सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

खित्कै खित्का– २०

Nepal Telecom ad

हाम्रो सिन्डीकेट
त्यति धेरै सभासद् भएको संविधानसभा दुर्घटनामा परेन, त्यति धेरै मन्त्री हुँदा पनि सरकार चलेकै हो । क्षमताभन्दा दोब्बर– तेब्बर यात्रु राख्दा दुर्घटना भएको भन्न कसरी मिल्छ ? सडकको कुरा हो, मेसिनको खेल हो, कोही कोही बेला दुर्घटना हुन्छ । जाबो २०–५० मानिस मर्दा र घाइते हुँदा पनि कोकोहोलो मच्चाउने ? मान्छे कोही अजम्बरी छ ? दुर्घटनामा नमरे अरू कारणले मर्छन् । हामीले किरिया खर्च दिन कन्जुस्याइँ गरेका छैनौँ । तपाईंका पार्टीको केन्द्रीय समितिमा दुई–तीन हजार सदस्य अट्छन् भने हाम्रो बसमा चक्का नफुटुन्जेल यात्रु किन अट्दैनन् ?

यात्रु धेरै भएकाले दुर्घटना भएको हो भन्नेहरूले हेरून्– दुर्घटनामा टायर पड्केको छैन । यात्रु धेरै भएको भए चक्काले थाम्दैनथ्यो, टायर पड् कन्थ्यो । चक्काले थामिन्जेल, टायर नफुटुन्जेल यात्रु राख्न पाउनुपर्छ । यात्रुलाई हामीले जबर्जस्ती चढाएका छैनौँ, आफैँ झुत्ती खेल्दै चढ्छन् । यात्रुले हामीलाई असाध्यै विश्वास गर्छन् । विश्वास नगरेका भए कसरी चढे ? बरू, सरकारलाई विश्वास गर्दैनन्, हाम्रो बसलाई त्यति विश्वास गर्छन् । हाम्रो बस जति पुरानो हुन्छ, त्यति धेरै विश्वास गरेर भरिभराउ चढ्छन् ।

रित्तो बस पनि दुर्घटना भएको छ, दुर्घटना भन्या भवितव्य हो । दुर्घटनामा मान्छे मर्दा हामी पनि दुस्खी हुन्छौँ । किनभने, हाम्रा यात्रु घट्छन् । यात्रु धेरै हुनाले दुर्घटना भयो भन्नेहरूलाई हाम्रो सिन्डीकेटको के भनाइ छ भने कृपया तपाईंहरू बस नचढ्नूस्, पैदल नै हिँड्नूस् । होइन भने चुप लागेर बस्नूस् । नराम्रो होला, हामी सिन्डीकेटवालासँग बेकारमा निहुँ नखोज्नूस् ।

उत्तर, दक्षिण, भ्रमण, स्वागत
मन्त्री बनाउन भाग पुगेन ? मन्त्रालय पुगेन ? मन्त्रालय फुटाउनु र्पयो ? लौ उपाय आयो । परराष्ट्र मन्त्रालय फुटाऊ । ‘उत्तर मन्त्रालय’ बनाऊ । ‘दक्षिण मन्त्रालय’ पनि बनाऊ । ‘पूर्व–पश्चिम’ मन्त्रालय पनि बनाऊ । यतिले पनि पुगेन ? पुगेन भने ‘ भ्रमण मन्त्रालय’ पनि बनाऊ । कौशीको कुनामा पाल टाँगेर ‘उत्तर भ्रमण मन्त्रालय’को साइनबोर्ड ठड्याऊ । भर्याङमुनिको च्यापमा ‘ दक्षिण भ्रमण मन्त्रालय’को साइनबोर्ड झुन्ड् याऊ । ‘भूराजनीति’ मिलेन, अब मिलाउनुपर्छ भन्दै ‘भूराजनीति मन्त्रालय’ पनि बनाऊ । वल्लो पल्लो सबै देश समाऊ । देशदेशमा गएर नेपाल भ्रमणमा बोलाऊ । ओहो, यही मौकामा अर्काे पनि आइडिया आयो, एउटा ‘स्वागत मन्त्रालय’ पनि बनाऊ ।

स्रोतको खानी नेपाल
नेपालमा स्रोतभन्दा सर्वव्यापी केही छैन । दुई जनाबीचको कानेखुसी पनि स्रोतले बताइहाल्छ । कानेखुसीमा फलानाले यसो भन्नुभो, जवाफमा ढिस्कानाले उसो भन्नुभो पाराको समाचार पढ्नुभएकै होला । दिल्लीमा के कुरा भो, बेइजिङमा के छलफल भो भन्ने पनि स्रोतले नै बताउँछ । फलाना र चिलाना मिलेर घूस बाँडेर खाएको कसरी थाहा हुन्छ ? स्रोतले बताउँछ । को नेताले कस्तो मनस्थिति बनाएका छन्, को नेताले के सोचिरहेका छन्, यस्ता कुरा पनि स्रोतले नै बताउँछ । मनस्थितिभित्र पनि स्रोत राख्न सक्ने नेपाली मिडियालाई मान्नैपर्छ । मिडिया भन्दा पनि स्रोतलाई चाहिँ मान्नुपर्छ । स्रोत पनि थरीथरीका हुन्छन् । कुनै स्रोतले दाबी गर्छ, कुनैले बताउँछ, कुनैले सम्भावना व्यक्त गर्छ ।

बालुवाटारमा के भइरहेछ, स्रोतले बताउँछ । हलुवाटारमा चलेको हल्ला पनि स्रोतले नै बताउँछ । नेपाली मिडियाको स्रोत यति तगडा छ कि कुनै दिन ब्रह्माण्डमा पृथ्वीजस्तै अर्काे ग्रह छ भन्ने समाचार आउनेछ र त्यो समाचार पनि स्रोतले नै दिएको हुनेछ । बुध ग्रहमा पानी भएको स्रोतले दाबी गरेको समाचार पनि एक दिन पक्कै आउनेछ । दुर्घटनामा फलानाको निधन भयो, उहाँलाई यमलोकमा स्वागत गर्दै यमराजले ‘मिति नपुगी आउनुभएछ’ भनी टिप्पणी गरे । यस्तो समाचार कुनै पनि बेला आउन सक्छ । र, यमलोकको यो खबर पनि स्रोतले नै दिएको हुनेछ ।

कोही भन्छन्, नेपाल जलस्रोतमा विश्वमै धनी छ । कोही भन्छन्, मानव स्रोतमा धनी छ । वास्तवमा नेपाल ‘समाचार स्रोत’मा चाहिँ सबैभन्दा धनी छ । कि कसो ?

नेपाल, भाद्र १०, ०७३

Fitkauli Publication Books comming soon
Nepal Telecom ad