सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

खित्कै खित्का– २०

Nepal Telecom ad

बजेट काढौँ, हात चाटौँ
वर्षभरि नभएको काम दुई महिनामा हुन्छ । त्यो चामत्कारिक दुई महिना हो– जेठ र असार । वर्षायाम अर्थात् जेठ–असारलाई राष्ट्रिय मेलमिलाप र विकासको महिना घोषणा गरे हुन्छ । वर्षायाममा धान रोपिन्छ । धान रोप्नु विकास नै हो । बाटो बनाउनु, ढल खन्नु, नदीमा तटबन्ध बनाउनु पनि विकास नै हो । पिच गर्नु झनै आकर्षक विकास हो भने बजेट सक्नुचाहिँ उत्कृष्ट विकास । विकास गर्न बजेट चाहिन्छ । बजेट खर्च नभए कसरी विकास हुन्छ ? त्यसैले यो दुई महिनामा भटाभट खर्च गर्ने हो, खर्च गरेर विकास गर्ने हो ।

वैशाख–जेठ मेलमिलापको महिना पनि हो । वर्षायाम लागेपछि गाउँदेखि केन्द्रसम्मका दसतिर फर्केका दलका नेता पनि ट्याप्प मिल्छन्, च्याप्प बजेट समाउँछन् र फ्याट्टै विकास गरिदिन्छन् । हुन पनि साउन लागेपछि फिर्ता जाने बजेटबाट हतारहतार विकास नगरी भो त ? विकास कार्य भनेको मह काढेजस्तो हो । मह काढ्दा जसरी हात चाटिन्छ, विकास गर्दा पनि त्यसरी नै हात चाट्ने हो । अर्थात्, बजेट काढ्ने हात चाट्ने ! हात चाट्ने काम पनि मिलेर गर्छन् । हात चाट्दै, मुख मिठ्याउँदै असारे विकास गडगडाउँछ अनि एक महिनापछिकै साउने भेलले बगाउँछ । विकासलाई भेलले बगाउनु प्रकृतिको दोष हो । त्यसैले विकास कार्यमा अरूलाई दोष लगाउने र खोट देखाउने काम गर्न हुन्न । यसो गरे हात चाट्ने कार्यमा बिघ्न आउन सक्छ र विकास ठप्प हुन्छ । त्यसैले सर्वदलीय सहमतिमा असारे विकासमार्फत हात चाट्न र बजेट सक्न विलम्ब हुन दिनु हुँदैन ।

दूरदृष्टि
एक सय रुपियाँको नोटको गैँडाले पहिले किन बच्चा पाएन ? अहिले किन पायो ? हजारको नोटको हात्तीले अहिलेसम्म किन बच्चा पाएन ? ल ठीक छ, हात्ती एक्लो भएकाले बच्चा पाएन । पाँच सयको नोटमा जोडी बाघ वर्षौंदेखि सँगै छन् । तिनले चाहिँ किन बच्चा पाएनन् ? ५०, २०, १०, ५ रुपियाँको नोटका वन्यजीवले पनि किन अहिलेसम्म बच्चा पाएनन् ?

समस्या गम्भीर छ र यो समस्यालाई अवसरमा बदल्ने काम थालेको छ सरकारले । बच्चा पाउनु भनेर सरकारले दिएको आदेश अनुसार गैँडाले बच्चा पाइसकेको छ । नपत्याए सय रुपियाँको नयाँ नोट हेर्नुभए हुन्छ । अन्य नोटका वन्यजीवलाई पनि सरकारले बच्चा पाउनू भनेको छ । अब सबैले बच्चा पाउनेछन् ।

यसै पनि प्रधानमन्त्री केपी ओलीले नेपाल र नेपाली अब गरिब भएर बस्न सक्दैनन् भनिसकेका हुन् । उनले त्यसै भनेका होइनन् । नेपालीलाई ठ्याक्कै दोब्बर धनी बनाउने योजना साथमा भएरै भनेका रै’छन् । त्यही योजना अनुसार नोटका वन्यजीवलाई बच्चा पाउन लगाए । जब नोटका सबै वन्यजीवले बच्चा पाउनेछन्, त्यसपछि सरकारले नोटको मूल्य दोब्बर भएको घोषणा गर्नेछ । एक हात्तीवाला नोटको मूल्य हजार, दुई हात्ती भएको नोटको मूल्य दुई हजार । सबै नोटका वन्यजीवले बच्चा पाएपछि हरेक नोटको मूल्य दोब्बर । अनि, नेपाली स्वतस् दोब्बर धनी बन्नेछन् । जय होस्, दूरदृष्टिवाला सरकारको ।

नुन युगबाट सुन युग
अचेल मोटरले नुन ओसार्छ, त्यसैले नुन भरिया हुँदैनन् । हुन्छन् त सुन भरिया मात्र । नुन भरियाले वर्षा र बाढीबाट नुन जोगाउनुपथ्र्यो । अहिलेका भरियाले प्रहरीबाट सुन जोगाउनुपर्छ । नुन बोक्ने युगबाट सुन बोक्ने युगमा आइपुग्यौँ हामी नेपाली ।

प्रगति त गरेकै हो हामीले, मान्नैपर्छ हामीलाई । नेपाल–भारत सीमामा सुन बरामद हुन्छ, उता चिनियाँ नाकामा पनि सुन बरामद हुन्छ । यी दुई देशका नाकालाई सुवर्ण नाका भने पनि भयो । नेपालमा सुन ओइरिएको ओइरियै छ, बरामद हुँदा आना र तोलामा होइन, किलोमा हुन्छ । तैपनि, अधिकांश नेपालीको नाक–कान किन बुच्चै ? भरियाले ओसारेको सुन कहाँ जान्छ ? सरकारले भरिया पक्रेकाले जनताको नाक–कान बुच्चो भएको हो कि ? उता भारतका कतिपय राज्यमा बेहुलीलाई सरकारले नै सुन बाँड्दैछ, नेपालमा भने सुन पक्रँदैछ । सुन भरिया पक्राउ पर्छन्, सुन मालिक पक्राउ पर्दैनन् । ती मालिक पक्कै सुनको दरबारमा बस्छन्, नत्र किन प्रहरीले सबै सुन मालिकलाई पक्रन सक्दैन ? अथवा यसो पनि हुन सक्छ, सुन तस्करीमा कारबाही पनि होस्, सुन आपूर्ति पनि भइरहोस् भनेर सरकारले सुन भरियालाई पक्रने, सुन मालिकलाई नछुने नीति बनाएको हो कि ? यस्तो नीति हो भने पनि सफल भएको छैन । किनभने, जनताको नाक–कान बुच्चै छ ।

नयाँ शक्ति या अन्य कुनै नयाँ पार्टीले ‘नाकामा सुन समातौँ, जनतालाई बाँडौँ’ कार्यक्रम ल्याउनुर्पयो । यसो गरे पार्टी पनि चम्कन्छ, जनताका नाक–कान पनि चम्कन्छन् । अब चम्कने यस्तो बाटोमा लम्कौँ ।

नेपाल, असार ९, २०७३

Fitkauli Publication Books comming soon
Nepal Telecom ad