हो । यदि हाम्रो पार्टी नहुँदो हो त नयाँ नेपाल भत्रे शब्दको उत्पत्ति नै हुने थिएन । त्यसैले पनि सारा नेपाली जनताहरू हाम्रो पक्षमा छन् भन्ने कुरामा कुनै शङ्कै गर्नुपर्दैन । आगामी चुनावमा हाम्रो पार्टी विजय हुने सुनिश्चित छ । मेरो विचारमा लगभग सबै सिट हाम्रो पार्टीले कब्जा गर्नेछ । दश सिट अन्य पार्टीले जित्ने सम्भावना छ । यसको मतलब झिनो मत दिएर प्रतिपक्ष बनाऔं भन्ने हाम्रो सोच हो । हाम्रो पार्टीले जित्नासाथ नेपालमा दुई वर्षभित्रमा आमूल परिवर्तन गर्नेछ भन्ने कुरामा नेपाली मान्छेहरू ढुक्क भए हुन्छ । राजनीतिक, आर्थिक, भौतिक, सांस्कृतिक, शैक्षिक, लिङ्गीय कुनै पनि पक्षको बेजोड विकास गरिनेछ । यस्तो टप टू बटम परिवर्तन हुनेछ न हिजो हुन्थ्यो, न आज हुन्छ तर भोलि निश्चित रूपमा हुनेछ ।

सडक मार्ग, रेल मार्ग, आकाशे पुलमार्ग, हवाइमार्ग, रोप–वेमार्ग, सब–वेमार्ग अर्थात् भूमिगत मार्गको सञ्जाल सर्वत्र हुनेछ । सडक मार्ग सगरमाथासहित सम्पूर्ण हिम चुचुराहरूमा पु¥याइनेछ । जसले गर्दा जो पनि सगरमाथा चढ्न सकोस् । अन्य क्षेत्रको सडक मार्गलाई भूमिगत सडक मार्गमा रूपान्तरित गरिनेछ । खास गरेर नेपालमा भैरहने चक्काजाम, बन्द र हडताललाई पूर्ण रूपमा निरुत्साहित गर्नको निम्ति यस्तो व्यवस्था गर्न लागिएको हो । रेल मार्गहरू पनि सबै भूमिगत नै हुनेछन् । यी रेलमार्गहरू राजधानीबाट हरेक जिल्ला–जिल्लामा जोडिनेछन् । काठमाडौँको रेल–वे स्टेशनहरूबाट भित्र पसेको रेल हरेक जिल्लाका सदरमुकामबाट बाहिर निस्कनेछन् । यो विश्वको इतिहासमै एक चमत्कार हुनेछ ।

नेपाल पर्वते मुलुक भएको हुँदा उकालो चढ्न र ओरालो झर्नमै नेपालीहरूको समय सिद्धिराखेको छ त्यसैले कुनै पनि क्षेत्रमा विकास हुन सकेको छैन । त्यसैले हरेक पहाडका एक चुचुराबाट अर्को चुचुराहरूबीच जोड्नको निम्ति आकाशे पुलको निर्माण गरिनेछ । जसले गर्दा घण्टौँ समय लाग्ने ठाउँमा केही मिनेटमै पुगियोस् । गहिरो अर्थात् खाल्डे र कोचे गाउँहरूमा पुग्नको लागि भने रोप–वे वा केबुलकारको व्यवस्था गरिनेछ जसले गर्दा यातायातको क्षेत्रमा तीव्र विकास भई आर्थिक विकासमा टेवा पु¥याउनेछ भन्ने कुरामा हाम्रो पार्टी दृढ छ । हवाइमार्गको कुरा गर्नुहुन्छ भने पनि तपार्इंहरू ढुक्क भए हुन्छ । हरेक गाउँ–गाउँमा एयरपोर्ट बनाइनेछ भने प्रत्येक सदरमुकाममा अन्तर्राष्ट्रिय विमानस्थल बनाइनेछ, जसले गर्दा विदेश ओइरिनको निम्ति काठमाडोँको खाल्डोमा हाम फाल्न नपरोस् । दलालहरूको चक्कर र अक्कर परेर खस्रक्क हुन नपरोस् । शैक्षिक विकासमा पनि ठूलो फड्को मारिनेछ । प्रत्येक माध्यमिक स्कुलहरूलाई विश्वविद्यालयमा रूपान्तर गरिनेछ भने जिल्लाका सदरमुकाममा एउटा पीएच.डी. केन्द्र खोलिनेछ जसले पीएच.डी.को डिग्री प्राप्त गर्न विदेशतिर झुण्डिन नपरोस् ।

पर्यटकीय विकास गर्नको लागि सडक भन्नोस् या तडकभडक, खान्की खुराक भन्नो स या जूत्ता जुराफ केहीमा कमी गरिने छैन । व्यापक प्रचार–प्रसार भन्नोस् या ओसार पसार केही चीजको बाँकी राखिने छैन । दुर्गम न सुर्गम, मूल्य न अमूल्य सब बन्नेछन्, मोहनीमय उपहार । सब चीजबीजका हुनेछ, उपयोग र सदुपयोग । अहो, आर्थिक सम्पन्नताले गर्दा सधैं उच्च स्थानमा परिराखेको हुनेछ । र त्यसलाई व्यापकता दिने साधन हामीसँग छ । भोलि राष्ट्रमा नै नाम उचो हुनेछ । तर नाम अनुसारको पहुँच हुनेछ, झुक्नुपर्ने छैन । यसको नाम टल्किनेछ, झल्किनेछ संरक्षण गर्नेलाई संरक्षण, आरक्षण गर्नैलाई आरक्षण गरिनेछ । अब झक्झक्काइनेछ, मग्मगाइनेछ । त्यसैले प्रचारप्रसारको निम्ति एक गाउँ एक रेडियो स्टेशनको स्थापना गरिनेछ । यस क्षेत्रलाई नेपालकै अमूल्य गहनाको रूपमा विकास गर्दै आर्थिक, सामाजिक, सांस्कृतिक र ऐतिहासिक विकासमा फेरि अभिन्न अङ्ग बनेर उदाउने छ ।

सुगौली सन्धिपछि नेपालको इज्जतमा ठूलो धक्का लाग्दै खोक्का भइसकेको छ । विशाल नेपाल खुम्चिँदै खुम्चिँदै सानो नेपालमा अहोरात्र घट्दैछ । अहिलेसम्मका शासकहरू आसनमा मात्रै चुस्त भए । देशको इतिहासभन्दा पनि आफ्नो व्यक्तिको इतिहास बनाउनमै लिप्त भए । यसले गर्दा नेपालको अस्तित्व संकटमा परेको छ । त्यसो त नेपाललाई सुरक्षित र शक्तिशाली बनाउन र विदेशीलाई धुलो चटाउनको निम्ति मेचीदेखि कालीसम्म, हिमाली पर्खालदेखि जङ्गे पिलरसम्म, भन्सारबाहेक अन्यत्रको घेरामा काँडेतारको सट्टा हजारौँ किलोका अटोमेटिक बमहरूले एम्बुस थापिनेछ र साँध सीमाना मिच्न खोज्नेहरूको एक चिहान हुनेछ । हवाई सुरक्षाको निम्ति हजारौं लडाकु विमानहरूको निर्माण गरिनेछ र लडाकु ट्याङ्कहरूमा लाखौँ क्षेप्यास्त्र फिट गरी तैयारी हालतमा राखिनेछ । जुन रोबोटका सहायताले रिमोट कन्ट्रोलबाट चल्नेछन् । त्यति मात्र होइन विश्वमै आविष्कार नभएका अत्याधुनिक गोली राख्नु नपर्ने ब्रम्हास्त्र र अग्निअस्त्रको विकास गरिनेछ । त्यस्तै उद्योगको क्षेत्रमा यस्तो विकास गरिनेछ कि सियोदेखि रकेटसम्म, कट्टुदेखि जकेटसम्म गाउँ–गाउँमा उत्पादन गरिनेछ ।

नेपालमा भएका हजारौँ–हजार नदीनालाहरूलाई प्रयोग गरेर दसौँ हजार मेघावाट विद्युत निकालेर नेपालका बस्तीबस्तीलाई झिलिमिली मात्र होइन विदेशीलाई जर्बजस्ती बेच्दै तिलीबिली पारिनेछ । हजारौँ मेघावाट बिजुली विदेशीलाई बेचेर खरबौँ डलर विदेशी मुद्रा आर्जन गरी नेपाललाई विश्वकै धनी राष्ट्रमा बदलिनेछ । विदेशमा ओइरिएका नेपालीहरू सबै स्वदेशमा फर्किन लालायित हुनेछन् । नयाँ नेपालका नयाँ नेपाली जनताहरूले भन्नोस् । अब हाम्रो पार्टीले चुनाव नजितेर अरू कसले जित्ला त ? त्यसैले हाम्रो चुनावी चिन्ह नेपालमा छाप लगाई उन्नाइससय प्रतिशत मतले विजय गराउन हुन हार्दिक अनुरोध गर्दछौँ । जय सलाम !
अस्तु !

रोल्पा